कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यू–१९ विश्वकप अवसर

विनोद पाण्डे

काठमाडौं — विनोद दाससँग सिंगापुरको स्मरणीय अनुभूतिहरू छन् । उनीसामु सिंगापुरमा फेरि एउटा त्यस्तै इतिहास दोहोर्‍याउने अवसर जुरेको छ । दासको प्रशिक्षणमा नेपालले सिंगापुरमा यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा प्रतिस्पर्धा गर्दै छ । नेपालसहित अफगानिस्तान, मलेसिया र सिंगापुर समावेश प्रतियोगिता सोमबार सुरु हुनेछ ।

यू–१९ विश्वकप अवसर

नेपाली टिम आठौं पटक आईसीसी यू–१९ विश्वकप पुग्ने प्रयासमा छ । सिंगापुरमा जुलाई २६ सम्म हुने डबल राउन्ड रोबिन लिगको विजेता राष्ट्र अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ । नेपालले पहिलोपल्ट यू–१९ विश्वकप सन् २००० मा खेलेको थियो । सफलताको खाता नेपालले सिंगापुरको भूमिमा एसीसी यू–१९ एसिया कपबाट खोलेको थियो ।
दास नेपाली यू–१९ का कप्तान थिए । सिंगापुरले एसीसी यू–१९ एसिया कप आयोजना गरेको थियो सन् १९९९ मा । प्रतियोगिताको फाइनलमा पुग्ने टोली विश्वकपमा छनोट हुन्थ्यो । बंगलादेशले टेस्ट मान्यता पाइसकेको थिएन । उसले एसीसीका प्रतियोगितामै खेलिरहेको थियो । नेपाली टिम मलेसियालाई सेमिफाइनलमा पराजित गरी फाइनल पुग्यो । बंगलादेशसँग उपाधि भिडन्तमा पराजित भए पनि नेपाल विश्वकपको ढोका खोल्न सफल भयो ।

सन् २००२ मा दास राष्ट्रिय टोलीको उपकप्तान बने । त्यही वर्ष सिंगापुरमै भएको एसीसी ट्रफीमा नेपाल फाइनल पुग्यो । नेपाल पहिलोपल्ट फाइनल पुगेसँगै दासलाई भविष्यको राष्ट्रिय टोलीको कप्तानका लागि नजिकबाट हेरिएको थियो । राष्ट्रिय कप्तान हुँदै खेलाडी जीवन टुंग्याएपछि उनी पछिल्लो समय प्रशिक्षक भूमिका छन् । प्रशिक्षकका रूपमा उनी नेपाललाई यू–१९ विश्वकप पुर्‍याउन तल्लीन छन् ।

‘मेरा लागि यो एकदमै राम्रो अवसर छ । किनभने यस प्रतियोगिताको नतिजाले विश्वकपमा पुगिन्छ,’ भारतमा टिमको प्रशिक्षण रहेका उनले भने, ‘खेलाडीलाई हामीले कुनै दबाब दिएका छैनौं, खुला रूपमा खेल्न दिएका छौं । फिल्ङिङमा हाम्रो स्तर कायम राख्नुपर्छ भनेका छौं । नेपाल यू–१९ विश्वकपमा छनोट हुनेमा म पूरा विश्वस्त छु । सबै टिमको उत्तिकै अवसर हुन्छ । तर धेरै पछि मैले हाम्रो यू–१९ टिम यति राम्रो देखेको छु ।’

नेपालले सन् २००० देखि २००८ सम्म लगातार पाँचपल्ट यू–१९ विश्वकप खेल्यो । त्यसपछि अफगानिस्तानको उदय भयो । त्यसयता नेपालले चारमध्ये यू–१९ विश्वकप दुईपल्ट मात्र खेलेको छ । पछिल्ला चार संस्करणमा अफगानिस्तान छनोट हुँदै आएको छ । गत महिना टेस्ट मान्यता पाएपछि अफगानिस्तानको यो पहिलो आधिकारिक प्रतियोगिता हो । स्पष्ट बुझ्न सकिन्छ अफगानिस्तानको ध्यान यसै प्रतियोगितामा छ । टोली लगातार पाँचौं पटक यू–१९ विश्वकप छनोट हुने ध्येयमा हुनेछ । टेस्ट मान्यता पाइसकेकाले अफगानिस्तान सम्भवत: अन्तिम पटक एसियाली छनोटमा खेल्दै छ ।
तीन वर्षमा अफगानिस्तानसँग नेपालले पहिलो पटक खेल्न लागेको हो । सन् २०१४ मा कुवेतमा भएको एसीसी यू–१९ प्रिमियरमा नेपाल र अफगानिस्तान पछिल्लो पटक आमने–सामने भएका थिए । त्यसमा ५ विकेटको जित हात पार्दै अफगानिस्तान युथ विश्वकपमा पुगेको थियो । नेपालले भने ग्लोबल छनोटबाट विश्वकपमा स्थान बनाउनुपर्‍यो ।

प्रतिस्पर्धी कस्तो भन्दा पनि आफ्नो शक्तिमा केन्द्रित हुन चाहन्छन् प्रशिक्षक दास । ‘अफगानिस्तान निश्चय पनि राम्रो छ होला,’ उनले भने, ‘आजसम्म हामी अभ्यासमै केन्द्रित भयौं । त्यही भएर हामी आफ्नो खेलमा ध्यान दिन्छौं । हाम्रो आफ्नो योजनाहरू छन् । खेलाडीमा पनि आत्मविश्वास छ ।

अभ्यासका हरेक खेलमा ४ रनरेट लिएर खेलेका थियौं । सिंगलमा धेरै केन्द्रित भएका थियौं ।’
विवादित एसियन क्लब प्रिमियर लिग एक्कासि काठमाडौ भित्रिएपछि मैदान नपाउँदा तथा तयारीका लागि तीन साताअगाडि भारतमा पुगेको नेपाली यू–१९ टोलीले दिल्लीमा ५ अभ्यास खेल खेल्यो र त्यसमा ३ जित हात पार्‍यो । नोयडा ११ सँग चौथो खेल वर्षाका कारण अनिर्णित भयो । नोयडासँगकै अन्तिम खेलमा नेपालले हार बेहोरेको थियो । नेपाली टोली शनिबार सिंगापुर जाने छ ।

‘सुरुमा पानीले गाह्रो भयो, त्यो समयमा फिटनेसमा समय बिताइयो । जुन योजनाअनुसार आएका थियौं, त्यो अनुसार खेल्यौं । हामीले खेलेका अभ्यास खेलमा एउटा टिम अलिक कमजोर देखियो । अरु सबै राम्रो टिम थियो,’ दासले भने, ‘ब्याटिङ पनि राम्रो भयो । सबैले राम्रो ब्याटिङ गरेर राम्रो नक गरे । ब्याटिङमा गहिराई छ, तल्लोक्रममा पनि पवन (सर्राफ) र रोहित (पौडेल) ले राम्रो ब्याटिङ गरिरहेका छन् ।’
सधैंझै नेपालको बलिङ शक्ति स्पिनमा हुनेछ । कप्तान सन्दीप लामिछाने, पवन, शाहब आलम र ललितनारायण राजवंशी गरी टोलीमा चार स्पिनर छन् । दासका अनुसार सन्दीपले खुट्टामा जुत्ताले छाला पाछेका कारण अन्तिम दुई अभ्यास खेल खेलेनन् । किशोर महतो, रिजन ढकाल र रोहितकुमार पौडेलले नेपालको मध्यम गतिको बलिङको मोर्चा सम्हाल्ने छन् ।

‘मिडियम पेसर सबैले राम्रो गरेका छन् । स्पिनर हाम्रो झनै राम्रो छ, तर हामी सबै क्षेत्रमा राम्रो गर्न खोजिरहेका छौं,’ दास भन्छन्, ‘मैले खेल्दा सिंगापुरका विकेटहरू स्लो थियो, टर्न भने हुन्छ । त्यही अनुसार हामीले टिम छानेका छौं ।’ ललितनारायण, प्रनित थापामगर, किशोर, रिजन र शाहब नयाँ अनुहार हुन् । प्रनित र रिजनले सन् २०१४ मा मलेसियामा एसीसी यू–१६ खेलेका थिए । सन्दीप लामिछाने, आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले राष्ट्रिय टोलीको प्रनिनिधित्व गरिसकेकाले पनि नेपाली यू–१९ लक्ष्य प्राप्तिमा आत्मविश्वासी देखिन्छ् ।

नेपाली यू–१९ ले डिसेम्बरमा श्रीलंकामा एसीसी यू–१९ एसिया कप खेलेको थियो । त्यसैयता प्रशिक्षक दास नेपाली टोलीबाट प्रभावित छन् । सो टोलीका कमलसिंह ऐरी, अविनाश कर्ण, भीम सार्की र शुभांकर उराँव यसपल्ट छैनन् । श्रीलंकामा नेपाली टिम विजय नजिक पुगेर घरेलु टोलीसँग १ रनले पराजित भएको थियो । मलेसियासँग भने नेपालले १ विकेटको जित हात पारेको थियो । मलेसिया र सिंगापुरसँग नेपालले एसीसीका प्रतियोगितामा नियमितजसो खेलिरहेको छ । तर यसपालि यी दुई प्रतिद्वन्द्वीबारे नेपाल बेखबरजस्तै छ ।

प्रकाशित : असार ३१, २०७४ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?