कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली टिमको जापानमा तयारी

विश्व र्‍याफ्टिङ च्याम्पियनसिप
राजु घिसिङ

काठमाडौं — भिसा पाएकै दिन जापान प्रस्थान गरेको नेपाली टिमले विश्व र्‍याफ्टिङ च्याम्पियनसिपका लागि योसिनो नदीमा प्रशिक्षण सुरु गरेको छ, जहाँ च्याम्पियनसिप आयोजना हुँदै छ ।

 नेपाली टिमको जापानमा तयारी

मियोहिसी तोकुसिमास्थित योसिनो नदीमा शुक्रबारदेखि भइरहेको अभ्यासबारे नेपाली टिमका प्रशिक्षक विष्णु गुरुङले फोनमार्फत् भने, ‘हामीले नेपालमा पनि अभ्यास र तयारीका अरु कार्यहरू गरेका थियौं । तर विश्व च्याम्पियनसिप हाम्रो लागि नयाँ वातावरण र फरक नदीमा हँुदै छ । एकैपल्ट ठूला प्रतियोगितामा प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ । त्यसैले राम्रो नतिजालक्षित गर्दै १० दिने बन्द प्रशिक्षण जापानमै सञ्चालन गरिएको हो ।’

च्याम्पियनसिप अक्टोबर २ देखि ९ सम्म हुनेछ । यसमा २३ देशका ७३ टिमले प्रतिस्पर्धा गर्दै छन् । खुला, मास्टर (३० वर्षमाथि), जुनियर (२३ वर्षमुनि) र युवा (१९ वर्षमुनि) गरी चार स्पर्धा च्याम्पियनसिपमा समावेश गरिएको छ । सबै स्पर्धामा पुरुष र महिलाले बेग्ला(बेग्लै प्रतिस्पर्धा गर्नेछन् । नेपाली टिम पुरुषतर्फ खुला स्पर्धामा चुनौती दिने तयारीसाथ विहीबार जापान पुगेको हो ।

धादिङ, चरांैदीका हरि आलेमगरको कप्तानीमा रहेको नेपाली टिमले प्रतिस्पर्धा गर्ने खुला स्पर्धा विश्व च्याम्पियनसिपकै मुख्य आकर्षण पनि हो । यसमा १५ टिमले प्रतिस्पर्धा गर्ने तय भइसकेको छ । त्रिशुली नदीमा फागुनमा भएको राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपमा विजेता भएको नेपाल कायक क्लबका सात खेलाडीले नै विश्व च्याम्पियनसिपमा देशको प्रतिनिधित्व गर्न लागेका हुन् । यसरी छनोट प्रतियोगिता आयोजना गरी नेपाली टिम विश्व च्याम्पियनसिपमा पहिलोपल्ट सहभागी हुन लागेको हिमालयन रिभरगाइड एसोसिएसनका अध्यक्ष मनीष राईले बताए ।

दर्जन टिम सहभागी राष्ट्रिय प्रतियोगितामा मानबहादुर कँडेल, विशाल गुरुङ, हरि आलेमगर, रोशन लामा, विनोद गुरुङ, प्रकाश गुरुङ र टकबहादुर गुरुङ समावेश कायक क्लब १ हजार अंक जोड्दै पहिलो भएको थियो । उनीहरू र्‍याफिटङका व्यावसायिक खेलाडी भने होइनन्, ‘रिभर गाइड’ हुन् । त्यसैले उनीहरूलाई विश्व च्याम्पियनसिप सजिलो हुने छैन । उनीहरू औपचारिक रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन लागेको पनि यो नै पहिलो हो । नेपाली रिभर गाइड विश्वमै प्रख्यात छन् । त्यसैले र्‍याफ्टिङ, क्यानोइङ, कायकमा माहिर उनीहरूलाई कमजोर आँक्न भने मिल्दैन । सबै खेलाडीसँग कम्तीमा ६(७ वर्षको रिभर गाइड अनुभव छ ।

राष्ट्रिय प्रतियोगिता सम्पन्न भएपछि चैतमा हिमालयन रिभर गाइड एसोसिएसनले खेलाडीहरूलाई मस्र्याङदीमा दुई साता प्रशिक्षण दिएको थियो । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा फिटनेसका लागि दैनिक चार घण्टा कडा शारीरिक अभ्यास पनि गरेका थिए । ‘त्यसबेला बनाएको तालिकाअनुसार नै उनीहरूले फिटनेसलाई निरन्तरता दिएका छन्,’ फिटनेस प्रशिक्षक राजीव चन्दले भने, ‘यसबीच केही महिना खेलाडीहरू आ(आफ्नै काममा व्यस्त रहे तर त्यसबेला पनि उनीहरूले आफ्नो फिटनेस बिग्रन दिएका छैनन् । त्यसैले जापानको १० दिने बन्द प्रशिक्षणसँगै नेपाल्ी टिमले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

‘निकै मिहिनेत गरेर जापानमा रहेका नेपाली रिभर गाइड र अरु सहयोगीको साथले विश्व च्याम्पियनसिप हुने नदीमै प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको हो,’ वैदेशिक प्रशिक्षण र विश्व च्याम्पियनसिपमा नेपाली सहभागिताको संयोजन गरेका हिमालयन रिभर गाइड एसोसिएसनका अध्यक्ष मनीष राईले भने, ‘अब खेलाडीको कडा मिहिनेतलाई च्याम्पियनसिपमा खेर जान नदिने प्रयासमा छौं । अहिलेको सहभागितालाई व्यवस्थित र उपलब्धिमूलक बनाएर आउने प्रतियोगितामा सफलताको सम्भावनाका ढोकाहरू खोल्न चाहन्छौं ।’

नेपाली टिम

हरि आलेमगर खेलाडी

रोशन लामा खेलाडी

मानबहादुर कँडेल खेलाडी

टकबहादुर गुरुङ खेलाडी

विशाल गुरुङ खेलाडी

प्रकाश गुरुङ खेलाडी

विनोद गुरुङ खेलाडी

राजीव चन्द फिटनेस प्रशिक्षक

विष्णु गुरुङ प्रशिक्षक

प्रकाशित : आश्विन ९, २०७४ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?