कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भाले कपदेखि नर्वे कपसम्म

पर्वत पोर्तेल

धुलाबारी (झापा) — कक्षा ६ मा पढ्दा पढ्दै फुटबलको मायाजालमा परिन् अस्मिता खवास । गाउँमा हुने भाले कपदेखि नर्वे कपसम्मको अनुभव छ यिनीसँग ।

भाले कपदेखि नर्वे कपसम्म

यिनको गाउँ ज्यामिरगढीमा फुटबल खेल्ने महिला उनी एक्ली थिइन् । ‘महिलाले पनि फुटबल खेल्छन् ? भन्थे गाउँलेहरू,’ अस्मिताले अनुभव सुनाइन्, ‘परिवारले सहयोग नगरेको भए म फुटबल खेल्न पाउने थिइनँ होला ।’ 

खासगरी अस्मितालाई दाजु र आमाले धेरै सहयोग गरे फुटबलमा । त्यो समयका चर्चित महिला फुटबलरहरू विनीता शेर्पा र लक्ष्मी खड्का एक दिन अस्मिताको घर पुगे खेलाडी खोज्दै । महिलाको जिल्ला टिम बनाउने अभियानकै क्रममा उनीहरूको नजरमा परिन् अस्मिता । यिनको खेल कौशल अब्बल थियो । पुरुष खेलाडीलाई छक्याएर बल जाली चुमाउन सिपालु थिइन् । अन्य खेलाडीको दाँजोमा अग्लो उचाइ भएकाले किपर बन्ने प्रस्ताव भयो । यिनले स्वीकारिन् । 

जिल्ला टिमबाट खेल्न थालेको वर्ष दिनपछि यिनी सन् २००२ मा राष्ट्रिय टिममा पारिन् । नर्वेमा भएको नर्वे कपबाट यिनले पहिलोपटक अन्तर्राष्ट्रिय अनुभव बटुल्ने अवसर पाइन् । नर्वेका लागि टिममा पर्दा परिवारका सदस्य नै चकित परे । पहिलोपटक हजाईजहाज चढेर विदेश उडदा उनको गाउँमा खुसियाली छाएको थियो । ३६ देशका महिला खेलाडी सहभागी नर्वे कपमा यिनको प्रदर्शन तारिफयोग्य नै रह्यो । उनले नर्वेमा १६ दिन बिताएकी थिइन् । 

२००२ देखि २०१० सम्म लगातार राष्ट्रिय टिममा परेकी अस्मिताले २०१० मा बंगलादेशको ढामा भएको साफ च्याम्पियनसिप खेलेर फर्किएपछि संन्यास लिइन् । एन्फाले उनलाई महिला टिमको सहायक प्रशिक्षणको जिम्मेवारी पनि दिन्छ बेलाबेला । हालै सिलिगुडीमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा अस्मिताले सहायक कोचको जिम्मेवारी सम्हालेकी थिइन् । ‘महिला फुटबल टुर्नामेन्ट हुँदा एन्फाले प्रशिक्षणका लागि आग्रह गर्छ’, अस्मिताले भनिन्, ‘सहायक कोचकै रूपमा चाहिँ नियुक्ति दिएको छैन ।’ 
गत वर्ष जिल्ला खेलकुद विकास समितिले करिब ६ महिना जति करारमा प्रशिक्षकका रूपमा राख्यो । 

करार अवधि नवीकरण नहुँदा उनी बेरोजगार बनेकी छन् । एफसीबाट भर्खरै उनले ‘बी’ ग्रेडको कोचिङ लाइसेन्स परीक्षा दिएकी छन् । गत वर्ष ‘सी’ ग्रेडको लाइसेन्स पास गरिसकेकी छन् । 

नेपाली महिला फुटबलको अवस्थामा अहिले पनि कुनै सुधार नआएको अस्मितालाई लाग्छ । पुरुष फुटबलको तुलनामा महिला सधैं मारमा रहेको उनले बताइन् । ‘महिलाहरूको ट्रेनिङ भए पनि म्याच हुन नसक्नु विडम्बना हो,’ अस्मिता भन्छिन्, ‘पुरुष फुटबलरलाई भ्याइनभ्याई छ, महिलाहरू भने फुर्सदिला छन् ।’ महिला फुटबलको विकासका लागि राज्यले लगानी गर्न कन्जुस्याइँ गरेको उनको आरोप छ । थप्छिन्,‘पुरुष खेलाडीलाई जस्तै लगानी गर्ने हो भने महिला फुटबलले पनि सोचे जस्तो प्रदर्शन गर्न सक्ने थियो ।’ 

प्रकाशित : आश्विन १२, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?