२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

क्वेरीसँग मुरे स्तब्ध

एपी

लन्डन — डिफेन्डिङ च्याम्पियन एन्डी मुरेलाई २४ औं वरीयताका साम क्वेरीले स्तब्ध पार्दै बुधबार विम्बल्डन टेनिसको सेमिफाइनल यात्रा तय गरेका छन् ।

क्वेरीसँग मुरे स्तब्ध

अमेरिकी क्वेरीले चोटमुक्त हुँदै कोर्टमा फर्किएका नम्बर एक बेलायती खेलाडी मुरेमाथि ३–६, ६–४, ६–७, ६–१, ६–१ को जित हात पारेका हुन् । सेन्टर कोर्टमा चोटको असर अझै देखिएको थियो । त्यसको फाइदा लिँदै क्वेरी ग्रान्ड स्लाम टेनिसमा पहिलोपल्ट सेमिफाइनल पुगेका हुन् । एन्डी रोडिक सन् २००९ मा उपविजेता भएयता विम्बल्डनको अन्तिम चारमा पुग्ने उनी पहिलो अमेरिकी हुन् ।

सामान्यतया मुरे उत्कृष्ट खेल्थे तर क्वेरीले २७ एस प्रहार गरे । उनले ६ एस प्रहार गर्दै अन्तिम ९ अंक जोडेका थिए । उनले ७० विनर्स प्रहार गरे भने ३० अनफोर्स एरर गरे । चौथो सेटमा उनले लगातार आठपल्ट अंक जोडेका थिए । अन्तिम सेट पनि ३–० को अग्रतापछि जितेका थिए ।

क्यालिफोर्नियाका २९ वर्षीय क्वेरीले अल इङल्यान्ड क्लबमा लगातार दोस्रोपल्ट डिफेन्डिङ च्याम्पियनलाई स्तब्ध पारेका हुन् । उनले २०१६ को तेस्रो चरणमा नोभाक जोकोभिचलाई पराजित गरेका थिए र त्यो नै यसअघि उनको ग्रान्ड स्लाममा एकमात्र क्वाटरफाइनल यात्रा थियो । ग्रासकोर्टमा १२ पल्ट सहभागी हुँदा दुईपल्टका विम्बल्डन च्याम्पियन मुरेलाई पराजित गर्ने क्वेरी सबैभन्दा तल्लो वरीयताका खेलाडी हुन् ।

क्वेरीले सेमिफाइनलमा छैटौं वरीयताका मारिन सिलिचको सामना गर्नेछन् । यसअघि भएका चारै भेटमा सिलिचले जित हात पारेका थिए । सिलिच लक्जेम्बर्गका जिल्स मुलरलाई ३–६, ७–६, ७–५, ५–७, ६–१ ले हराएर पहिलोपल्ट विम्बल्डनको सेमिफाइनल पुगेका हुन् ।

तीन वर्षअघि युएस ओपनमा च्याम्पियन भएका सिलिच यसअघि लगातार तीनपल्ट क्वाटरफाइनलमा रोकिएका थिए । उनले राफेल नाडललाई पन्छाएका मुलरमाथि जित निकाल्दै क्वेरीसँगको भेट पक्का गरेका हुन् ।

प्रकाशित : असार २९, २०७४ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?