कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

च्याम्पियन चेल्सी स्तब्ध

प्रिमियर लिग
एएफपी

लन्डन — च्याम्पियन्स चेल्सीले इङलिस प्रिमियर लिगको पहिलो खेलमै पराजय पीडा भोग्नुपरेको छ । कप्तान ग्यारी केहिल र सेस फाब्रिगासले रातो कार्ड पाएको खेलमा चेल्सीमाथि शनिबार स्टामफोर्ड ब्रिजमै बर्नलीले ३–२ को नतिजा निकाल्यो ।

च्याम्पियन चेल्सी स्तब्ध

बर्नलीका स्टेफान डेफोरलाई दुई खुट्टाले टयाकल गरेका कारण केहिलले १४ औं मिनेटमा रातो कार्ड पाएपछि चेल्सीले सुरुदेखि नै लय गुमाउन पुगेको थियो । साम भोक्सको दुई र स्टेफन वार्डको गोलमा बर्नलीले मध्यान्तरसम्म ३–० को अग्रता लियो ।
चेल्सीबाट ‘डेब्यू’ गरिरहेका अल्भारो मोराटाले ६९ औं मिनेटमा गोल फर्काए । ८१ औं मिनेटमा फाब्रिगासले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए । डेविड लुइजले ८८ औं मिनेटमा दोस्रो गोल गरे पनि चेल्सीले नतिजा उल्टाउन सकेन । व्यवस्थापक एन्टोनियो कोन्टेले नस्वीकारेका कारण चेल्सीले प्रमुख स्ट्राइकर डिएगो कोस्टाबिनै खेलेको थियो ।

अन्तिम समयमा सम्हालिन नसकेको लिभरपुलले वाटफोर्डसँग ३–३ को बराबरीमा चित्त बुझायो । मिगुइल ब्रिटोसले ९३ औं मिनेटमा विवादास्पद गोल गर्दै वाटफोर्डलाई बराबरीमा ल्याए । जुन गोल अफसाइड भएको लिभरपुलका व्यवस्थापक योर्गन क्लोपको दाबी थियो ।

बर्नलीविरुद्धको खेलमा चेल्सीका ग्यारी केहिललाई रातो कार्ड देखाइँदै । तस्बिर : रोयटर्स

स्टेफानो ओकाकाको गोलमा घरेलु मैदानमा वाटफोर्डले अग्रता लियो । बार्सिलोना जाने चर्चामा रहेका घाइते ब्राजिलियन मिडफिल्डर फिलिप कोटिन्होबिना खेलेका लिभरपुललाई साडियो मानेले २९ औं मिनेटमा बराबरीमा ल्याए । तीन मिनेटपछि नै एब्डोलाये डोउकरले वाटफोर्डलाई पुन: अग्रता दिलाए । रोबर्टो फिर्मिनोको पेनाल्टी गोल र मोहम्मद सलाहको गोलमा लिभरपुल खेलमा ३–२ ले अगाडि बढेको थियो ।

१३ वर्षपछि एभरटन फर्किएका इङयान्डका स्ट्राइकर वायन रोनीले गोलसाथ मर्सीसाइड टोलीमा पुनरागमन गरेका छन् । उनको हेड गोलमा एभरटनले स्टोक सिटीलाई १–० ले पराजित गर्‍यो । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर रोनीको यो १ सय ९९ औं गोल हो ।

पहिलो दुई दिनको खेलबाट नवप्रवेशी हर्डल्सफिल्डले प्रिमियर लिगमा अग्रता लिएको छ । टोलीले क्रिस्टल प्यालेसमा गएर ३–० को सानदार नतिजा निकाल्यो । शनिबारै अन्य खेलमा वेस्ट ब्रोमले बर्नमाउथलाई १–० ले हरायो । साउथह्याम्पटन र स्वान्सीबीचको खेलमा गोलरहित बराबरीमा टुंगियो ।

शुक्रबार नयाँ सिजनको पहिलो दिन आर्सनलले लेस्टरमाथि ४–३ को नाटकीय विजय हात पारेको थियो । वैकल्पिक ओलिभर जिरुडले ८५ औं मिनेटमा गरेको गोलमा आर्सनलले इमिरेट्स रंगशालामा विजय सुरुआत गर्‍यो । खेल सकिन ७ मिनेटअघिसम्म आर्सनल २–३ ले पछाडि थियो । आर्सेन वेंगरका दुई वैकल्पिक खेलाडी आरोन राम्से र जिरुड त्यसपछि नायक बने । राम्सेले ८३ औं मिनेटमा बराबरी गोल गरे भने दुई मिनेटपछि जिरुडले हेडमा गरेको प्रहार खेलेको निर्णायक बन्यो ।

यसअघि नयाँ अनुबन्धित एलेक्जान्द्रे लाकाजेटीको गोलमा आर्सनलले ९४ सेकेन्डमै अग्रता लिएको थियो । दुई मिनेटपछि सिन्जी ओकाजाकीले लेस्टरलाई बराबरीमा ल्याए । जेमी भार्डेको गोलमा लेस्टरले २९ औं मिनेटमा अग्रता लियो ।

पहिलो हाफको इन्जुरी टाइममा ड्यानी वेलब्याकले आर्सनललाई बराबरीमा ल्याए । भार्डेले नै ५६ औं मिनेटमा गरेको अर्को गोलमा लेस्टरले ३–२ को अग्रता बनाएको हो ।

प्रकाशित : श्रावण २९, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?