कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सन्दीप परेनन् प्रमुख खेलाडीभित्र

काठमाडौं — डिसेम्बरमा हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटका लागि खेलाडीको वर्गीकरण गरिएको छ । त्यस अनुसार सनसनी युवा स्पिनर सन्दीप लामिछाने ‘ए’ श्रेणीमा छैनन् ।

 सन्दीप परेनन् प्रमुख खेलाडीभित्र

यसअघि नै सहभागी ६ टोलीका ‘मार्की’ खेलाडी तय भइसकेको छ । उनीहरूले न्युनतम २ लाख पारिश्रमिक पाउँदै छन् । सोमपाल कामी काठमाडौं किंग्स ११, ज्ञानेन्द्र मल्ल ललितपुर प्याट्रियट्स, पारस खडा विराटनगर वारियर्स, शरद भेषावकर भैरहवा ग्लाडियटर्स, शक्ति गौचन पोखरा राइनोज र दीपेन्द्रसिंह ऐरी चितवन टाइगर्सका ‘मार्की’ खेलाडीका रूपमा छन् । आयोजक ईपीएल प्रालिले गरेको ‘ए’ श्रेणीमा पर्न खेलाडीले राष्ट्रिय टोलीबाट कम्तीमा ३ वर्ष खेलेको हुनुपर्नेछ । फ्रेन्चाइज टिमले यो समूहमा रहेका ३ देखि ५ खेलाडी लिन पाउने छ । यस समूहमा पर्ने खेलाडीको भाउ अक्सनमा १ लाखबाट सुरु भई अधिकतम १ लाख ७५ हजार लगाउन पाउने छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रभाव पार्दै आएका सन्दीप राष्ट्रिय टोलीका प्रमुख खेलाडी हुन् । सन्दीपले २०१५ को अप्रिलमा नामिबियासँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । आयोजकले तोकेको मापदण्डअनुसार उनी वर्गीकरणको ‘ए’ श्रेणीमा पर्दैनन् । हालै प्रभावशाली प्रदर्शन गर्दै आएका दीपेन्द्रले यसै वर्ष केन्यासँगको खेलबाट नेपालका लागि ‘डेब्यू’ गरेका थिए । मापदण्डअनुसार उनी पनि ‘ए’ मा पर्दैनन् । तर मार्की खेलाडीका लागि वर्गीकरणको नियम लागू हुँदैन र उनीहरू अक्सनमा पनि रहने छैनन् ।

ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर सकै सन्तुलन बनाई नै खेलाडीको वर्गीकरण गरेको बताउँछन् । ‘नेपाली क्रिकेटका लागि वसन्त रेग्मीले जुन प्रदर्शन र योगदान दिएका छन्, त्यसअनुसार उनी ए श्रेणीभन्दा माथि हुनुपर्ने हो, तर हामीले व्यक्तिभन्दा प्रक्रिया र नियम आत्मसाथ गरेका छौं । १–२ खेलाडीको हकमा नमिलेको जस्तै देखिए पनि यो सन्तुलित नै छ जस्तो मलाई लाग्छ ।’ वर्गीकरणको ‘बी’ श्रेणीमा पर्न नेपालबाट उमेर समूहमा खेलेको हुनुपर्ने वा राष्ट्रिय टोलीबाट तीनभन्दा कम इभेन्टमा खेलेको हुनुपर्नेछ । यो समूहमा पर्नेको भाउ ७५ हजारबाट सुरु भई अधिकतम १ लाख २५ हजारमा पुगेर टुंगिने छ । १५ सदस्यीय टोलीमा यस समूहको कम्तीमा चार खेलाडी एउटा टोलीमा हुनुपर्नेछ । श्रेणी ‘सी’ मा पर्ने खेलाडीको भाउ ५० हजारबाट लाग्नेछ र अधिकतम ७५ हजारमा पुगेर टुंगिने छ । घरेलु क्रिकेटमा ५ वर्षदेखि खेलेका खेलाडी यस समूहमा पर्नेछन् ।

खेलाडी दर्ता आजबाट

ईपीएलका लागि खेलाडी दर्ता सोमबार सुरु हुनेछ । त्यो अक्टोबर ९ सम्म चल्नेछ । खेलाडीले १ हजार शुल्क तिरेर अक्सनका लागि निवेदन दिनुपर्नेछ । दर्ता भएर आएका ७० खेलाडी अक्सनमार्फत फ्रेन्चाइज टोलीमा लिलामी हुनेछन् । अक्सन अक्टोबर २३ मा हुने अख्तरले बताए ।

एउटा टिमले ७ लाखदेखि ९ लाखभित्र खर्च गरेर खेलाडी खरिद गर्नुपर्नेछ । विदेशी खेलाडी अक्सनमा हुने छैनन् । विदेशीको खेलाडीको टुंगो तिहारपछि लगाइने अख्तरले जानकारी गराए । ‘अहिले पनि हाम्रो धेरै विदेशी खेलाडीसँग अक्सनका लागि छलफल भइरहेको छ, केही सकारात्मक छन्, केहीको समय जुधेको छ । तिहारपछि हामी सबै टुंगो लगाइसक्ने छौं,’ उनले भने । कप्तानको टुंगो भने टिमले नै लगाउने उनले जनाए ।

आईएमई सह–प्रायोजक
प्रतियोगिताको मुख्य प्रायोजकको अझै टुंगो नलागे पनि आईएमई सह–प्रायोजक हुनेछ । यसका लागि अख्तर र आईएमईका सिनियर मार्केटिङ म्यानेजर डानियल डी श्रेष्ठबीच आइतबारै सम्झौतापत्रमा हस्ताक्षर भयो । आईएमईको आईएमई पेले प्रतियोगिताको टिकट व्यवस्थापन गर्नेछ ।

‘प्रतियोगितामा आबद्ध हुन पाउँदा हामी उत्साहित छौं । एउटा कम्पनी कुनै प्रतियोगितामा जोडिँदा त्यसको ब्रान्ड महत्त्व र सामाजिक महत्त्वलाई हेर्छौं, दुवै यस प्रतियोगितामा जोडेर हामी यसमा आएका हौं,’ श्रेष्ठले भने । यद्यपि सहप्रायोजनवापतको रकम दुवै पक्षले खुलाएका छैनन् ।

प्रकाशित : आश्विन ९, २०७४ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?