१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अमिर च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौं — अमिर ब्लोनले शुक्रबार दोस्रो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासको जुनियर यू–१९ ब्वाइज सिंगल्समा स्वर्ण जितेका छन् । फाइनलमा अमिरले दीपक थापालाई ११–९, ८–११, १२–१०, १७–१५ को सेटमा हराए ।


पुरुष सिंगलमा अरहान्तकेशर सिंह र अमृत थापामगर फेरि उपाधिका लागि भिड्ने छन् । गत वर्ष अरहान्तले अमृतलाई हराएर उपाधि जितेका थिए । भेट्रान ५५ वर्षमाथि पुरुष सिंगलमा इन्द्रबहादुर कार्कीले प्रेम सिंहलाई १२–१०, ७–११, १०–१२, ११–७, ११–४ ले हराउँदै फाइनल पक्का गरे । उपाधिका लागि इन्द्रले किशोर महर्जनविरुद्ध खेल्नेछन् । मास्टर्सको पुरुष सिंगल्समा प्रज्ज्वलप्रकाश प्रधानले सुदीप– बहादुर सिंह फाइनल खेल्ने छन् ।

सस्मनले जिते दुई पदक
काठमाडौं (कास)– नेपाली खेलाडी सस्मन बस्नेतले आईटीएफ कोरियन ओपन अन्तर्राष्ट्रिय तथा एसियन तेक्वान्दो च्याम्पियनसिपमा दुई पदक जितेका छन् ।
दक्षिण कोरियाको इन्चोन नामडोङ जिम्न्याजियममा शुक्रबार जुनियर ब्ल्याकबेल्ट प्याटर्नतर्फ सेमिफाइनलमा रसियन खेलाडीसँग पराजित भएपछि सस्मनले कांस्य पदकमै चित्त बुझाएका थिए । त्यस्तै उनले जुनियर ब्ल्याक बेल्ट ७० केजी तौल समूहमा भने रजत जितेका थिए । उनी फाइनलमा किर्गिस्तानीसँग पराजित भए ।
टिम म्यानेजर केदार बुढाथोकीले जनाएअनुसार एसियन च्याम्पियनसिपतर्फ ब्ल्याकबेल्ट इन्डिभिज्युयल स्पाइरिङको ५८ केजीका प्रतिस्पर्धी गयाजी खड्काले भने चोटका कारण बीचमै खेल त्याग्नुपरेको छ । पहिलो चरणको खेलमा जापानी खेलाडीसँग प्रतिस्पर्धा गर्दा गयाजीले देब्रे कुहिनामा चोट बोकेका थिए ।

खेलमन्त्रीको ध्यानाकर्षण
काठमाडौं (कास)– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले शुक्रबार नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीलाई भेटेर खेलकुद र खेलाडीको हितका विषयमा ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले मन्त्री केसीलाई दक्षिण एसियाली खेलकुद (साग) जस्ता प्रतियोगिता नहुँदा प्रत्येक संस्करणमा एउटा पुस्ता नै पलायन हुने खतरा भएकाले १३ औं सागको तयारी तत्काल सुरु गर्नुपर्नेसहित खेलाडीका विविध कठिनाईबारे ज्ञापनपत्र बुझाएका थिए । मन्त्रीले त्यस विषयमा छलफल गर्ने बताए ।

प्रकाशित : श्रावण २१, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?