२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रोनाल्डोप्रति ध्यान छैन मोउरिन्होको

एएफपी

लस एन्जलस — जोसे मोउरिन्होले क्रिस्टियानो रोनाल्डोलाई ओल्ड ट्राफोड फर्काउने कुनै प्रयास नभएको स्पष्ट पारेका छन् । युनाइटेड प्रि–सिजन टुर निम्ति अमेरिकामा रहेका बखत उनले यस्तो स्पष्टोक्ति दिएका हुन् ।

रोनाल्डोप्रति ध्यान छैन मोउरिन्होको

युनाइटेडले शनिबार टुर सुरु गर्ने क्रममा लस एन्जलस ग्यालेक्सीलाई ५–२ हरायो ।

मोउरिन्होले आउने सिजनका लागि आफ्नो टोली बलियो बनाउने क्रममा भिक्टर लिन्डेलोफ र रोमेलो लुकालुलाई भित्र्याइसकेका छन् । तर उनले युनाइटेडकै लिजेन्ड तथा हाल रियल म्याड्रिडमा आबद्ध रोनाल्डोलाई भित्र्याउने सम्भावना नरहेको बताए । ‘म भित्र्याउन नसकिने खेलाडीको पछि लाग्न सक्दिनँ,’ उनले भने ।

शनिबारको खेलमा इंग्ल्यान्डका स्ट्राइकर मार्कुस रासफोर्डले २ गोल गरे भने मारुअन फेलानी, एन्थोनी मार्सल र हेन्रिक मिखतार्यनले १–१ गोल थपे । एकपक्षीय खेलमा नयाँ स्ट्राइकर लुकाकु दोस्रो हाफमा मैदान प्रवेश गरे तर गोल गर्न सकेनन् ।

उनले छिरेको ४ मिनेटमै एउटा सुनौलो अवसर पाए पनि उपयोग गर्न सकेनन् । उनको प्रहारलाई ग्यालेक्सी गोलरक्षक ब्रायन रोएले रोके । तर मोउरिन्होले लुकाकुको ‘नि:स्वार्थी’ खेलको प्रशंसा गरे । ‘लुकाकु एक निशानाबाज हुन् । उनी विपक्षीलाई आच्छु आच्छु पारेर खेल्न सक्छन्,’ उनले भने, ‘उनी टिम प्लेयर हुन् र गोलै गर्न भनेर स्वार्थी बन्दैनन् । उनी आफ्नोबारे चिन्तित हुन्नन् ।’ रासफोर्डले खेलमा आफ्नो गोल भोक देखाए ।

उनले पहिलो २ मिनेटमै गोल गरे । एरियर लासिटरको गल्तीमा उनले पेनाल्टी एरिया नजिकबाट सटीक फिनिसिङ गरे । उनले २० औं मिनेटमा अर्को गोल थपे । हुवा माटाको पासमा उनले गोल गरेका हुन् । गजबको शारीरिक बनोट भएका १९ वर्षीय रासफोर्ड अझै परिपक्व बन्ने क्रममा रहेको मोउरिन्होले बताए । ‘यो एउटा केटाको प्राकृतिक विकास हो । उनी १३ महिनाअघि यहाँ आएभन्दा ३ सेमि अग्लेका छन् । उनको ज्यानमा मांसपेशी थपिएको छ । उनको गति विशेष छ । हामी त्यो गुमाउन चाहन्नौं,’ उनले भने ।

फेलानीले मध्यान्तरमा ३–० को अग्रता बनाइसकेका थिए । त्यसपछि दोस्रो हाफमा पूरै लाइनअप परिवर्तन गरे । युनाइटेडले ६७ औं मिनेटमा गोल गर्‍यो ।

मार्सलले अन्तिम गोल गरे । पहिलो हाफमा कुनै कोसिसै गर्न नसकेको ग्यालेक्सीले उत्तराद्र्धमा २ सान्त्वना गोल गर्‍यो । दुवै गोल मेक्सिकाली अन्तर्राष्ट्रिय खेलाडी जियोभानी डोस सान्तोसको नाममा रह्यो ।

प्रकाशित : श्रावण २, २०७४ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?