कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

टिनएजमै तहल्का

कान्तिपुर संवाददाता

काठमाडौं — सामान्यतया फुटबलमा एकेडेमीबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडी उमेर समूहको टोलीमा आउँछन् । त्यसपछि विभिन्न उमेर समूह हुँदै सिनियर टोलीसम्मको यात्रा तय गर्दा सामान्यतया खेलाडीको उमेर २० वर्ष कटिसकेको हुन्छ ।

 टिनएजमै तहल्का

केही खेलाडी यस्ता पनि छन् जसले टिनएजमै सिनियर टोलीका लागि खेल्दै आफ्नो प्रभाव देखाइसकेका छन्, त्यो पनि युरोपकै प्रतिष्ठित क्लबका लागि । २० वर्ष नपुग्दै विश्व फुटबलको महाशक्ति युरोपका पाँच ठूला लिगमा आफ्नो छाप बसाइसकेका फुटबलर :


थियो हर्नान्डेज
देश: फ्रान्स
उमेर: १९ वर्ष
क्लब: रियल म्याड्रिड (स्पेन)
पोजिसन: डिफेन्डर

पछिल्लो सिजन लोनमा आलभेसबाट खेलेका हर्नान्डेज यसै सिजन एटलेटिको म्याड्रिडबाट रियलमा आएका हुन् । छिमेकी प्रतिद्वन्द्वी क्लबबाट आएका उनले रियल म्याड्रिडबाट डेब्यु गरिसकेका छन् । रियलले उनीसँग ६ वर्षको सम्झौता गरेको छ । फ्रान्सको युवा टोलीबाट खेलिसकेका उनलाई रियल म्याड्रिडको भविष्यका स्टारका रूपमा हेरिएको छ । फ्रान्सेली टोलीले पनि उनीबाट धेरै आशा राखेको छ ।

क्रिस्टियन पुलिसिच

देश: अमेरिका
उमेर: १९ वर्ष
क्लब: बोरुसिया डर्टमुन्ड (जर्मनी)
पोजिसन: मिडफिल्डर

पुलिसिच अमेरिकाको राष्ट्रिय टिमबाट विश्वकप छनोट खेल्ने र गोल गर्ने सबैभन्दा कान्छा खेलाडी हुन् । उनी तीन वर्षयता डर्टमुन्डसँग आबद्ध छन् । एकेडेमीको टिमबाट १५ खेल खेलेपछि उनले फस्ट टिममै मौका पाएका थिए । उनी बुन्डेसलिगामा गोल गर्ने सबैभन्दा कान्छा विदेशी खेलाडी पनि हुन् । यस सिजन लगातार पहिलो रोजाइमा खेलिरहेका पुलिसिचले आउने दिनमा राम्रै प्रभाव देखाउने विश्वास गरिएको छ । उनी सन् २०२० सम्म डर्टमुन्डमा रहने सम्झौता छ ।

मार्कुस रास्फर्ड

देश: इंग्ल्यान्ड
उमेर: १९ वर्ष
क्लब: म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड)
पोजिसन: फरवार्ड

म्यानचेस्टर युनाइटेडका लागि युरोपेली प्रतियोगितामा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी हुन्, रास्फर्ड । दुई वर्षअघि युरोपा लिगको खेलमा एन्थोनी मार्सियल वार्मअपमा घाइते भएपछि मौका पाएका रास्फर्डले त्यसै खेलमा दुई गोल गरेका थिए । त्यसपछि लिग कप, च्याम्पियन्स लिग र इंग्ल्यान्डका लागि पनि सबै प्रतियोगिताको डेब्युमै उनले गोल गरे । युनाइटेडको सिनियर टोलीको महत्त्वपूर्ण सदस्य बनेका उनी अब मुख्य खेलाडी बन्ने अभियानमा छन् । उनले सन् २०१६ मा ४ वर्षका लागि क्लबसँग सम्झौता गरेका थिए ।

जियानलुइजी डोनारुम्मा

देश: इटाली
उमेर: १८ वर्ष
क्लब: एसी मिलान (इटाली)
पोजिसन: गोलकिपर

१६ वर्ष २ सय ४२ दिनको छँदा इटालियन सिरी ‘ए’ मा डेब्यु गरेका गोलकिपर डोनारुम्माले १७ वर्ष १ सय ८९ दिनको हँुदा इटालीको टिमबाटै खेले । राष्ट्रिय टिमका सबभन्दा कम उमेरका उनले क्लब फुटबलमा तीन सिजनयता लगातार पहिलो रोजाइमा गोलपोस्ट सम्हाल्दै आएका छन् । उनलाई इटालियन लिजेन्ड जियानलुइजी बुफोनका उत्तराधिकारीका रूपमा हेरिएको छ । उनले सन् २०२१ सम्म मिलानमै रहने प्रतिबद्धता जनाएका छन् ।

किलियन एमबाप्पे

देश: फ्रान्स
उमेर: १८ वर्ष
क्लब: पेरिस सेन्ट जर्मेन (फ्रान्स)
पोजिसन: फरवार्ड

पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट व्यावसायिक फुटबल खेलिरहेका फ्रान्सेली फरवार्ड एमबाप्पे विश्वकै दोस्रा महँगा फुटबल खेलाडी बन्दैछन् । यसै सिजन मोनाकोबाट लोनमा आएका उनलाई अर्को सिजन १६ करोड युरोमा पीएसजीले खरिद गर्ने सम्झौता भइसकेको छ । गत सिजन मोनाकोलाई फ्रेन्च लिगको उपाधि दिलाउन र च्याम्पियन्स लिगको सेमिफाइनल पुर्‍याउन उनको महत्त्वपूर्ण भूमिका थियो । उनले फ्रान्सेली राष्ट्रिय टिमबाट गोल पनि गरिसकेका छन् ।
स्रोत : एजेन्सी

प्रकाशित : आश्विन २०, २०७४ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?