२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कुमार र अरुणा उत्कृष्ट

कान्तिपुर संवाददाता

पोखरा — लनटेनिसका कुमार अधिकारी र भलिबलकी अरुणा शाहीले दोस्रो पोखरा स्पोर्ट्स अवार्डमा वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

कुमार र अरुणा उत्कृष्ट

शनिबार पोखरा सभागृहमा आयोजित कार्यक्रममा कुमारको अनुपस्थितिमा उक्त अवार्ड बुवा दुर्गा अधिकारीले ग्रहण गरे । पाँच वर्षसम्म राष्ट्रिय च्याम्पियन कुमारले २०७३ सालको सातौं राष्ट्रिय खेलकुदमा सिंगलमा कांस्य र दुईवटा डबल्स इभेन्टमा स्वर्ण जितेका थिए ।

गत वर्षसमेत मनोनयनमा परेकी अरुणा २०७३ सालमा एसियन सेन्ट्रल जोनमा उपविजेता, आरबीबी एनभीए वुमन क्लब लिगमा बेस्ट सर्भर, सातौं राष्ट्रिय खेलकुदमा तेस्रो, सिर्जना आमन्त्रित अन्तर्राष्ट्रिय भलिबलमा दोस्रो, केएनपी राष्ट्रिय भलिबलमा दोस्रो भएकी थिइन् । कास्की जिल्लाका उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका सुनबहादुर लामा र उदीयमान खेलाडीमा भलिबलकी ममता डगौरा पुरस्कृत भए ।

नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाले आयोजना गरेको अवार्डमा ५५ वर्षदेखि खेलक्षेत्रमा सक्रिय पोखराका अग्रज खड्गबहादुर रानाभाट लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए । वर्षको उत्कृष्ट खेल संघमा कास्की जिल्ला लनटेनिस संघ पुरस्कृत भयो । वर्ष खेलाडी भएका दुवैलाई २५–२५ हजार र अन्य विधाका विजेतालाई जनही १० हजार नगदसहित सम्मान गरिएको थियो ।

प्रकाशित : श्रावण २२, २०७४ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?