‘त्यस्तो नहोला तर...!’

राजु घिसिङ

काठमाडौं — नेपाली राष्ट्रिय फुटबल टिमको जापान यात्राले बारम्बार झस्काउने गर्छ किनभने इतिहास कर्णप्रिय छैन । पछिल्ला दुई प्रतियोगितामा सहभागी हुँदा ६ खेलाडी जापानमै लुकेका थिए ।

‘त्यस्तो नहोला तर...!’

नेपाली राष्ट्रिय टिम पछिल्लोपल्ट विश्वकप छनोट खेल्न सन् १९९७ मा जापान पुगेको थियो । त्यति बेला टोकियोबाट स्वदेश फर्कने क्रममा डिफेन्डर राजेश थापा, सौगेश श्रेष्ठ, स्ट्राइकर नरेन्द्र श्रेष्ठ, मिडफिल्डर बबिन विष्ट (स्वर्गीय) उतै लुकिसकेका थिए । त्यसअघि नेपाली टिम १९९४ मा भएको एसियाली खेलकुदमा सहभागी हुन (हिरोशिमा) जापान पुगेका थिए । एसियाडबाट पनि मिडफिल्डर ज्ञानु शेरचन र स्ट्राइकर जीवन लामा टिमसँगै फर्किएनन् । ती दुवै टिमका कप्तान थिए, राजुकाजी शाक्य ।

 

२० वर्षपछि राष्ट्रिय टिम शुक्रबार जापान यात्रामा निस्कँदै छ । नेपालले एसियन कप छनोटमा ताजकिस्तानसँग भदौ २० मा हलचोकमा प्रतिस्पर्धा गर्नेछ । त्यसैको तयारीका लागि नेपाली टिम जापान भ्रमणमा जान लागेको हो । राजुकाजी शाक्य यसपालि प्रशिक्षकका रूपमा जापान जाँदै छन् । जापान र ओमानजस्ता टिमसँग भारी गोल नबेहोरेको ती यात्राको स्मरण पनि उनमा ताजै छ ।

नेपालका लागि जापानी राजदूत मासाशी ओगावा बिहीबार खेलाडीलाई बिदाइ गर्दै । तस्बिर : कान्तिपुर

 

‘खेल सकेपछि भोलिपल्ट नेपाल फर्कन लागेका थियौं । खेलाडी भाग्छ कि भनी अफिसियलहरू लिफ्टमै बसेका थिए तर चार जना भर्‍याङबाट भागेछन्, बिहान एयरपोर्ट जानेबेला मात्र थाह भयो,’ दुई दशकअघिको घटना सम्झँदै शाक्यले बिहीबार भने, ‘त्यस बेला खेलाडी भाग्छ भन्ने विश्वास थिएन, यसपालि त्यस्तो नहोला तर कसैको ग्यारेन्टी हुन्न ।’ नेपाली खेलाडी आकर्षक आम्दानी गर्न सकिने देशमा प्रतियोगिता खेल्न जाँदा उतै लुक्ने/भाग्ने नौलो भने होइन । फुटबलमा पछिल्लोपल्ट एसियन कप छनोट खेल्न सन् २००३ मा दक्षिण कोरिया पुगेको राष्ट्रिय टिमका नारायण मानन्धर, दीपक लामा र शुक्र तामाङ उतै लुकेका थिए । उनीहरू आकर्षक कमाईकै लागि उतै बसेको प्रष्टीकरण दिने गर्छन् ।

फुटबल खेलाडीको मुख्य कमाई क्लबले दिने तलब नै हो तर दुई वर्षयता अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना नगर्दा तीन सय बढी खेलाडी बेरोजगार भएका छन् । यसबीच थुप्रै खेलाडी विदेसिए/पलायन भए । प्रशिक्षक शाक्य यसपालिको जापान भ्रमणले खेलाडीलाई अझ अब्बल बनाउने र त्यसअनुभवले ताजकिस्तानसँगको खेलमा उपयोग गर्ने विश्वास गर्छन् ।


पाँच खेल

नेपालले यसपालि जापान भ्रमणमा पाँच खेल खेल्दै छ । गाम्बा ओसाकाको यू–२३ टिमको सामना गर्दै २९ साउनमा नेपालले प्रतिस्पर्धा सुरु गर्नेछ । त्यसपछि क्वान्सेई गकुन युनिभर्सिटी, एमिटी स्पोर्ट्स क्लब, हनान युनिभर्सिटी र भिसेल कोबेको यू–२३ टिमसँग लगातार खेल्नेछ ।

‘त्यसले (जापान भ्रमण) ताजकिस्तान र अरु खेलमा कति फरक पार्छ अहिले नै भन्न सक्दिनँ,’ नेपाली टिमका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले भने, ‘हामी जे लिग (जापानी फुटबलको सर्वोच्च प्रतियोगिता) को ट्रेनिङ र खेल पनि हेर्ने छौं । फुटबल खेल्ने, वृक्षरोपण र प्रकोप व्यवस्थापनमा पनि सहभागी हुँदै छौं । नेपालको फुटबल विकासका लागि धेरै कुरा सिकेर आउने छौं ।’

जापानले सन् २०२० को गृष्मकालीन ओलम्पिक र पारा ओलम्पिक आयोजना गर्दै छ । त्यसैको सन्दर्भमा जापान सरकारले ‘भोलिका लागि खेल’ अभियान एक सय बढी देशमा सञ्चालन गरिरहेको छ । त्यसैअन्तर्गत जापानी दूतावासले २४ खेलाडीसहित ३० सदस्यीय नेपाली टिमको जापान यात्रा मिलाएको हो । एन्फाले जापान फुटबल संघसँग सहकार्य गरी ५ खेल तय गरेको हो ।

 

नेपाली टिमको जापान भ्रमण

मिति प्रतिद्वन्द्वी

२९ साउन गाम्बा ओसाका यू–२३

३२ साउन क्वान्सेई गकुन युनिभर्सिटी

१ भदौ एमिटी स्पोर्ट्स क्लब

२ भदौ हनान युनिभर्सिटी

३ भदौ भिसेल कोबे यू–२३

प्रकाशित : श्रावण २७, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?