नेपालले हार्दा भारत छनोट

एएफसी यू–१६ छनोट
सुबास हुमागाईं

काठमाडौं — सुरुआती दुवै खेलमा पराजित प्यालेस्टाइनसँग नेपालले आइतबार आशातीत सुरुआत गर्‍यो । बलमा राम्रो पकड बनाउँदै लगातार आक्रमण बुनेको नेपालले १० मिनेटमै अग्रता लियो ।

नेपालले हार्दा भारत छनोट

अली रबेइले आकाश बुढामगरलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टीको मौका पायो । उक्त पेनाल्टीमा विर्जेश चौधरीले गोल गरे । त्यसपछि खेलको स्थिति पूरै बदलियो । अग्रता लिएपछि थप गोल गर्ने सुरमा खेलाडीहरू लगातार पोजिसन बाहिर पुग्दा नेपालले खेलमा लय गुमाएको थियो ।

खेलमा फर्किएको प्यालेस्टाइनले २८ औं मिनेटमा महमुद रिदातको गोलमा बराबरी गर्‍यो । तारेक अराजले दिएको लङ पासमा नेपालको डिफेन्स पूर्णरूपमा बिट भएपछि रिदातले गोलरक्षक विशाल सुनारलाई छलाउँदै खाली पोस्टमा गोल गरेका थिए । दोस्रो हाफको ७५ औं मिनेटमा रिदातले व्यक्तिगत दोस्रो गोल गर्दै प्यालेस्टाइनलाई अग्रता दिलाए । खेलमा थप गोल गर्न नसकेपछि नेपाल पराजित भयो ।

प्यालेस्टाइनविरुद्ध प्रतियोगिताकै खराब प्रदर्शन गरेको नेपालका प्रशिक्षक सुनील श्रेष्ठको बुझाइ छ । ‘हामीले आज निकै खराब फुटबल खेल्यौं । सुरुआती गोल निस्केपछि खेलाडीहरू केही ओभरकन्फिडेन्ट भए । हामीले दुवै गोल काउन्टर अट्याकमा खायौं,’ उनले थपे, ‘प्यालेस्टाइन नेपालभन्दा बलियो टोली हैन । दुवै एकै स्तरका टोली हुन् । लगातार खेलका कारण खेलाडीहरू आज केही थकित पनि देखिए ।’ समग्रमा प्रतियोगिता नेपालका लागि सन्तोषजनक रहेको उनको भनाइ थियो । ‘हामीले सुरुआती २ खेलमा निकै प्रतिस्पर्धात्मक खेल खेल्यौं । इराक र भारतविरुद्ध सानो गल्तीले खेलको नतिजा सुम्पन पुग्यौं । अन्तिम खेल जिते पनि छनोट नहुने भएपछि खेलाडीको मनोबल गिरेको भान भयो । ’

विपक्षी टोलीका प्रशिक्षक याह्या जलायताले टोलीले गरेको राम्रो तयारी जितको मुख्य कारण रहेको बताए । ‘प्रतियोगिताबाट बाहिरिए पनि हामीले मनोवैज्ञानिक रूपमा टोलीलाई राम्रोसँग तयार गरेका थियौं । सुरुआती खेलमा वातावरणमा भिज्न समय लागे पनि टोली सेट भइसकेको छ । छनोट हुन नसके पनि समग्रमा टोलीले राम्रो अनुभव बटुल्यो,’ उनले भने ।

समूह विजेता बनेपछि खुसीमा इराकी टिम । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर


बराबरीसँगै इराक र भारत छनोट
दिनको पहिलो खेलमा प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन इराक र भारतले गोलरहित बराबरी खेले । यस नतिजासँगै इराक समूह विजेताको रूपमा स्वत: अन्तिम चरणमा प्रवेश गर्‍यो । समूह उपविजेताको स्थान पक्का भए पनि भारतको छनोट हुने–नहुने नेपालको खेलको नतिजामा टिकेको थियो ।

छनोटअन्तर्गत समूह ‘ई’ मा ३ टोलीमात्र सहभागी रहेका कारण उपविजेताको टुंगो लगाउन शीर्ष ३ टोलीको नतिजा हेरिने प्रावधान छ । यसै कारण नेपाल पराजित भएको खण्डमा उत्कृष्ट उपविजेता बन्न भारतलाई सहज हुने थियो । प्यालेस्टाइनले नेपाललाई हराएसँगै भारत पनि उत्कृष्ट पाँच उपविजेतामा पर्दै अन्तिम चरणका लागि छनोट भएको हो । इराकसँग बराबरी र प्यालेस्टाइनलाई पराजित गरेका कारण भारत ४ अंकसहित छनोट भएको हो । यदि नेपालले प्यालेस्टाइनलाई पराजित गरेको भए भारतको उपविजेता तालिकामा २ अंकमात्र हुन्थ्यो, जुन छनोटका लागि अपुग हुन्थ्यो ।

प्रकाशित : आश्विन ९, २०७४ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?