१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सानो मैदानमा ठूलो लक्ष्य

विनोद पाण्डे

हङकङ — मिसन रोडको मोङ कङमा रहेको टिन क्वोङ रोड रिक्रिएसन मैदानमा ३ सय रन पनि सुरक्षित हुँदैन । विगतले यही देखाउँछ । मैदानको आकार सानो भएका कारण ठूलो स्कोर बन्नु यहाँ सामान्यजस्तै छ ।

सानो मैदानमा ठूलो लक्ष्य

पछिल्लोपल्ट विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङले नेदरल्यान्ड्ससँग दुई वटा ५० ओभर खेलको चारै इनिङ्समा ३ सय रन बनाएको थियो । विशेष गरी विकेटको सिधा लम्बाइ सानो भएकाले बाउन्ड्रीहरू बर्सिने गर्दा यहाँ हाइस्कोरिङ म्याच हुने गरेको छ ।

फेब्रुअरीमा सम्पन्न पहिलो खेलमा नेदरल्यान्ड्सले ३ सय ३० रन बनाउँदा जवाफमा आएको हङकङले ३ सय २५ रन बटुल्यो । दोस्रो खेलमा हङकङले ३ सय १५ रनको लक्ष्य पछयाउने क्रममा ३ सय १ रन बनाएको थियो । तर हङकङसँग बलिङले खेल जित्न सकिने नेपालका कप्तान पारस खड्का बताउँछन् । उनले भने, ‘मैदानबारे थाहा भएर हामीले केही योजनाहरू बनाएका थियौं । फास्ट बलर र स्पिनर दुवै उत्तिकै मात्रामा छन् । यही बलिङमा हामी बलियो छौं भन्न मिल्दैन । पिचजस्तो भए पनि आफूले बनाएको योजनाअनुसार खेल्यौं भने चाहेको नतिजा आइहाल्छ ।’

यस मैदानमा सबै खेलमा उच्च स्कोर बन्छ भन्ने पनि छैन । गत वर्षको जनवरीमा हङकङले २ सय ५९ रनमात्र बनाए पनि बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डसँगको खेल १ सय ९ रनले जितेको थियो । वर्षाले बिथोलिएको एक खेल छाड्ने हो भने यहाँ खेलिएका चारमध्ये तीन खेल पहिलो ब्याटिङ गर्नेले जितेको छ ।


बुधबार हङकङ आइपुगेको नेपाली टोली विमानस्थलमा । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर


त्यसैले नेपाली प्रशिक्षक जगत टमाटा पहिला ब्याटिङ गरेर सुरक्षित भएर खेल्ने हो भने खेल जितिन्छ भन्नेमा छन् । ‘विकेट सिधा भागको लम्बाइ निकै सानो छ, एकछेउको अन्तिम विकेटमा खेल्न लागिएकाले एक भागको लम्बाइ लामो र अर्को भाग छोटो छ । त्यही भएर २ सय ८० रनको स्कोर पनि यहाँ सुरक्षित हुन्छ,’ उनले भने । मैदानसँगै खेलमा केन्द्रित हुने पारसको तर्क छ । ‘पिचजस्तो भए पनि आफूले बनाएको योजनाअनुसार खेल्यौं भने चाहेको नतिजा आइहाल्छ,’ उनले भने, ‘पछिल्ला यहाँका म्याचहरू हाई स्कोरिङ छन् । तर कस्तो बलिङ थियो भन्नेमा पनि भरपर्छ ।

मैदान सानो भएकाले सम्भवत: जस्ले राम्रो बलिङ गर्छ उसैले जित्ने सम्भावना रहन्छ । तर क्रिकेट हो, खेल जित्न सबै क्षेत्रमा राम्रो हुनुपर्छ ।’ कप्तान पारसले अगाडि भने, ‘सानो मैदानमा ब्याट्सम्यानलाई अलिकति फाइदा हुन्छ । मिस हिट पनि हुँदा पनि बाउन्ड्री जान सक्छ । सानो मैदान कटाउने सोचमा विकेट जाने सम्भावना पनि उत्तिकै हुन्छ । त्यही भएर मैदानको आधारमा धेरै केन्द्रित नभएर राम्रो क्रिकेट खेल्नुपर्छ ।’

मैदानबारे अनभिज्ञ
१२ वर्षपछि नेपाली राष्ट्रिय टोलीले हङकङमा आएर आधिकारिक स्पर्धा खेल्न लागेको हो । २००५ मा परेश लोहनीको कप्तानीमा नेपाल एसीसी फास्ट ट्रयाक कन्ट्रिज तीनदिवसीय खेल्न हङकङ आएको थियो । तत्कालीन टोलीका पारस र शरदमात्र बाँकी छन् । तर त्यो खेल कावलुन क्रिकेट क्लब मैदानमा भएको थियो ।
हङकङ भ्रमणका अर्का अनुभवी खेलाडी शक्ति गौचन अस्वस्थताका कारण यसपल्ट टोलीमा छैनन् । त्यसैले पारस भन्छन्, ‘अनुभवको हिसाबले हामी हङकङमा नयाँजस्तै छौं । पछिल्लोपल्ट यहाँ आएर खेलेका खेलाडीमा म र शरद (भेषावकर) मात्र छौं । तर हामीसँग अरु अनुभवी खेलाडी छन् ।’

गत वर्ष सन्दीप लामिछानेले हङकङ ब्लिजमा कावलुनबाट खेलेका थिए । ब्लिज पनि कावलुनमै भएको थियो । दुई वर्षअघि भूकम्पपीडितको सहयोगार्थ ब्याट फर नेपाल खेल आयोजना भएको थियो । वर्तमान टोलीका वसन्त रेग्मी र सोमपाल कामीले सिक्सेस त्यो खेल पनि कावलुनमै खेलेका थिए । त्यस अर्थमा नेपाल टोलीका लागि मोङ कोकको यो मैदान एकदमै नयाँ हो । नेपाली टोलीले एउटा बुझेको के हो भने यस मैदानमा हाइस्कोरिङ हुने सम्भावना धेरै छ, त्यसअनुसार आफ्नो ब्याटिङ ढाल्न सक्नुपर्छ ।

‘अन प्रिपेड विकेट’
नेपाल र हङकङको क्रिकेट नजिकबाट बुझेका छन् शेरबहादुर (सुनील) लामाले । उनी विकेट राम्रोसँग तयार नभएका कारण नेपालले निकै सुझबुझका साथ खेल्नुपर्ने बताउँछन् । ‘यो विकेटमा घाँस दुई महिनाअघि हालिएको हो । तर त्यसपछि नियमित जस्तो वर्षा भइरहँदा विकेटको स्याहार राम्रोसँग भएको जस्तो मलाई लाग्दैन,’ हङकङका पूर्व खेलाडी लामाले भने, ‘यस्तो अन प्रिपेड विकेटमा स्पिनरले बल मजाले घुमाउन सक्छन् । हङकङको तुलनामा नेपालका स्पिनर राम्रा छन् त्यही भएर नेपालले त्यसको फाइदा लिन सक्नुपर्छ ।’

‘अन प्रिपेड विकेट’ मान्न कप्तान पारस तयार छैनन् । दुई महिनामा विकेट राम्रो बन्न सक्ने बताउँदै पारस आफ्नो खेलमा केन्द्रित हुनुपर्ने बताउँछन् । प्रशिक्षक टमाटा भने विकेट पूर्ण रूपमा तयार नदेखिएकाले आफूले योजना बनाएको प्लेइङ संरचना नै परिवर्तन गर्न सक्ने पनि बताउँदै स्पिनर थप्ने संकेत गर्छन् । हङकङका प्रमुख स्पिनर नदिम अहमद टोलीमा छैनन् । नेपालबाट सागरसहित ५ स्पिनर छन् । अप्रिलमा केन्यासँगको खेलमा पेटको शल्यक्रिया गरेयता पारसले घरेलु क्रिकेटमा खासै बलिङ गरेका छैनन् । अभ्यास खेलहरूमा पनि पारसले कमैमात्र बलिङ गरेका छन् । पारस नयाँ खेलाडीसँग आफूले अभ्यासमा बलिङ नगरेको बताउँछन् । उनले बलिङ गरेमा नेपाली टिमको प्लेइङ संरचनामै परिवर्तन आउन सक्छ ।

नेपालले फास्ट बलिङमा सोमपाल कामी र करण केसी तथा स्पिनरमा वसन्त रेग्मी र सन्दीप लामिछानेलाई प्रमुख बलरका रूपमा खेलाउने देखिन्छ । पाँचौं बलरको कोटा सागर पुनले सम्हाल्ने छन् । विकेटमा स्पिनरको राम्रो प्रभाव देखिन सक्ने स्थितिमा पारसले बलिङ गरेमा करणको स्थानमा अर्का दुई स्पिनर सुसन भारी र सुशील कँडेलमध्ये एक प्लेइङमा छिर्न सक्छन् । सानो मैदान भएका कारण ठूलो सट प्रहार गर्ने करणले ब्याटिङमै पनि ठूलो भूमिका खेल्ने सम्भावनासँग पनि नेपाली टिम परिचत छ । एउटा के निश्चितजस्तै छ भने नेपालले सात ब्याट्सम्यान लिएर खेल्ने छ ।

‘अर्को विकल्प छैन’
हङकङसँगको खेल लिएर पारसजति उत्साहित छन् त्यति नै सचेत पनि । नेपाल ८ अंकसहित छैटौं र हङकङ ११ अंकसहित पाँचौं स्थानमा छन् । नेपालले हङकङसँगैको दुईसहित यूएईसँगको बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ । एक हारले पनि नेपाल विश्वकप छनोटमा नपर्न सक्छ । च्याम्पियनसिपका शीर्ष चार टोली विश्वकप छनोटमा पुग्ने प्रावधान छ ।

‘हामी महत्त्वपूर्ण स्थितिमा छौं, त्यसलै पनि राम्रो क्रिकेट खेल्नैपर्छ । अर्को कुनै विकल्प छैन । त्यसैअनुसार हामीले मिहिनेत गरेका छौं र त्यहीअनुसार नतिजा आउँछ भन्ने आशा लिएका छौं,’ कप्तान पारसले भने, ‘च्याम्पियनसिपमा हामी यस्तो स्थितिमा आइपुगेका छौं, जहाँ हामीलाई जितबाहेक अर्को विकल्प छैन ।’

प्रकाशित : आश्विन २६, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?