शिवराम च्याम्पियन

गोल्डेन जुब्ली गल्फ
कान्तिपुर संवाददाता

काठमाडौं — शीर्ष वरीयताका प्रो शिवराम श्रेष्ठले कुल १२ अन्डर २ सय ६० स्कोर गर्दै रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा बिहीबार घनश्याम थापा प्रोफेसनल गोल्डेन जुब्ली गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।

शिवराम च्याम्पियन

अन्तिम चरणमा ३ ओभर ७१ को फितलो प्रदर्शन गरे पनि शिवरामले दाइ जयरामलाई सात स्ट्रोकले पन्छाउँदै घरेलु कोर्समा ट्रफी चुमेका हुन् । सूर्य नेपाल गल्फ टुर २०१७–१८ को पहिलो प्रतियोगितामा शिवरामले सुरुका तीन दिन लगातार ५ अन्डर ६३ को कार्ड बनाएर जितको आधार तय गरेका थिए । उनले अन्तिम दिन आठ स्ट्रोकको अग्रता लिँदै खेल सुरु गरे । उनको यो करिअरको ३७ औं उपाधि हो ।

मर्मत–सम्भारपछि आरएनजीसीमा सुरुका तीन चरणमा नेपाली व्यावसायिक गल्फरले राम्रै स्कोर निकालेका थिए । अन्तिम चरणमा भने सन्जय लामा (६७) र कृष्णमान राजबहाक (६७) ले मात्र स्कोर अन्डरमा राखे । दुई ओभर ७० खेलेका जयराम समग्रमा ५ अन्डर २ सय ६७ सहित उपविजेता भए ।

यो नै उनको नौ वर्षे प्रो–करिअरको सबैभन्दा राम्रो नतिजा हो । पहिलो दिन ६१ स्ट्रोक खेल्दै शीर्षमा रहेका भुवन नगरकोटीले त्यो लयलाई निरन्तरता दिन सकेनन् । उनले चार अन्डर २ सय ६८ मा ७२ होलको प्रतियोगिता टुंग्याउँदै तेस्रो स्थान हात पारे । सन्जय (१ अन्डर २ सय ७१) चौथो र दिनेश प्रजापति (इभन पार २ सय ७२) पाँचौं स्थानमा रहे । कुल ५ लाख ५ हजार रुपैयाँ पुरस्कारको प्रतियोगितामा शिवरामले ८५ हजार, जयरामले ५८ हजार, भुवनले ४५ हजार, सन्जयले ४० हजार र दिनेशले ३५ हजार हात पारे ।

एमेच्योरतर्फ पृथ्वी मल्लले काउन्ट ब्याकमा मिथुन राईलाई पन्छाउँदै ट्रफी जिते । प्रतिमा राई एकमात्र महिला गल्फरका रूपमा प्रतिस्पर्धी थिइन् ।

प्रकाशित : आश्विन २७, २०७४ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?