२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

युवाबाट आशा : प्रदर्शन कि प्रतिफल ?

फुटबल
उमेर समूहमा खेल्नेहरूले भविष्यका खेलाडी बन्नका लागि प्रदर्शनमा ध्यान दिने कि प्रतिस्पर्धाको विकास गर्न नतिजाका लागि केन्द्रित हुने ?
सुवास हुमागाईं

विश्व फुटबल जगत्मै ‘युथ फुटबल’ को विकास गर्दा प्रदर्शन र प्रतिफलमा केलाई बढी प्राथमिकतामा राख्ने भन्ने विवाद लामो समयदेखि चलिआएको पाइन्छ । नेपाली फुटबल पनि यसबाट अछुतो छैन ।

 युवाबाट आशा : प्रदर्शन कि प्रतिफल ?

युथ फुटबल भन्नाले भविष्यका खेलाडी बनाउने हुनाले प्रदर्शनमा ध्यान दिनुपर्छ भने तर्क एकथरीको छ । खेलबाट नतिजा नखोज्दा खेलाडीमा प्रतिस्पर्धाको भावना विकास नहोला भन्ने अर्कोथरीको प्रश्न पनि उत्तिकै जायज छ ।

युथ फुटबलमा नेपालले तीन वर्षदेखि निरन्तर सफलता हात पार्दै आइरहेको छ । यसै महिना भुटानमा सम्पन्न साफ यू–१८ च्याम्पियनसिपमा डिफेन्डिङ च्याम्पियन रहेको नेपालले उपाधि रक्षा गर्‍यो । त्यसअघि सन् २०१५ मा भएको पहिलो संस्करणमा पनि नेपाल च्याम्पियन बनेको थियो । विगतमा नेपालले उमेर समूहको प्रतियोगितामा राम्रो प्रदर्शन गरे पनि नतिजा ल्याउन नसकेकोमा आलोचना खेपिरहेको थियो । सन् २०१४ मा बालगोपाल महर्जनको प्रशिक्षणमा विमल घर्तीमगर, अनन्त तामाङ, अञ्जन विष्टलगायतका खेलाडी सम्मिलित टोलीले प्रदर्शनसँगै नतिजा पनि ल्यायो । एएफसी यू–१६ च्याम्पियनसिपको अन्तिम चरणमा छनोट भएको उक्त टोली साफ यू–१६ को फाइनलमा भारतसँग १–० ले हारेको थियो । बालगोपालकै प्रशिक्षणमा टोलीले साफ यू–१८ उपाधि पनि हात पार्‍यो । त्यस समय पहिलो रोजाइमा रहेका अधिकांश खेलाडी हाल सिनियर राष्ट्रिय टोलीका नियमित सदस्यका रूपमा स्थापित भइसकेका छन् । विमल, अञ्जन र अनन्तसँगै हेमन्त थापामगर, सुनिल वल र दिनेश राजवंशी हाल राष्ट्रिय टोलीका सदस्य हुन् ।

नेपालले भुटानमा यू–१८ जित्दा सुरुआत भने निकै निराशाजनक रह्यो । भुटानसँग इतिहासकै पहिलो पराजय भोगे पनि उपाधि त जित्यो, तर टोलीको प्रदर्शन सन्तोषजनक मात्र रह्यो । राउन्ड रोबिन लिगमा खेलिएको प्रतियोगितामा बंगलादेशले भारतलाई पराजित गर्‍यो । नेपालसँग हार बेहोरे पनि उसको प्रदर्शन नेपालको तुलनामा राम्रो थियो । निकै प्रतिभावान खेलाडी सम्मिलित नेपाली टोलीले अर्को महिना एएफसी यू–१९ च्याम्पियनसिप छनोट चरणमा सहभागिता जनाउँदै छ । किर्गिस्तानमा हुने छनोटमा नेपालको सम्भावना कम छ । पछिल्लोपटक किर्गिस्तानमा यू–१६ छनोट खेलेर अन्तिम चरणमा पुगे पनि बढी उमेरका खेलाडी खेलाएको कारण एएफसीले टोलीलाई अयोग्य ठहर्‍याएको थियो । त्यही समयका अधिकांश खेलाडी रहेको टोलीले भुटानमा साफ यू–१८ उपाधि उचालेको हो । अहिले पनि टोली छनोट हुने लक्ष्य लिएर प्रतियोगितातर्फ प्रस्थान गर्नेछ ।


गत महिना नेपालमै आयोजित साफ यू–१६ च्याम्पियनसिपमा उपविजेता नेपालले बंगलादेशलाई सेमिफाइनलमा पराजित गर्‍यो । बंगलादेशी टोली पनि नेपालको तुलनामा माथिल्लो स्तरको देखिन्थ्यो । यसै पनि भारतको छायामा रहिआएको नेपाल अब बंगलादेशसँग पनि पछाडि पर्ने संकेत देखिएको छ । बंगलादेशको लिग फुटबल वर्षैपिच्छे सुधारिंदै जाँदा नेपालमा भने लिग हुने–नहुने अझसम्म तय छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पटक–पटक लिग सुरु हुने मिति तोक्दै आए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । यसको असर सिनियर टोलीमा प्रत्यक्ष रूपमा परेको छ ।

सिनियर टोलीमा युवा खेलाडीको बाहुल्य रहनु नेपालको घरेलु फुटबलको दुरवस्थाको उपज हो । नेपालमा ‘ए’ डिभिजन लिग आयोजना नभएको तीन वर्ष बितिसकेको छ । हाल राष्ट्रिय टोलीमा रहेका कतिपय खेलाडीले ‘ए’ डिभिजन लिग खेलेका छैनन् । यस्तो अवस्थामा उमेर समूहको राष्ट्रिय टोलीमा गरेको प्रदर्शन नै छनोटको मुख्य आधार बनेको छ । सिनियर टोलीका प्रशिक्षक ग्योतोकु कोजीले मोफसलका एकाध प्रतियोगिताको आधारमा राष्ट्रिय टोलीमा छनोट गर्दै आएका छन् । यद्यपि त्यसरी छनोट भएर आएका खेलाडी टोलीमा टिक्न सकेका छैनन् । लिग फुटबल नहुँदा उमेर समूहमा नियमित प्रशिक्षण पाएका खेलाडी नै टोलीको मेरुदण्डका रूपमा अगाडि आएका छन् । हाल राष्ट्रिय टोलीमा रहेका अधिकांश खेलाडी एन्फा एकडेमीकै उत्पादन हुन् ।

एन्फाले नियमित रूपमा विभिन्न उमेर समूहका खेलाडी समेट्दै एक दशकदेखि एन्फा एकेडेमी सञ्चालन गर्दै आएको छ । एकेडेमीमा हरेक वर्ष खुला छनोटबाट खेलाडी भर्ना हुन्छन् । ती खेलाडीहरूको खाने–बस्नेदेखि शिक्षाको पनि सम्पूर्ण भार एन्फाले उठाउने गरेको छ । त्यसबाहेक खेलाडीलाई प्रशिक्षणका क्रममा आवश्यक पर्ने आधारभूत सामग्री पनि एन्फाले व्यवस्था गर्छ । विगतमा एन्फा एकेडेमीकै नाममा मोफसलको प्रतियोगितामा हुँदै आएको सहभागिता अहिले शून्यप्राय: छ । एएफसी र साफ बाहेकका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता त टाढाको कुरा भयो । 

एकेडेमीको स्थापनाकालदेखि तीन फरक उमेर समूह रहँदै आएकोमा हाल यू–१४ र यू–१६ उमेर समूहका खेलाडी मात्र एकेडेमीमा छन् । अझ एकेडेमीका कल्पनाकार एवं तत्कालीन कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधनपछि एकेडेमी सञ्चालन गर्ने–नगर्ने नै दुविधामा थियो । तर रवीन्द्र जोशीको संयोजनमा तीन सदस्यीय समितिको गठनपछि व्यवस्थित रूपमा एकडेमी सञ्चालनमा आयो । विगतको तुलनामा अहिले खेलाडीले पाउने सुविधामा पनि स्तरोन्नति भएको छ । सगँसँगै एन्फाले प्रत्यक शनिबार १९ वर्षसम्मका खेलाडीलाई खुला प्रशिक्षण पनि दिंदै आएको छ । एएफसीका लाइसेन्स प्राप्त प्रशिक्षकहरूले एन्फा कम्प्लेक्सको मैदानमा उमेर समूहअनुसार प्रशिक्षण दिन्छन् ।

एन्फाले एकेडेमीबाट खेलाडी उत्पादन गर्न ठूलो लगानी गरेको छ । तर खेलाडी उत्पादन गरेर तिनलाई हुर्काउन घरेलु लिग नहुने हो भने त्यसको कुनै अर्थ रहन्न । युवा टोलीको प्रदर्शन खस्कँदै गइरहे पनि नतिजा आएको छ । तर, अहिले युवा फुटबलरबाट राम्रो प्रदर्शन आउँदा तिनले पछि सिनियर टोलीलाई योगदान दिन सक्छन् । युवामै टिकेको नेपाली फुटबलमा सिनियरको नतिजाले बढी महत्त्व राख्छ ।

अहिले लिग फुटबल नभएकै कारण खेलाडीहरू पलायन भएका उदाहरण धेरै छन् । फुटबललाई नै आफ्नो जीवन बनाएका खेलाडीलाई लिग आयोजना नगर्दा प्रत्यक्ष रूपमा जीवनयापनमै समस्या पर्छ । लिग नहुँदा युवा अवस्थाका खेलाडीको भविष्य त अन्धकार हुन्छ नै, आउने पिँढीका युवालाई पनि फुटबलमा होमीन निरुत्साहित गर्छ ।

Twitter @SubasTheOne

प्रकाशित : आश्विन २१, २०७४ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?