२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

संरक्षकको गन्तव्य

विनोद पाण्डे

काठमाडौं — संरक्षकभूषण वज्राचार्यको पछिल्लो एक महिना भारतको अहमदाबादमा हाइपर्फोमेन्स ट्रेनिङमा बित्यो । नेपालका नम्बर एक टेनिस खेलाडी संरक्षक व्यक्तिगत खर्चमा अहमदाबाद इन्टरनेसनल स्पोर्ट्स एकेडेमीमा प्रशिक्षण लिन गएका थिए । भारतका शीर्ष खेलाडी त्यहीं खेल्छन् । उनलाई त्यहाँ गएर अभ्यास गर्नै १ लाख ५० हजार खर्च लाग्यो ।

संरक्षकको गन्तव्य

सन् २०१४ को क्यालेन्डरदेखि उनले १४ वर्ष उमेरसमूहको खुला प्रतियोगितामा भाग लिन सुरु गरेका थिए । दुई वर्षपछि नै उनी नम्बर एक भइहाले । यो अवधिमा उनले खुला र यू–१८ मा गरेर कुनै खेल हारेका छैनन् । खेलेका सबै ५ उपाधि जितेका छन् । उनको समस्या यहीं छ । दुई वर्षमा जम्मा ५ प्रतियोगितामात्र खेल्न पाए ।
उनी आफ्नै खर्च गरेर निखारिने प्रयासमा छन् तर प्रतियोगिता अभावमा पिरोलिनु पर्छ । सूर्यभूषण वज्राचार्य नेपाली टेनिसका एक सारथि हुन् । उनी अहिले आफ्नै छोराका प्रशिक्षक हुन् । संरक्षकले ५ वर्षको उमेरदेखि खेल्न सुरु गरे । त्यसको एउटै कारण छ उनी बुवाको पछि लागेर सातदोबाटो टेनिस कोर्ट पुग्थे । संरक्षक टेनिस संस्कारमा हुर्किए ।

‘वर्षको ४–५ वटा प्रतियोगितामात्र खेलेर बस्नुपर्ने बाध्यता छ, त्यही भएर विदेश पठाएर अभ्यास गरायो, त्यहीं मैत्रीपूर्ण शृंखला खेल्नुपर्ने स्थिति छ,’ सूर्यभूषण भन्छन्, ‘नेपालमा खेलाडीलाई एक्सपोजर निकै कम छ । व्यक्तिगत प्रायोजक पनि यहाँ भेटिन गाह्रो छ ।’ उनले आफू खेलाडी हुँदा दसौं वर्ष खेले तर कहिल्यै खुला प्रतियोगिता जित्न सकेनन् । अहिले उनकै प्रशिक्षणमा छोराले हारेकै छैनन् ।

सूर्यभूषण तुलना गर्छन्, ‘मैले प्रशिक्षण कोर्स धेरै पढें । आईटीएफ लेभल टू गरें । हाम्रो पालामा यस्तो सबै मिलेको कोचिङ पद्धति नै थिएन । खेलाडी हुँदा ३–४ महिना सिकेपछि छाडिन्थ्यो । अहिले प्रशिक्षक र खेलाडी निकै नजिक भएर खेलिन्छ । टेनिस महँगो खेल हो । संरक्षकको हकमा म आफैं प्रशिक्षक भएकाले उनलाई सजिलो पनि छ ।’ उनी आफूलाई छोराको प्रशिक्षक नभई साथी मान्छन् । कोठामा पनि सँगै बसेर टेनिस हेर्छन् र राम्रो खेलको तारिफ गर्नुका साथै कमी कमजोरी केलाउँछन् ।

पछिल्लो दुई वर्ष संरक्षक उत्कृष्ट लयमा रहे । उमेर समूहका प्राय: अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा उनी पनि खारिए । सन् २०१५ मा सिंगापुरमा आईटीएफ यू–१८ जुनियर विश्व वरीयता प्रतियोगिता खेलेका थिए । त्यसैबाट उनी विश्व वरीयतामा छिरे । उनी अहिले अन्तर्राष्ट्रिय टेनिस वरीयतामा १ हजार २ सय ४५ औं स्थानमा छन् । सन् २०१४ मा संरक्षक अभ्यास गर्न बैंकक पुगेका थिए । वर्षमा तीनचोटि अभ्यास गर्न जानुपथ्र्यो । एसियन टेनिस महासंघले उसको खेलबाट प्रभावित भएर ३ महिना अभ्यास गर्न र प्रतियोगिता खेल्न बोलायो । स्कुलको पढाइपछि उनी ४५ दिनमै नेपाल फर्किए ।

बैंककमा रहँदा उनले च्याङ थाई ओपन टेनिसको यू–१४ मा स्वर्ण पदक नै जिते । सेमिफाइनलमा उनले थाई नम्बर एक खेलाडीलाई हराएका थिए । रोड टु जुनियर ओलम्पिकमा रजत पदक जिते ।
संरक्षकले कतार एसियन जुनियर ओपन टिम कप २०१४ मा रेन्जन लामा, प्रनव खनाल र आफ्नै भाइ सम्यकसँग मिलेर तथा २०१५ मा प्रनवसँग मिलेर नेपाललाई कांस्य पदक दिलाएका थिए । उनी २०१४ मा भियतनाममा आईटीएफ यू–१४ डेभलपमेन्ट च्याम्पियनसिप डिभिजन २ मा कांस्य पदक जितेर डिभिजन १ मा आएका थिए । विदेश गएर युनिभर्सिटी टेनिसमा डिभिजन एक खेल्ने उनको लक्ष्य छ ।
घरेलु टेनिसमा उनी सन्तोष खत्रीसँग मिलेर मेन्स डबल्स खेल्छन् । एक वर्षयता उनी त्रिभुवन आर्मी क्लबसँग आबद्ध छन् । सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण नै जितेपछि उनलाई आर्मीले कन्ट्रयाक्ट नै दिएको हो । संरक्षक भन्छन्, ‘यसले खेलाडीको मनोबल उच्च बनाउँछ ।’ अझ उनका बुवा खुसी यसमा छन् संरक्षकले प्लस टूमा पनि पूर्ण छात्रवृत्ति पाउने भएका छन् । उनी शुक्रबार जेम्स स्कुलमा व्यवस्थापन पढ्न भर्ना भएका छन् । शुभतारा स्कुलबाट संरक्षकले ए ग्रेड ल्याएर एसईई सिध्याएका थिए । शुभताराबाट पनि उनले ५ कक्षादेखि पूर्ण छात्रवृत्तिमै पढेका थिए । त्यो सबै टेनिसले दिलाएको उपलब्धि मान्छन् उनी ।

प्रकाशित : असार १७, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?