च्याम्पियन्स लिगमा को कस्तो ?

युरोपेली च्याम्पियन्स लिग फुटबलको ‘ड्र’ निस्केयता तय देखिन्छ, इङलिस टिमहरू लिभरपुल, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा पुग्नेछन् । तर टोटेनहम ? उसलाई गाह्रो हुनेछ ।

च्याम्पियन्स लिगमा को कस्तो ?

प्रत्येक समूहको विश्लेषण : 

लुकाकु


समूह “ए”
बेन्फिका (पोर्चुगल), बसेल (स्विट्जरल्यान्ड), म्यानचेस्टर युनाइटेड (इङल्यान्ड) र सीएसकेए मस्को (रसिया)
जोसे मोउरिन्हो पक्कै खुसी हुनेछन्, यो समूहबाट । युनाइटेडले रोमेलु लुकाकुलाई भित्र्याउनु बुद्धिमतापूर्ण थियो । उनलाई साथ दिन आएका छन्, जाल्टन इब्राहिमोभिच । सँगै नेमान्जा माटिच । युनाइटेड यसपल्ट साँच्चै बलियो छ । आफ्ना प्रमुख खेलाडी बेचे पनि बेन्फिका अझै पोर्चुगलको सबैभन्दा राम्रो टिम हो । सीएसकेए मस्कोले भने रुसी लिगमा कमजोर सुरुआत लिएको छ तर पछिल्ला केही खेलमा उसको प्रदर्शनम निकै सुधार आएको छ । 
नकआउट चरण पुग्ने सम्भावित : म्यानचेस्टर युनाइटेड र बेन्फिका

नेयमर

समूह “बी”
बायर्न म्युनिख (जर्मनी), एन्डरलेक्ट (बेल्जियम), पेरिस सेन्ट जर्मेन (फ्रान्स) र सेल्टिक (स्कटल्यान्ड)
सबैको आँखा रहनेछ पेरिस सेन्ट जर्मेन (पीएसजी) मा । रियल म्याड्रिड र बार्सिलोनाले जस्तो खेलाडी अनुबन्ध गथ्र्यो, त्यत्तिकै शैलीमा उसले नेयमरलाई किनेको छ । प्रतियोगितामा नेयमरले आफ्नो छाप छोड्न प्रयास गर्ने छन् नै । बायर्न निकै बलियो प्रतिद्वन्द्वी हो । प्रश्न, के पछिल्लो सिजनभन्दा बायर्न झन बलियो भएको छ त ? क्लबमा केही नयाँ खेलाडी आएका छन् । जस्तो कारेन्टिन टोलिसो र हामेस रोड्रिग्वेज । समूहमा सेल्टिकको काम हुनेछ, एन्डरलेक्टभन्दा माथि रहने । 
नकआउट चरण पुग्ने सम्भावित : बायर्न म्युनिख र पीएसजी
समूह “सी”
चेल्सी (इङल्यान्ड), एएस रोमा (इटाली), एट्लेटिको म्याड्रिड (स्पेन), काराबाग (अजरबैजान)
पछिल्ला तीन सिजनमा टिमको प्रदर्शनका आधारमा एट्लेटिको म्याड्रिड यो समूहको सबैभन्दा बलियो टिम हो । एन्टोनियो ग्रिजम्यान टिममै रहने निर्णयले क्लब उत्साही हुनुपर्छ । चेल्सीका लागि यस प्रतियोगितामा राम्रो प्रदर्शनको उत्तिकै महत्त्व छ । अझ बढी छ प्रशिक्षक एन्टोनियो कोन्टेलाई । कोन्टेले युरोपेली च्याम्पिन्स लिगमा अझै राम्रो गर्न सकेका छैनन् । रोमाले यस सिजनका लागि १० नयाँ खेलाडी किनेको छ, त्यसैले यो सर्वथा नयाँ टिम हुनेछ । 
नकआउट चरण पुग्ने सम्भावित : एट्लेटिको म्याड्रिड र चेल्सी
समूह “डी”
युभेन्ट्स (इटाली), ओलम्पियाकोज (ग्रिस), बार्सिलोना (स्पेन) र स्पोर्टिङ लिस्बन (पोर्चुगल)
निकै कडा प्रतिस्पर्धा हुने समूह । युभेन्ट्सले यो समूह जित्ने अनुमान गर्न सकिन्छ । पोहोर उसले क्वाटरफाइनलमा बार्सिलोनालाई हराएको आधारमा । तर दुवै टिमले आफ्ना प्रमुख खेलाडी गुमाएको छ, बार्सिलोनाले नेयमरजस्तै युभेन्ट्सले लियोनार्दो बोनुची । इटालियन सुपर कपमा युभेन्ट्सको डिफेन्स कमजोर देखिएको थियो, त्यसैले यो चिन्ताको विषय हुनसक्छ । तर यो समूहमा यी क्लबलाई छाडेर अरुको सम्भावना नभएजस्तै हो । 
नकआउट चरण पुग्ने सम्भावित : युभेन्ट्स र बार्सिलोना
समूह “ई”
स्पार्टक मस्को (रसिया), लिभरपुल (इङल्यान्ड), सेभिया (स्पेन) र मारिबोर (स्लोभेनिया)
सेभियाभन्दा सायद लिरभपुल नै बलियो मान्न सकिन्छ, भलै सन् २०१६ को युरोपा लिग फाइनलमा सेभियाले लिभरपुललाई हराएको थियो । त्यसयता टिममा धेरै परिवर्तन भएको छ । यो समूहमा बलिया यिनै दुई टिम हुन् । स्पार्टक मस्कोले गत सिजन लिग जितेको थियो र उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । तर यसपल्ट यो क्लब रुसी लिगको ११ औं स्थानमा छ । मारिबोरको उद्देश्य सक्दो राम्रो खेल्ने हुनेछ । उसले पछिल्ला १२ युरोपेली खेलमध्ये एकमात्र जित्न सकेको छ । 
नकआउट चरण पुग्ने सम्भावित : लिभरपुल र सेभिया
समूह “एफ”
साख्तर डोनेस्क (युक्रेन), नेपोली (इटाली), म्यानचेस्टर सिटी (इङल्यान्ड) र फेयनुर्ड (नेदरल्यान्ड्स)
म्यानचेस्टर सिटीले यसपल्ट पनि युरोपमा राम्रो गर्न सकेन भने माफी पाउने छैन । सिटीले यसपल्ट नयाँ खेलाडीमा मात्र १२ करोड ८५ लाख पाउन्ड खर्च गरेको छ । सम्भवत: सिटी सजिलै नकआउट चरण पुग्नुपर्ने हो । तर एभरटनविरुद्धको खेलयता त्यसमा पनि शंका गर्ने ठाउँ छ । नेपोली युरोपको सबैभन्दा रोमान्चक टिम हो । टोलीले छनोटमा निकै राम्रो गरेको छ । साख्तरले युक्रेनी लिग १३ अंक अन्तरमा जितेको थियो । त्यसैले साख्तरले राम्रो चुनौती पेस गर्नेछ । फेरि फेयनुर्ड पनि डच लिग च्याम्पियन हो । 
नकआउट चरण पुग्ने सम्भावित : म्यानचेस्टर सिटी र नेपोली
समूह “जी”
मोनाको (फ्रान्स), बेसिक्टास (टर्की), एफसी पोर्टो (पोर्चुगल) र आरबी लेप्जिग (जर्मनी)
चारै टिम उस्तै देखिन्छन् स्तरका आधारमा । मोनाको बलियो हुनुपर्छ, अर्को चरण पुग्नका लागि । तर उसले पनि धेरै खेलाडी गुमाएको छ । पोर्टो यसपल्ट नयाँ प्रशिक्षक सर्जियो कोसेसिओको नेतृत्वमा खेल्दै छ । जर्मन क्लब आरबी लेप्जिगले भने यसपल्ट च्याम्पियन्स लिगमा डेब्यू गर्दै छ । तर बुन्डेसलिगामा भने कमजोर सुरुआत लिएको छ । बेसिक्टासले पनि यसपल्ट राम्रो प्रदर्शन अपेक्षा गर्न सक्छ, पछिल्लो दुई घरेलु लिग जितेको आधारमा । 
नकआउट चरण पुग्ने सम्भावित : मोनाको र पोर्टो


रोनाल्डो

समूह “एच”
रियल म्याड्रिड (स्पेन), टोटेनहम (इङल्यान्ड), बोरुसिया डर्टमन्ड (जर्मनी), एपोइल निकोसिया (साइप्रस)
डिफेन्डिङ च्याम्पिन रियल म्याड्रिडसामु यसपल्ट गज्जबको चुनौती छ, उपाधिमाथि ह्याट्रिक गर्ने । पछिल्लो दुई संस्करणको विजेता समूह चरणबाट अगाडि पुग्ने मान्न सकिन्छ । कारण, क्लबमा जति स्टार खेलाडी छन्, सबै टिममै कायम छन् । रियललाई चुनौती दिनसक्ने टिम यो समूहमा बोरुसिया डर्टमन्ड हुनुपर्छ । टोटेनहमको सम्भावना ? त्यो उसले वेम्बलीको मैदानमा कसरी खेल्छ, त्यसमा निर्भर हुनेछ । एपोइल निकोसिया समूहको अन्तिम स्थानमा रहनेछ । 
नकआउट चरण पुग्ने सम्भावित : रियल म्याड्रिड र बोरुसिया डर्टमन्ड

प्रकाशित : भाद्र १०, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?