२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सर्वोत्कृष्ट बन्ने होड

खेलाडी
‘स्पोर्ट्स अवार्डको मनोनयनमा पर्नु नै ठूलो कुरा हो, जित्नु त बोनस हो ।’
सुवास हुमागाईं

काठमाडौं — २०६३ सालमा वर्षको उत्कृष्ट पुरुष खेलाडीको उपाधि जितेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका त्यस समयका कप्तान विनोद दासले यस्तो भनेका थिए ।

सर्वोत्कृष्ट बन्ने होड

विदितै छ, कुनै पनि खेलाडीले आफ्नो खेलमा मिहिनेत गरेर सफलता हात पारेपछि ऊ त्यस खेलको उत्कृष्ट कहलाउँछ । तर, सम्पूर्ण खेलजगत्मा उत्कृष्टमध्येको पनि सर्वोत्कृष्ट हुने मौका भने कमैलाई जुर्छ । खेलकुदको सम्बन्धित निकायले खेलाडीलाई उत्प्रेरणा दिने यस्ता कार्यक्रम गर्न चुक्दा खेल पत्रकारहरूको एक समूहले यस कार्यलाई आफैं आयोजना गर्दै आएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा बर्सेनि हुने यस कार्यक्रमको १४ औं संस्करण यही भदौ २६ गते राजधानीमा हुँदै छ । पूर्वराष्ट्रपति रामवरण यादवले यसलाई राष्ट्रिय अवार्ड भनेका थिए । खेलाडी आफैंले पनि यस अवार्ड जित्नु त छँदै छ, मनोनयनमा पर्नुलाई पनि प्रतिष्ठाको विषय मान्ने गरेका पाइन्छ ।

सदाझैं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने अवार्ड समारोहमा यसपटक ८ विधामा विभिन्न खेलाडी, प्रशिक्षक तथा खेलसँग सम्बन्धित व्यक्तित्वलाई सम्मानित गरिनेछ । मञ्चले ५ विधाका लागि मनोनयनमा पर्ने व्यक्तिहरूको नाम सार्वजनिक गरिसकेको छ भने अन्य ३ विधाको विजेता भने अवार्डकै दिन घोषणा गरिनेछ ।


वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा नेपालको लागि अन्तर्राष्ट्रिय जगत्मा पहिलो औपचारिक स्वर्ण दिलाउन सफल किरण चेम्जोङ र रत्नजित तामाङ छन् । किरणले राष्ट्रिय फुटबल टोलीसँग रहेर मलेसियामा आयोजित एएफसी सोलिडारिटी कप जितेका थिए भने रत्नजितले दिदी नङ्सलदेवीसँग मिलेर पाकिस्तान इन्टरनेसनल सिरिजअन्तर्गत मिक्स डबल्समा स्वर्ण ल्याएका थिए । रत्नजितले घरेलु प्रतियोगितामा लगातार उपाधि जित्दै आएका छन् भने किरण हाल माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहेका छन् । पुरुषतर्फको उपाधिका लागि यी दुई खेलाडीको सम्भावना प्रबल छ । त्यस्तै भलिबलका मानबहादुर श्रेष्ठ, क्रिकेटका शरद भेषावकर र एथलेटिक्सका सोमबहादुर कुमाल पनि मनोनयनमा छन् ।

महिलातर्फको मनोनयनमा भने राष्ट्रिय प्रतिस्पर्धामा वर्चस्व जमाएका खेलाडीहरूको बाहुल्य छ । मध्यम तथा लामो दूरीकी धाविका कान्छीमाया कोजूले गत वर्ष राष्ट्रिय कीर्तिमानसहित सहभागी भएको पाँच हाफ म्याराथन उपाधि जितिन् । त्यससँगै उनले सातौं राष्ट्रिय खेलकुदमा २ विधामा स्वर्ण पदक हात पारिन् । ब्याडमिन्टनमा पहिलो अन्तर्राष्ट्रिय पदक ल्याउन सफल नङ्सलदेवी तामाङले सातौंमा स्वर्णसहित घरेलु प्रतियोगितामा पनि वर्चस्व जमाइन् । उत्कृष्ट महिला बन्ने होडमा कान्छीमायालाई नङ्सलले कडा चुनौती दिनेछिन् । यी दुईसँगै आर्चरीमा राष्ट्रिय कीर्तिमान बनाउन सफल ज्ञानु अवाले, ओलम्पिक पुगेर २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी सरस्वती भट्टराई र राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी पनि मनोनयनमा छन् ।


खेलको भविष्य बोकेका युवा खेलाडीमा पनि कडा उत्कृष्ट बन्न कडा प्रतिस्पर्धा हुने देखिन्छ । आ–आफ्नो खेलको सिनियर टोलीमा परेर परिपक्व प्रदर्शन गरेका फुटबलका अनन्त तामाङ र क्रिकेटका दीपेन्द्रसिंह ऐरीलाई भारोत्तोलनकी कमल श्रेष्ठले चुनौती दिनेछिन् । अनन्तले नेपालको सोलिडारिटी कप जितमा महत्त्वपूर्ण भूमिका खेल्दा दीपेन्द्रले केन्याविरुद्धको जितमा सुदृढ ब्याटिङ गरेका थिए । यता कमला श्रेष्ठले भने युवा प्रतियोगितामा सिनियरको राष्ट्रिय कीर्तिमान तोड्दै सातौंमा स्वर्ण जितेकी थिइन् । जुडोकी मनिता श्रेष्ठ प्रधान र भलिबलकी प्रतिभा माली पनि उपाधि जित्ने दाउमा रहनेछन् ।

खेलाडीसँगै प्रशिक्षकमा पनि उत्कृष्ट बन्ने होडबाजी छ । फुटबललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउने जापानी प्रशिक्षक ग्योतोकु कोजी र एथलेटिक्समा उत्कृष्ट प्रदर्शन गर्न सफल पुष्पराज ओझा अवार्ड जित्ने अग्रपंक्तिमा छन् । कोजीले सोलिडारिटी कपमा नेपाली टोलीलाई अपराजित रहँदै उपाधि दिलाउँदा ओझाले सातौंमा आर्मीलाई टिम च्याम्पियन र ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाउने सरस्वती भट्टराईलाई प्रशिक्षण दिएका थिए । ब्याडमिन्टनमा पहिलो पदक दिलाउने तामाङ दिदी–भाइका (नङ्सल/रत्न) प्रशिक्षक किरण थापा पनि उपाधिको आसमा हुनेछन् । यसबाहेक थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी र राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा पनि उपाधि होडमा छन् ।


वर्षभरि चर्चामा रहेका शीर्ष ५ खेलाडीहरूलाई मनोनयनमा राखी दर्शकहरूको मतका आधारमा दिइने अवार्ड हो, पिपुल्स च्वाइस अवार्ड । यस अवार्डका लागि मञ्चले १ महिनाअघि मनोनयन सार्वजनिक गरेर एसएमएस र फेसबुक भोटिङका आधारमा सर्वाधिक मत ल्याउने खेलाडीलाई विजेता घोषित गर्छ ।

रियो ओलम्पिककै सबैभन्दा कान्छी खेलाडी गौरिका सिंहसँगै यस अवार्डमा अर्की ओलम्पियन जुडोकी फुपू ल्हामु खत्री, क्रिकेटका दीपेन्द्र सिंह ऐरी, एथलेटिक्सकी कान्छीमाया कोजू र फुटबलका सुजल श्रेष्ठ मनोनयनमा परेका छन् । गत वर्ष यस अवार्डमा कुल २,८६,५२१ एसएमएस र ११,६०० फेसबुक लाइक्स प्राप्त भएको थियो ।

मनोनयन घोषणा नगरिएका लाइफटाइम एचिभमेन्ट, स्पेसल र प्यारा–एथ्लिट अफ द इयरको अवार्डले पनि अवार्डमा थप रौनक थप्नेछ । सोमबार कार्यक्रममा उपाधि विजेता घोषणा हुँदा अवार्ड जित्ने त खुसी हुन्छन् नै, मनोनयनमा पर्नेले पनि आफूलाई विजयी नै ठान्नेछन् ।

प्रकाशित : भाद्र २४, २०७४ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?