चर्च ब्वाइजको प्रतिद्वन्द्वी एपीएफ

अर्जुन राजवंशी

दमक — खेल सकिन तीन मिनेट बाँकीमा युवराज खड्काले गरेको गोलसँगै विगाभीय टोली सशस्त्र प्रहरीको एपीएफ प्रथम दूधे गोल्डकप फुटबलको फाइनल पुगेको छ । एपीएफले बुधबार उपाधिका लागि काठमाडौंको चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

चर्च ब्वाइजको प्रतिद्वन्द्वी एपीएफ

सोमबार दोस्रो सेमिफाइनलमा एपीएफले हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गरेको थियो । खेलमा अग्रता भने हिमालयन शेर्पाले लियो । १५ औं मिनेटमा शेर्पा टिमका विदेशी खेलाडी आबाको क्रसमा बिके लामाको हेड प्रहार एपीएफकै खेलाडीलाई ठक्कर दिँदै गोल भएको थियो ।
एपीएफले पहिलो हाफको इन्जुरी समयमा खेल बराबरीमा ल्यायो । एपीएफका कप्तान मिलन राईको पासमा हरि कार्कीले हेड गोल गर्दै टोलीलाई खेलमा फर्काए ।
पहिलो हाफ बराबरी भएपछि दोस्रो हाफमा एपीएफ हाबी भयो । उसका स्ट्राइकरहरूले विपक्षी पोस्टमा लगातार आक्रमण गरेका थिए । तर, ७७ औं मिनेटमा रुपबहादुर लामाको फ्रिकिक सदुपयोग गर्दै छरिता स्ट्राइकर युवराजले हेड गोल गरेर टिमलाई जिताए ।
पहिलो हाफमा हिमालयनका खेलाडीले गोलका लागि केही अवसर सिर्जना गरे पनि दोस्रो हाफमा भने शून्य रह्यो । २४ औं मिनेटमा एपीएफका रुपबहादुरको कडा प्रहार हिमालयनका गोलरक्षक भीमसेन दुराले पन्च गर्दै बाहिर पठाइदिए ।
५४ औं मिनेटमा रुपबहादुरकै प्रहार पोस्टमा लागेर बाहिरियो । पहिलो हाफमा आफ्नो पकड राखे पनि हिमालयनले गोल थप्न भने सकेन । खेलमा उत्कृष्ट प्रदर्शन गरेका एपीएफका श्याम नेपाली म्यान अफ द म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
विजेताले ३ लाख १ हजार र उपविजेताले १ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रकाशित : आश्विन १०, २०७४ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?