नेपालको तेस्रो हार
काठमाडौं — नेपाली युथ महिला बास्केटबल टोलीले भारतमा जारी फिबा यू–१६ महिला एसियन च्याम्पियनसिपमा तेस्रो हार बेहोरेको छ ।
बंगलुरुमा मंगलबार नेपाल समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग पराजित भएको हो । पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रेको नेपाली युथ टोली श्रीलंकासँग ६८–४८ स्कोरले पराजित भयो । नेपालबाट प्रतिक्षा मगरले २० र रोशनी श्रेष्ठले १४ स्कोर गरेका थिए । अघिल्लो दिन इरानसँग ८९–३२ स्कोरले पराजित नेपालले आयोजक भारतसँगको खेल १०६–३७ ले गुमाएको थियो ।
यस च्याम्पियनसिपको डिभिजन बी मा नेपालसहित सात टिमले प्रतिस्पर्धा गरिरहेका छन् । अन्य टोली भारत, श्रीलंका, माल्दिभ्स, इरान, काजकिस्तान र मलेसिया छन् । यी टोलीले दुई समूहमा रहेका प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल समूह ‘बी’ छ । समूह चरणको प्रदर्शनबाट प्राप्त वरीयताका आधारमा दुवै समूहका टोलीले क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
डिभिजन बी मा च्याम्पियन हुने टोली सन् २०१९ मा हुने च्याम्पियनसिपका लागि डिभिजन ‘ए’ मा स्वत: छानिने छ ।
प्रकाशित : कार्तिक ८, २०७४ ०८:२९