नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिता
कान्तिपुर संवाददाता

काठमाडौं — एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले पराजित गरेको छ ।

एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले पराजित गरेको छ।

सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १४ औं ओभरमा पुरा गर्‍यो। नेपालले चौथो ओभरमै ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो। त्यसपछि ब्याटिङमा आएका अनिल साह १५ बलमा ३ चौकको मदतले १८ रन जोड्दै क्याच आउट भए। ओपनर सन्दिप सुनारले सर्वाधिक २० रनको योगदान दिँदा सुमित महर्जन १० र सन्दिप जोरा ७ रनमा अविजित रहे। सिंगापुरका लागि अभि दीक्षितले २ तथा अंश भार्गभाले १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुर २८ ओभर ३ बलमा ६७ रन जोड्दै अलआउट भयो। तेस्रो ओभरमा पेस बलर किशोर महतोले अब्दुल भदेलीयालाई शून्यमा विकेटकिपरको हातबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाए। किशोरले अर्का ओपनर रोहन रंगराजन (११ रन)लाई पनि नवौं ओभरमा पेभेलियनको बाटो देखाएका थिए।

सिंगापुरको मध्यक्रमलाई ध्वस्त पार्ने क्रममा पवन शर्राफले ६ विकेट लिए। उनले ८ ओभरमा ४ मेडन राख्दै १२ रन खर्चे। सिंगापुरका लागि सिद्धान्त र कप्तान अर्यमन सुनिलले सर्वाधिक २० रन जोडेका थिए। सिंगापुरका पाँच ब्याट्सम्यानले खाता खोल्न सकेनन्।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले पनि १/१ विकेट लिए।

प्रकाशित : भाद्र २९, २०७४ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दसैंमा यात्रु ओसार्न छ हजार सार्वजनिक सवारी

कान्तिपुर संवाददाता

काठमाडौं — हिन्दु नेपालीको पर्व दसैंको अवसरमा दैनिक छ हजार सार्वजनिक यातायातले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउने भएका छन् । दसैंको समयमा धेरै मानिस चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक छ हजारभन्दा धेरै सवारीसाधनले सेवा दिन लागेका हुन् ।

हरेक वर्ष चाडपर्वलाई लक्षित गरी सार्वजनिक नम्बर प्लेटका सवारीसाधन थपगर्ने गरेपनि यो वर्ष भने कुनै नयाँ बस थप भएको छैन । 

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बैंकको महँगो ब्याज र बाटोको दूरवस्थाका कारण नयाँ बस थप गर्न नसकेको जानकारी दिए । महासंघले गत वर्षमात्र ठूलो संख्यामा सार्वजनिक यातायात थप गरेको थियो । यसका अलावा दसैंमा पर्यटकीय बस, निजी सवारीसाधनमा समेत यात्रु घर जानेछन् । 

यो वर्षमात्र २०/२१ लाख मानिस दसैं मनाउनका लागि घर जाने यातायात व्यवस्था विभागको अनुमान रहेको छ । विभागका प्रवक्ता डा टोकराज पाण्डे १५/१६ लाख मानिस सार्वजनिक सवारीसाधनमा तथा पाँच/छ लाख मानिस निजी सवारीसाधनमा घर जाने बताउँछन् । 

हाल काठमाडौँको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, पुरानोबसपार्क, कलंकीलगायत स्थानबाट लामो तथा छोटो दूरीका सवारीसाधन छुट्ने गर्दछन् । दसैंलाई लक्षित गरेर सरकारले यही भदौ २७ गतेदेखि लामो तथा मझौला रुटको टिकट बुकिङ खुला गरिसकेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल दसैंको समयमा उपत्यका भित्रिने तथा बाहिरिने चारवटा नाकाबाट दसैंको समयमा दैनिक एक लाखभन्दा बढी मानिस बाहिरिने बताउँछन् । 

महाशाखा, विभागलगायत विभिन्न संघ संस्थाको सहयोगमा दसैंमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको छ । रासस 

प्रकाशित : भाद्र २९, २०७४ १०:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT