नेपालको विजयी सुरुआत

आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्र

काठमाडौं — आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा नेपालले सोमबार विजयी सुरुआत लिएको छ, तर यसका लागि टिमले संघर्ष भने गर्नु पर्‍यो । वान डे क्रिकेटमा कुनै बेला झिनो स्कोरको लक्ष्य पनि कठिन सावित हुन सक्छ, नेपालका लागि यस्तै भयो र सिंगापुरलाई ४ विकेटले हराउन दबाबमा खेल्न बाध्य रह्यो ।

नेपालको विजयी सुरुआत


 
पहिले ब्याटिङ गरेको सिंगापुरले २९ ओभरमा अलआउट हुन अगाडि ७३ रन मात्र बनाएको थियो । नेपाल सजिलै विजयी रहने अपेक्षा भएपनि त्यस्तो भएन् । नेपाल जितसम्म पुग्दा ६ विकेट गुमाएर ७७ रनको स्थितिमा थियो र खेलले १७.३ ओभर छोएको थियो । पवन सर्राफले विजयी चौका प्रहार गरे ।
 
नेपालका लागि प्रनित थापामगरले सर्वाधिक २३ बनाए । उनले तीन चौका प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यान जोडी सन्दीप सुनार र आसिफ सेखले राम्रो सुरुआत दिन सकेनन् र बोर्डमा ९ रन मात्र चढ्दा दुवै आउट भइसकेका थिए । पाँचौं क्रममा आएका अनिल शाहले १९ रनको योगदान दिए । रोहित कुमार ११ रन बनाएर नटआउट रहे ।
 
सिंगापुरलाई सस्तोमा समेट्न कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए र यसका लागि लेग स्पिनरले ८ ओभरमा २१ रन मात्र दिए । उनलाई साहेब आलमले पनि बलियो साथ दिए र तीन विकेट लिए । उनले छ ओभरमा १२ रन मात्र दिए । सिंगापुरको स्कोर एकै खेलाडी मात्र टिकेको थियो ।
 
आठौं क्रममा ब्याटिङ गर्न आएका बिर्गु अयरले सर्वाधिक ४२ रन बनाए । उनी क्रिजमा आउन अगाडि सिंगापुरको स्कोर ७ विकेट गुमाएर २६ रनको कमजोर स्थितिमा थियो ।
 
प्रतियोगिताको बलियो प्रत्यासी अफगानिस्तानले पनि सोमबारको अर्को खेलमा विजयी सुरुआत लियो । उसले मलेसियालाई आठ विकेटले हरायो । पहिले ब्याटिङ गरेको मलेसियाले २१.५ ओभरमा सबै विकेट गुमाउन अगाडि ५३ रन बनाएको थियो । जवाफमा अफगानिस्तानले ५.५ ओभर मात्र उपयोग गरेर दुई विकेटको क्षतिमा ५४ रन बनायो ।
 
प्रतियोगिता राउन्ड रोबिन लिगको आधारमा हुनेछ र यसको विजेता अर्को वर्ष न्युजिल्यान्डमा हुने आर्यसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ । मलेसिया र सिंगापुर एसियाली छनोट पार गरेर यस प्रतियोगितामा पुगेका हुन् । नेपाल र अफगानिस्तानलाई सिधै विश्वकप छनोटमा खेल्न दिइएको हो । अफगानिस्तानले टेस्ट मान्यता पाएयता यो उसको पहिलो आधिकारिक प्रतियोगिता हो । 

प्रकाशित : श्रावण २, २०७४ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?