इजिप्ट २८ वर्षपछि छनोट

एएफपी

कायरो — लिभरपुल फरवार्ड मोहम्मद सलाहले इन्ज्युरी समयमा पेनाल्टीबाट गोल गरेपछि इजिप्टले आइतबार विश्वकप छनोटमा कंगोलाई २–१ ले हरायो र सन् २०१८ को विश्वकपलाई रुसको टिकट काट्यो ।

इजिप्ट २८ वर्षपछि छनोट

सलाहकै गोलमा इजिप्टले अग्रता लिए पनि खेल सकिन दुई मिनेटअघि कंगोका आर्नोल्ड बोउकाले बराबरी गोल फर्काएका थिए । 

यो जितसँगै अफ्रिकी विश्वकप छनोटको समूह ‘ई’ मा इजिप्टले युगान्डामाथि उछिन्न नसकिने ४ अंकको अग्रता लिएको छ । छनोटमा एक चरणको मात्र खेल बाँकी छ । अर्को खेलमा युगान्डाले घानासँग कम्पालामा गोलरहित बराबरी खेल्यो । छनोट हुन इजिप्टलाई भनेबराबरी पर्याप्त थिएन । 

इजिप्टले सन् १९९० मा पछिल्लोपल्ट विश्वकप खेलेको थियो । कीर्तिमान सातपल्टको अफ्रिकी च्याम्पियनको फुटबल त्यसयता ठूलो उचारचढावबाट गुज्रिरहेको छ । इजिप्टको छनोट यात्रा कति तनावपूर्ण रह्यो भने उसका प्रशिक्षक हेक्टर कुपरले कंगोको खेलअगाडि रक्तचाप नियन्त्रण गर्न औषधि सेवन गर्नुपरेको थियो । 

‘जीवन नै खासमा तनावपूर्ण हुन्छ, यसपल्टको विश्वकप छनोटमा म निकै ठूलो तनावबाट गुज्रिएँ,’ प्रशिक्षकले भने, ‘तर अन्यमा विश्वकपका लागि छनोट भयौं र यो नै उपलब्धि रह्यो ।’ इजिप्टको जितपछि १२ अंक भएको छ । यसअघि नाइजेरिया अफ्रिकाबाट विश्वकपमा छनोट हुने पहिलो देश भएको थियो ।

प्रकाशित : आश्विन २४, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?