नेपाल छनोटबाटै बाहिरियो

कान्तिपुर संवाददाता

काठमाडौं — नयाँ स्वरुपमा उत्रिएको नेपाली राष्ट्रिय फुटबल टोली ताजिकिस्तानसँग फेरि पराजित भएको छ । एएफसी एसियन कपको समूह ‘एफ’ अन्तर्गत चौथो खेलमा ३–० ले पराजित भएसँगै नेपालको यात्रा छनोट चरणमा सीमित भएको छ । नयाँ संरचनामा उत्रिएको नेपाली टोली सुरुदेखि दबाबमा रह्यो ।

 नेपाल छनोटबाटै बाहिरियो

खेलको आठौं मिनेटमा गोलरक्षक किरण चेम्जोङले मानुसेर जालिलोभको प्रहारलाई उत्कृष्ट बचाउ गरेलगत्तै ताजिकिस्तानका उमारबोएभ पर्भीजोनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको कडा प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

लगातार आक्रमण बुनेको ताजिकिस्तानले खेलको २० औं मिनेटमा पेनाल्टी पायो । फाथुलोएभ फाथुल्लोको क्रस अनन्त तामाङको हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । कप्तान दाभ्रोनोभ नुरिद्दिनले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

दोस्रो हाफको ६० औं मिनेटमा अनन्त तामाङले मानुसेर जालिलोभलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि ताजिकिस्तानले दोस्रो पेनाल्टी पायो । पर्भिजोनले पेनाल्टीबाट गोल गर्दै ताजिकिस्तानको अग्रता दोब्बर पारे । खेलको अन्तिम समयमा ताजिकिस्तानले पुन: पेनाल्टी पायो । आदित्य चौधरीले जहिलोभ इस्कन्दरलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा मनुसेर जालिलोभले गोल गर्दै ताजिकिस्तानको जित सुनिश्चित गरे ।

नेपाली टोलीले खेलमा उल्लेख्य आक्रमण गर्न सकेन । पहिलो पटक सुरुआती रोजाइमा परेका जर्ज प्रिन्स कार्की जम्न नसक्दा प्रशिक्षक ग्यातोकु कोजीले उनलाई दोस्रो हाफको सुरुमै परिवर्तन गरे । नयाँ संरचना भएकाले डिफेन्सले पनि बेला–बेलामा गल्ती गरिरहेको थियो । गोलरक्षक किरणले राम्रो प्रदर्शन गरे पनि उनले पेनाल्टीमा कुनै मौका पाएनन् । यस पराजयसँगै बाहिरिए पनि नेपालले छनोटमा अझै दुई खेल खेल्न बाँकी छ । अर्को महिना हुने पाँचौं खेलमा नेपालले फिलिपिन्सलाई निम्त्याउने छ भने अन्तिम खेल दोहामा यमनसँग खेल्नेछ ।

एएफसी एसियन कप

नेपाली टिम : किरण चेम्जोङ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, भरत खवास (कप्तान), विशाल राई, रोहित चन्द, सुजल श्रेष्ठ, अन्जन विष्ट (६९’ विक्रम लामा), विमल घर्तीमगर (७८’ कमल श्रेष्ठ), जर्जप्रिन्स कार्की (५१’ नवयुग श्रेष्ठ) ।

प्रकाशित : आश्विन २५, २०७४ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?