मेसीको जादुमा अर्जेन्टिनाको भाग्य

एएफपी

मोन्टेभिडियो — लियोनल मेसीले उत्कृष्ट प्रदर्शनसहित ह्याट्रिक प्रहार गरेपछि अर्को वर्ष रसियामा हुने विश्वकपमा अर्जेन्टिनाको अनुपस्थिति हुने डर मंगलबार समाप्त भएको छ । खेलको सुरुआती मिनेटमै पछाडि परेको अर्जेन्टिनाले इक्वेडरलाई ३–१ ले हरायो । यसले विश्वकपको अन्तिम चरणका लागि अर्जेन्टिनाले स्वत: प्रवेश पायो । मेसीले ११, १८ र ६२ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए ।

मेसीको जादुमा अर्जेन्टिनाको भाग्य

दक्षिण अमेरिकी विश्वकप छनोटको शीर्ष चार स्थानमा रहने टिमले अन्तिम चरणमा प्रवेश पाउने प्रावधान रहेकोमा अर्जेन्टिना तेस्रो स्थानमा रह्यो । अर्जेन्टिनासँगै छनोटको अन्तिम दिनको खेलपछि उरुग्वे र कोलम्बिया पनि विश्वकपमा सोझै छनोट भए । अंकतालिकामा उरुग्वे दोस्रो तथा कोलम्बिया चौथो स्थानमा थिए ।

उरुग्वेले बोलिभियालाई ४–२ ले हराउँदा कोलम्बिया र पेरुको खेल १–१ को बराबरीमा टुंगियो । पाँचौं स्थानमा रहेको पेरु अन्तरमहादेशीय प्लेअफका लागि छनोट भयो । ब्राजिलसँग ३–० ले पराजित भएसँगै दुईपल्टको कोपा अमेरिका विजेता चिली भने विश्वकप छनोटबाट बाहिरियो । चिली र पेरुको समान अंक २६ भए पनि गोलअन्तरबाट पेरुले प्लेअफका लागि स्थान सुरक्षित गरेको हो । अंकतालिकाको शीर्षस्थानको ब्राजिल यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ । 

उत्कृष्ट मेसी

इक्वेडरविरुद्धको ह्याट्रिक मेसीको करियरको ४४ औं ह्याट्रिक थियो । यस जितसँगै मेसी व्यक्तिगत चौथो विश्वकपमा सहभागी हुँदै छन् । हालसम्म अर्जेन्टिनाबाट कुनै ठूला प्रतियोगिता नजितेका उनले विश्वकपको खडेरी तोड्ने प्रयासमा हुनेछन् । विश्वकप २०१४ को फाइनलमा जर्मनीसँग पराजित भएयता अर्जेन्टिना सन् २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा पराजित भएको छ । उमेरमा अर्को वर्ष ३१ पुग्ने मेसीलाई अर्जेन्टिनाबाट विश्वकप जित्ने सम्भवत: अन्तिम मौका हुनेछ । 

जारी विश्वकप छनोटमा अर्जेन्टिनाका तेस्रो प्रशिक्षक जोर्गे सम्पाओलीले मेसीको खुलेर प्रशंसा गरे । ‘मेसीले अर्जेन्टिनालाई विश्वकप दिलाउने हैन, फुटबलले मेसीलाई विश्वकप दिलाउने हो,’ सम्पाओलीले भने, ‘मेसी इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन् । आजको जित सम्पूर्ण टोलीको जित हो र सबैले राम्रो प्रदर्शन गरे ।’
टोलीलाई विश्वकपमा छनोट नहुने सम्भावनाले धेरै दबाब परेको मेसीले बताए । ‘छनोट नभएको भए त्यो निकै नराम्रो हुन्थ्यो । हामी सबैमा डर थियो, तर हामी कसरी खेल्ने भन्नेमा ढुक्क थियौं । हामीले सुधार गर्नुपर्ने धेरै ठाउँ छन् र दबाब नभएकाले त्यसमा सफल हुनेछौं,’ उनले भने ।

छनोट हुन नसकेका ठूला टोली 
नेदरल्यान्ड्स, वेल्स, चिली, अमेरिका, घाना, चीन, इराक,

 

अहिलेसम्म छनोट भएका २३ टिम 
युरोप – रुस (आयोजक), जर्मनी, बेल्जियम, इङल्यान्ड, स्पेन, फ्रान्स, आइसल्यान्ड, पोल्यान्ड, पोर्चुगल, सर्बिया 
दक्षिण अमेरिका – ब्राजिल, अर्जेन्टिना, कोलम्बिया, उरुग्वे 
अफ्रिका – नाइजेरिया, इजिप्ट 
कन्काकाफ – मेक्सिको, कोस्टारिका, पानामा
एसिया – इरान, जापान, साउदी अरेबिया, दक्षिण कोरिया

युरोपबाट प्लेअफ खेल्नेमा स्विट्जरल्यान्ड, इटाली, डेनमार्क, क्रोएसिया, स्विडेन, उत्तरी आयरल्यान्ड, ग्रिस र गणतान्त्रिक आयरल्यान्ड छन् । प्लेअफ ड्र अर्को साता हुँदै छ । 

अन्तरमहादेशीय प्लेअफअन्तर्गत न्युजिल्यान्डले पेरुसँग र होन्डुरसले अस्ट्रेलियाको सामना गर्नेछन् । अर्को महिना दुई लेगमा हुने खेलको विजेता विश्वकपमा छनोट हुनेछ ।

प्रकाशित : आश्विन २६, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?