कस्तो होला खेलाडीको तिहार ?

सुवास हुमागाईं

काठमाडौं — अघिल्लो वर्ष सबै नेपाली लक्ष्मी पूजामा व्यस्त हुँदा राष्ट्रिय फुटबल टोली भने विमानस्थलमा मलेसिया प्रस्थान गर्ने तयारीमा थियो । एएफसी सोलिडारिटी कपमा सहभागी हुन नेपाली टोली त्यसतर्फ लागेको थियो । चाडबाडको मुखैमा बिदेसिनुपर्दा खेलाडीको मुहारमा केही नैराश्यता प्रस्ट देखिन्थ्यो ।

टोली मलेसिया पुगेको भोलिपल्ट भाइटीका थियो । मलेसिया पुगेका ३२ सदस्यीय नेपाली टोलीको निधार खाली नहोस् भनेर टोलीका गोलरक्षक विशाल श्रेष्ठकी दिदी विद्याले नेपाल जानुअघि योजना बनाइसकेकी रहिछन् । टोली नेपालमा छँदै उनले उपकप्तान विराज महर्जनको हातमा टीका सामग्रीसँगै कोसेली पनि मलेसिया नै पठाइन्, यो कुरा विशाललाई भने पत्तो थिएन । टीकाको दिन टोलीका सम्पूर्ण सदस्य नियमित कार्यतालिकाअनुसार ब्रेकफास्टमा सरिक हुन पुगे । त्यस समय विशालको टेबलमा कोसेलीको पोको राखिएको थियो । विशाल त्यो देखेर अन्योलमा परे । जब विराजले उनलाई दिदीले नेपालदेखि भाइटीकाको कोसेली पठाएको खुलासा गरे, विशाल भावुक भए ।

यसपटक विशाल नेपालमै छन् र दिदी विद्या सपरिवार तिहार मनाउने सुरमा छन् ।

तेक्वान्दोकी दिग्गज संगीना वैद्य पनि तिहारको पर्खाइमा छिन् । अन्य चाडभन्दा संगीनालाई तिहारको व्यग्र प्रतीक्षा रहने गर्छ । संगीनाको परिवारमा एक भाइ र उनीसमेत सात दिदी–बहिनी छन् । भाइटीका उनको परिवारमा यस्तो अवसर हो जहाँ परिवारका सबै एकै स्थानमा भेला हुन्छन् ।

सक्रिय खेल जीवनका क्रममा उनले कतिपटक तिहार मनाउनै पाइनन् । ‘खेलाडी भएको बेलामा विदेशमा खेल्न जाँदा तिहार मनाउन नपाउँदा निकै नरमाइलो लाग्थ्यो । तर अहिले सबै सँगै रहेर तिहार मनाउँछौं,’ उनले भनिन् । खेल जीवनबाट संन्यास लिए पनि संगीना हाल तेक्वान्दो प्रशिक्षकका छिन् ।

गत वर्ष रियो ओलम्पिकमा उनी तेक्वान्दो खेलाडी निशा रावलकी प्रशिक्षक थिइन् । दिदी–बहिनीमध्येकी पाँचौं उनले भाइलाई के कोसेली दिने भन्ने अझै टुंगो लगाएकी छैनन् ।त्रिशूलीमा घर भएर विगतमा त्यहाँ टीका लगाउने गरेको उनको परिवार अहिले काठमाडौंमा छ । यसपटक काठमाडौंमा तिहार मनाउने उनले उपत्यकाका विभिन्न मठ–मन्दिर जाने बताइन् । ’सबै सँगै हुने कारण यतै नजिक घुम्न जाने योजना छ । यसरी आफ्नो मान्छेसँगै रमाइलो गर्दा जतिको मजा सायदै अरू होला । परिवारमा सबै एकै ठाउँमा जम्मा हुँदा छुट्टै उल्लास हुन्छ,’ उनले भनिन् ।

प्रकाशित : कार्तिक ४, २०७४ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्

प्रवासमा सेलरोटी र देउसी

होम कार्की

काठमाडौं — जब तिहार नजिक आइपुग्छ, इलामकी रेणु कार्कीले प्रवासमा बिताइसकेका वर्ष गन्न थाल्छिन् । लेवनानबाट वैदेशिक रोजगारी थालेकी रेणुले जोर्डन हुँदै कतार पुगेपछि पाइला रोकेकी थिइन् । कतार उनलाई आफ्नै गाउँठाउँजस्तो लाग्छ ।

‘यहाँ दाजुभाइ मात्रै होइन त्यत्तिकै दिदीबहिनी पनि भेट्छु,’ उनी भन्छिन्, ‘तिहार आउँदा मलाई देश फिर्न नपाउँदा पनि त्यति पीर लाग्दैन ।’ बितेको १३ वर्षयता दाजुभाइको टीका रंगाउन पाएकी छैनन् । ‘दुई दाजु हुनुहुन्छ । हरेक वर्ष मेरो बाटो हेरेर बस्नुहुन्छ, म निष्ठुरीझंै यता अल्झेर बसेको छु,’ उनले भने, ‘दाजुभाइलाई टीका लगाउन नपाए पनि आफूलाई ख्याल गर्ने दाइहरू कतारमै हुनुहुन्छ । उहाँहरूलाई तिहारको भाग दिन्छु ।’

कतारमा दसैंभन्दा तिहार बढी रौनक लिएर आँउँछ । तिहार बढी मनाउनेमा नेपाली र भारतीय कामदार हुन्छन् । लक्ष्मी पूजाको दिन रातभरि सनैयामा दियो बल्छ । सनैया ५२ नम्बरमा रहेका क्याम्पमा बस्ने मोहत्तरीका उमेश खड्का भन्छन्, ‘यसपालि पनि विगतजस्तै क्याम्पका सबै कामदार एक हुन्छौं । सबैको कोठाको ढोकामा दियो बाल्छौं । झिलिमिली बत्ती ढोकामाथि झुन्डाउँछौं । क्याम्पको बीचमा लक्ष्मी पूजाको मन्दिर बनाउँछौं । पूजा गर्छौं । साथीहरूले मादल पनि लिएर आएका छन् । मादलुको तालमा यसपालि देउसी खेल्छांै ।’ उनले यसपालि प्रसादका रूपमा वुनियाँ, पुरी, आलु तरकारी र जेरी खुवाउने योजना बनाएका छन् । 
सनैया ४७ नम्बरमा बस्ने ईश्वर शर्माले क्याम्पको कोठाकोठामा गएर देउसी खेल्ने समूह बनाइसकेका छन् । ‘गाउँघरमा गए साथीहरू भेटिन्न । गाउँ नै यतौ छ भन्दा पनि हुन्छ । गाउँमा त घर मात्रै छ,’ शर्माले भने, ‘देउसी भटयाउने वातावरण हाम्रो कम्पनीमा छ । हामीलाई कसैले रोक्नेवाला छैन ।’ 

पोखराका रेशम बस्नेतलाई लक्ष्मी पूजाको दिन सनैया घुम्दा गाउँमा पुगेको जस्तो अनुभव हुन्छ । ‘हाम्रो क्याम्पमा बढी तराईका दाजुभाइ बस्छन् । हामीभन्दा उनीहरू तिहार अझै रमाइलो गर्दारहेछन् । भव्य रूपमा मनाउन उनीहरूले आफू आफूमा रकम पनि संकलन गरिसके । क्याम्प व्यवस्थापनले पनि अनुमति दिइसकेको छ,’ उनले भने, ‘विगतका वर्षमा यस्तो थिएन । अहिले आफ्नो चाडपर्व मनाउन पूर्ण रूपमा खुला छ भन्दा पनि हुन्छ । रोकतोक गर्न कोही आउँदैन । पहिला पहिला त अरबी देश भनेर दसैं, तिहार पनि लुकेर मनाउने गर्दथ्यौं । अहिले डराउने कोही छैन ।’

महिला क्याम्पमा बढी सेलरोटी पाक्छ । नुवाकोटकी ममता लामाले रातभरि पालो पर्खेर सेलरोटी पकाएको याद यसपालि पनि झलझली आइरहेको छ । ‘चुलो कम हुन्छ । पकाउने धेरै हुन्छन् । एउटालाई पकाउन दुई घण्टा लाग्छ । गाउँका जो दाजुभाइ आएको छ । परदेशमा सबै आफ्नै लाग्ने । केही नभए पनि २५/३० जना हुन्छन्,’ उनले भने, ‘यसपालि पनि सबैलाई टीका लगाउने योजना छ ।’ 

टीका लगाउने ठाउँ हुन्छ, कर्निस । कोठामा लगाउने अवस्था हुँदैन । सबैभन्दा सजिलो पार्क र समुद्रको छेउमा हुन्छ । ‘यो दिन कतारमा काम गर्ने सकभर सबै दिदीबहिनी बाहिर निस्कने दिन पनि हो,’ उनी भन्छिन्, ‘दिदीबहिनीहरू कोसेली लिएर दाजुभाइलाई पार्कपार्कमा पर्खिरहेको दृश्य देख्दा माइतीमै पुगेको जस्तो लाग्छ ।’ कति त पेप्सी र कोकको बोतलमा ‘सगुन’ मिसाएर खुवाउनेहरू पनि भेटिन्छन् । ‘यहाँ फूलको माला पाइन्न । एकजना दाइ नेपालबाट आउने खबर पाएकी थिएँ । सयपत्री फूल देखिने नक्कली माला ल्याइदिनु भनेर मगाएकी छु,’ रिना थापाले भनिन्, ‘सप्तरंगी टीका त आइसकेको छ ।’

प्रवासमा थुप्रै राजनीतिक र जिल्लागत संस्था सक्रिय छन् । यी संगठन स्थापित व्यवसायी, विभिन्न पेसामा कार्यरत नेपालीको कोठाकोठामा पुगेर देउसी भैलो खेल्छन् । त्यसका लागि रिहर्सल गरिसकेका छन् । ‘कस्तो गीत र देउसी गाउने भनेर हामी आन्तरिक तयारीमा जुटेका छौं,’ रेणुका कार्कीले भनिन् । यस्ता देउसी भैलो लक्ष्मीपूजादेखि भाइटीकाको रातसम्म चल्छ ।

‘वर्षमा १५/२० टोली देउसी खेल्ने आइपुग्छन्,’ दोहामा नेपाली समुदायमा चिनिएका सागर नेपाल भन्छन्, ‘अझ समय जुधेर धेरै टोली आउन पाउँदैन । समूहसमूह बनाएर आउँदा चितवनकै घरमा छु जस्तो लाग्छ ।’ उनलाई यसले विदेशको बसाइले एकहदसम्म मलम लगाउन सहयोग पुगेको ठान्छन् । ‘मेरा बच्चा यतै हुर्किए । कमसेकम उनीहरू देउसीभैलो खेल्न नगए पनि यहाँ आउँदा त सिक्छन्,’ उनले भने, ‘प्रवासमा बस्यो भन्दैमा चाडपर्व आएका बेला पिर मनाएर भएन । परिस्थितिअनुसार मनाउनै पर्‍यो । फरक यति होला हामीले विधि पूरा नगरौंला । तर, आफ्नोपनलाई बिर्सेका भने छैनौं ।’

प्रकाशित : कार्तिक ४, २०७४ ०९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्