कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सिजनको पहिलो प्रतियोगितामै शिवराम च्याम्पियन

घनश्याम गोल्डेन जुब्ली गल्फ
कान्तिपुर संवाददाता

काठमाडौं — शीर्ष वरीयताका प्रो शिवराम श्रेष्ठले कुल १२ अन्डर २ सय ६० स्कोर गर्दै रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा विहीबार घनश्याम प्रोफेसन गोल्डेन जुब्ली गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।

सिजनको पहिलो प्रतियोगितामै शिवराम च्याम्पियन

 

अन्तिमचरणमा ३ ओभर ७१ को फितलो प्रदर्शन गरेपनि शिवरामले दाई जयरामलाई सात स्ट्रोकले पन्छाउँदै घरेलु कोर्समा ट्रफि चुमेका हुन् । सूर्य नेपाल गल्फ टुर २०१७–१८ को पहिलो प्रतियोगितामा शिवरामले सुरुका तीन दिन लगातार ५ अन्डर ६३ को कार्ड बनाएर जितको आधार तय गरेका थिए । उनले आठ स्ट्रोकको अग्रता लिदै अन्तिम दिनको खेल सुरु गर्दै करिअरको ३७ औं उपाधि जितेका हुन् ।

 

मर्मत–संभारपछि आरएनजीसीमा सुरुका तीन चरणमा नेपाली व्यावसायिक गल्फरहरूले राम्रै स्कोर निकालेका थिए । अन्तिम चरणमा भने सञ्जय लामा (६७) र कृष्णमान राजवाहक (६७) ले मात्र स्कोर अन्डरमा राखेका थिए । दुई ओभर ७० खेलेका जयराम समग्रमा ५ अन्डर २ सय ६७ सहित उपविजेता भए ।

 

यो नै उनको नौ वर्षे प्रो–करिअरको सबभन्दा राम्रो नतिजा हो । पहिलो दिन ६१ स्ट्रोक खेल्दै शीर्षस्थानमा रहेका भुवन नगरकोटीले त्यस लयलाई निरन्तरता दिन सकेनन् र चार अन्डर २ सय ६८ मा ७२ होलको प्रतियोगिता टुंग्याउँदै तेस्रो स्थान हात पारे ।

 

सञ्जय (१ अन्डर २ सय ७१) चौथो र दिनेश प्रजापति (इभन पार २ सय ७२) पाँचौं स्थानमा रहे । कुल ५ लाख ५ हजार रुपैयाँ पुरस्कारको प्रतियोगितामा शिवरामले ८५ हजार, जयरामले ५८ हजार, भुवनले ४५ हजार, सञ्जयले ४० हजार र दिनेशले ३५ हजार हात पारे ।

 

एमेच्योरतर्फ पृथ्वी मल्लले ‘काउन्ट–ब्याक’मा मिथुन राईलाई पन्छाउँदै ट्राफि कब्जा गरे । उनीहरूले समान २२ ओभर २ सय ९२ स्कोर गरेका थिए । पछिल्ला नौ होलमा पृथ्वीले ३ अन्डर ३१ र मिथुनले ५ ओभर ४१ खेलेका थिए । सहभागी एकमात्र महिला गल्फर प्रतिमा शेर्पाले ३९ ओभर २ सय ९९ खेलेकी थिइन् ।

प्रकाशित : आश्विन २६, २०७४ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?