३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

रियललाई सुपर कप उपाधि

एजेन्सी

काठमाडौं — स्पेनिस सुपर कप अन्तर्गत बुधबार रातिको खेलमा बार्सिलोनालाई २-० ले पराजित गर्दै रियल म्याड्रिडले नयाँ सिजनको दोस्रो उपाधि जितेको छ।

रियललाई सुपर कप उपाधि

क्याम्प नोउमा खेलिएको पहिलो लेगमा ३-१ को जित दर्ता गरेको म्याड्रिडले समग्रमा ५-१ को जितसँगै उपाधि हात पारेको हो। रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा खेलिएको बुधबारको खेलमा रियलका दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो।

मार्को एसेन्सियोले चौथो मिनेटमै गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए। स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो प्रतिबन्धका कारण अनुपस्थित भएपछि पहिलो रोजाईमा मौका पाएका एसेन्सियोले करिब २५ यार्डमा टाढाबाट प्रहार गरेको सट गोलमा परिणत भएको थियो।

३९ औं मिनेटमा करिम बेन्जेमाले रियलको अग्रता दोब्बर पारेका थिए। उनले मार्सेलोको लो क्रसमा आएको बललाई बक्सभित्र राम्रो नियन्त्रणमा लिएर गोल गरेका थिए।

नेयमारको अनुपस्थितिमा कमजोर देखिएको बार्सिलोनाले खेलमा उल्लेख्य प्रदर्शन गर्न सकेन। नवनियुक्त प्रशिक्षक एर्नेस्टो भालभेर्डेले सुपर कप जित्ने टोलीको लक्ष्य अपुरो रहेपनि स्पेनिस लिगका लागि भने टोली पूर्ण रुपमा तयार रहने अभिव्यक्ति दिए। यता रियलका प्रशिक्षक जिनेदिन जिदानले युवा खेलाडीको बाहुल्यता रहेपनि टोलीले निकै राम्रो प्रदर्शन गरेकोमा खुशी व्यक्त गरे।

रियलले अघिल्लो साता म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै युइएफा सुपर कप उपाधि जितेको थियो।

प्रकाशित : भाद्र १, २०७४ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?