१६ वर्षका इटालियन सनसनी

एएफपी

इटाली — जेनोआका १६ वर्षीय फरवार्ड पिएट्रो पेल्लेग्रीले यसै साता इटालियन सिरी 'ए' अन्तर्गत लाजियो विरुद्धको खेलमा दुई गोल गरे । सिरी 'ए'मा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड यसअघि आफ्नो नाम गराइसकेका पेल्लेग्रीले आफ्नो टोलीलाई उक्त खेलमा जित दिलाउन भने सकेनन् ।

१६ वर्षका इटालियन सनसनी

पछिल्लो सिजनको अन्तिम खेलमा रोमाको घरेलु मैदान इटालियन लिगको केन्द्रबिन्दु बनेको थियो । रोमाका कप्तान फ्रान्सेसको टोट्टी करियरको अन्तिम खेलमा जेनोआको सामना गर्दै थिए । त्यसै खेलमा पहिलोपटक सुरुआती एघारमा परेका टोट्टीभन्दा २४ वर्ष कान्छा पेल्लेग्रीले जेनोआको लागि गोल गरे । यससँगै उनले सिरी 'ए'मा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड कायम गरे । उनी सिरी 'ए' मा गोल गर्ने सन् २००१मा जन्मेका पहिला खेलाडी पनि हुन् ।

आइतबारको खेलमा लाजिओविरुद्ध उनले दुवै बराबरी गोल गरेका थिए । तर विपक्षी फरवार्ड चिरो इम्मोबिलेले टोलीलाई जिततर्फ डोर्‍याए । जेनोआको स्टार फरवार्ड जिओभानी सिमिओनीलाई फिओरेन्टिनाले किनेसँगै पेल्लेग्रीले यस सिजन धेरै मौका पाउने अपेक्षा गरिएको छ ।

उनलाई सिजनको सुरुआतमा मिलानका ठुला क्लब, एसी र इन्टरले खरिद गर्न चाहेका थिए । तर, उनका पिता जेनोआको प्रशिक्षण टोलीका सदस्य रहेकाले पनि उनले हालै ट्रान्सफर नगर्ने निर्णय लिए । उँचो कदका कारण पेल्लेग्रीलाई इटालीका पूर्व फरवार्ड क्रिस्टियन भिएरीसँग दाँजिएको छ । पेल्लेग्रीले १५ वर्ष २८० दिनको उमेरमा टोरीनोसँगको खेलमा गत सिजन डेब्यु गरेका थिए ।

जेनोआका पूर्व प्रशिक्षक जिआन पिएरो गास्पेरिनीले पेल्लेग्री १४ वर्षको छँदै लिओनेल मेसीसँग दाँजेका थिए । उनले त्यस समय पेल्लेग्री निकै प्रतिभावान खेलाडी भएको र उनको स्तर उकास्ने कार्यलाई निकै गम्भीरतापूर्वक लिएको बताएका थिए ।

पेल्लेग्रीसँगै इटालीको युवा खेलाडी गोलरक्षक जियानलुइजी डोनारुम्मा र मिलानकै म्यानुएल लोकाटेल्ली र प्याट्रिक कुट्रोने पनि इटालीको भविष्यका रुपमा हेरिएका छन् । जेनोआमै रहेका १५ वर्षीय साल्सेडो मोरालाई पनि छिट्टै उदाउने प्रतिभा मानिएको छ ।

प्रकाशित : आश्विन ३, २०७४ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?