नेपालको बंगलादेशविरुद्ध जित

उपाधि आस कायमै
साफ यू–१८ फुटबल
कान्तिपुर संवाददाता

काठमाडौं — साफ यू–१८ च्याम्पियनसिपअन्तर्गत तेस्रो खेलमा सोमबार नेपालले शीर्षस्थानको बंगलादेशलाई पराजित गरेको छ । १० खेलाडीमा समेटिएको बंगलादेशलाई नेपालले २–१ ले हराउँदै महत्त्वपूर्ण ३ अंक जोडेको हो ।

नेपालको बंगलादेशविरुद्ध जित

भुटानको थिम्पुमा जारी स्पर्धामा सोमबार आक्रामक रूपमा प्रस्तुत भएको बंगलादेशले पहिलो मिनेटमै गरेको महबुर रहमानको प्रहार गोलरक्षक अर्पण कार्कीले बचाएका थिए । लगत्तै दोस्रो मिनेटमा मोहमद अल अमिनले सिक्स यार्ड बक्सभित्र अनमार्क रहेको स्थितिमा कर्नर प्रहारबाट फर्केको बललाई पोस्टको दिशा दिन सकेनन् । 

बंगलादेश खेलमा हाबी भइरहेको अवस्थामा सुरुआती अग्रता भने नेपालले लियो । २२ औं मिनेटमा रेजिन सुब्बाले बायाँ विङ्सबाट गरेको क्रसमा अभिषेक रिजालको डाइभिङ हेडरमार्फत नेपाललाई अग्रता दिलाए । आठ मिनेटपछि बंगलादेशले बराबरी गोल फर्कायो । मोहमद रहमत मियाको फ्रिकिक क्रसबारमा रिबाउन्ड भएर आएपछि अनमार्क रहेका मोहमद अल अमिनले हेडरबाट गोल गरे । रिबाउन्ड भएर आएको फ्रिकिकमा नेपाली डिफेन्स चनाखो नहुँदा पाँच बंगलादेशी खेलाडीविरुद्ध गोलरक्षक एक्लै सिक्स यार्ड बक्सभित्र थिए । त्यसअघि खेलको १० औं मिनेटमा पनि रहमतको फ्रिकिकमा गोलरक्षक अर्पण बिट भएपछि बल पोस्टमा लागेर फर्किएको थियो । 

दोस्रो हाफको ५३ औं मिनेटमा बंगलादेशका विश्वनाथ घोषले नेपाली डिफेन्डर विश्वास उदासलाई कुहिनाले हानेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए । १० खेलाडीमा समेटिएको बंगलादेश ७३ औं मिनेटमा अभागी साबित भयो । बिप्लो अहमदको प्रहार पोस्टमा लागेर फर्किएपछि बंगलादेशले अग्रता लिन सकेन । ८० औं मिनेटमा रोमन लिम्बूले करिब ४५ यार्ड टाढाबाट फ्रिकिक छिराएपछि नेपालले पुन: अग्रता लियो । थप गोल हुन नसकेपछि खेलमा नेपालले जित दर्ता गर्‍यो ।

सोमबारै पहिलो खेलमा भारतले माल्दिभ्सलाई २–१ ले पराजित गरेको थियो । यस नतिजासँगै सहभागी पाँच टोलीमा माल्दिभ्सबाहेक सबै टोलीको समान ६ अंक भएको छ । बुधबार हुने अन्तिम दिनको खेलमा आयोजक भुटान र बंगलादेश भिड्ने छन् भने नेपालले भारतको सामना गर्नेछ ।

रोमाञ्चक होड

नेपालले अब उपाधि जोगाउन अन्तिम खेलमा भारतलाई पराजित त गर्नुपर्छ नै, सँगसँगै बंगलादेशले भुटानबाट अंक खोस्नुपर्ने हुन्छ । यदि नेपाल र भारतको खेल बराबरी सकिएको खण्डमा भने नेपालको उपाधि आशा समाप्त हुनेछ । दुवै खेल बराबरीमा सकिएमा भारतले उपाधि जित्नेछ । सबै टोलीको उपाधि जित्ने उत्तिकै सम्भावना छ । यद्यपि हेड–टु–हेड नियम लागू हुने कारणले सबै टोलीको उपाधि जित्ने/नजित्ने समीकरण अर्को खेलको नतिजामा पनि भरपर्छ ।

प्रकाशित : आश्विन १०, २०७४ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?