कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वकै धनाढय बने अमेजोनका मालिक बेजोस

दिनेश यादव

काठमाडौं — अमेरिकी ई–कमर्स कम्पनी अमेजोनका संस्थापक तथा प्रमुख कार्यकारी प्रमुख (सीईओ) जेफ बेजोस विश्वकै सर्वाधिक धनाढय बनेका छन् । उनले आफ्नो कुल सम्पत्तिका साथ माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलाई पछाडि छाडेका छन् ।

विश्वकै धनाढय बने अमेजोनका मालिक बेजोस

अमेरिकी अखबार ‘फोब्र्स’ का अनुसार अमेजोनको सेयरमा दुई प्रतिशतभन्दा बढीले वृद्धि भई बेजोसको कुल सम्पत्ति ९३ करोड डलरले माथि उक्लिएको छ । यो रकमसँगै उनी विश्वकै नं. १ अर्बपति बनेका हुन् । हाल उनको सम्पत्ति बढेर ९३ दशमलव १ अर्ब अमेरिकी डलर पुगेको छ । अर्बपति बिल गेट्सको सम्पत्ति ८९ दशमलव ९ अर्ब डलरभन्दा यो रकम केही मात्र बढी हो । हालै उनले अमेरिकामा सबैभन्दा महँगो ग्रोसरी चेन ‘होल फुड्स’ खरिद गरेका थिए । यसले पनि बेजोसको सम्पत्ति बढाउन सहयोग गरेको हो । ग्रोसरीबाट उनले एकैपटकमा दुई अर्ब अमेरिकी डलर कमाएका थिए । 

 बिल गेट्सलाई बेजोसले सम्पत्तिमा पछाडि पारेको यो पहिलोपटक भने होइन । यसअघि जुलाईमा पनि उनले गेट्सलाई उछिन्नेका थिए । तर, त्यसताका उनी केही घण्टामै गेट्सभन्दा तल परेका थिए । २७ जुलाईमा अमेजोनको सेयर माथि उक्लिएसँगै बेजोसको सम्पत्ति ९३ दशमलव १ अर्ब डलर पुगेको हो । छ महिनाअघि अमानसियो ओर्टेगा र वारेन बफेटलाई पनि पछाडि पार्दै दोस्रो ठूलो धनाढय बनेका थिए । बेजोसले यसै वर्ष आफ्नो सम्पत्तिमा १० दशमलव २ अर्ब डलर जोडेका छन् । उनी पहिलोपटक सन् १९९८ मा फोब्र्सको चार सय धनाढयमा समावेश भएका थिए । बिल गेट्सले अर्बपतिहरूलाई आफ्नो सम्पत्तिबाट कम्तीमा आधा दान गर्न प्रोत्साहित गराउने उद्देश्यले वारेन बफेटसँग मिलेर च्यारिटी इन्स्टिटयुसन गिभिङ प्लेजको स्थापना गरेका छन् । सन् २०१६ मा गेट्ले यसमा ३१ दशमलव १ अर्ब डलर दान गरेका थिए । फोब्र्सका अनुसार गिभिङ प्लेजमा हस्ताक्षर नगर्ने बेजोसले सन् २०१५ को अन्त्यसम्ममा यसमा करिब सय मिलियन डलर दान गरेका थिए । 

आफैंले खोलेको कम्पनी अमेजोनबाट उनी लखपति हुँदै अर्बपति र अहिले विश्वकै सर्वाधिक धनाढय बनेका छन् । हाल बेजोस अमेरिकी प्रविधि क्षेत्रका चर्चित उद्यमी र लगानीकर्ताका रूपमा पनि चिन्छिन् । ई–कमर्सको विकासमा उनको अतुलनीय योगदान रहेको छ । उनको बाल्यकाल त्यति राम्रो रहेन । बेजोसको जन्म एउटी किशोरी आमाबाट भएको हो । आमा ज्याकी (१६ वर्ष) सँगै पढ्ने साथी टेड (१८ वर्ष) सँग प्रेममा बाँधिएर गर्भवती भएकी थिइन् । तिनकै नासोका रूपमा बेजोसको जन्म भएको हो । टेडले धेरै रक्सी खाने गरेकाले दिक्क भई ज्याकीले उनीसँग अलग्गिने निर्णय गरेकी थिइन् । बेजोस ४ वर्ष टेकेकै बेला ज्याकीले क्युबाबाट बसाइ सराइ गरी आएका मिगल बेजोससँग अर्को विवाह गरिन् तर जेफलाई आफैंसँग राखिन् । पछि उनलाई हजुरबुबाको ठूलो फर्ममा लगियो । त्यहीँ उनले आफ्नै हातले काम गर्न सिकेका थिए । ५ वर्ष उमेरमा बेजोसले एमोलो ११ चन्द्रमामा अवतरण गरेको देखेका थिए । त्यसपछि उनी अन्तरिक्ष यात्री बन्ने निर्णयमा पुगेका थिए । आठ वर्षका हुँदा उनी किताबको किरा भइसकेका थिए । उनको यो बानीबाट अभिभावक चिन्तित थिए । यो बानीलाई सुधार्न अभिभावकले उनलाई फुटबल खेलमा रुचि बढाउने प्रयास गरेका थिए । १० वर्ष टेक्दा मिगल आफ्नो जन्म दिने बुबा नभएको थाहा पाएपछि उनी अत्यन्तै चिन्तित भएका थिए । पछि त्यो तनावलाई उनले आफंै व्यवस्थापन गरे । कलेज उमेरमा पुग्दा उनी भौतिकशास्त्र पढ्न चाहन्थे तर पछि उनले त्यो सोच त्याग्दै प्रिन्स्टोन विश्वविद्यालयबाट कम्प्युटर विज्ञान र इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरे । अहिले त्यही जेफ बेजोस विश्वकै सर्वाधिक धनाढय बनेका छन् ।

सधैं हँसिलो मिजाजका उनी एकैपटक तीनवटा कम्पनीको जिम्मेवारी सजिलै सम्हाल्दै आएका छन् । ५३ वर्षका भइसक्दा पनि उनको जोस र जाँगरमा कुनै कमी आएको छैन । बेजोसको जन्म १२ जनवरी १९६४ मा अमेरिकास्थित न्युमेक्सिकोको अल्ब्युक्विर्कमा भएको हो । सुरुमा कम्प्युटरमा उनको बढी लगाव थियो । त्यही भएर यसलाई उच्च शिक्षाका लागि रोजेका हुन् । स्नातक सकेपछि उनले वाल स्ट्रिटमा काम गरेका थिए । सन् १९९० ताका उनी विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनी ‘डीई सा’ का सबैभन्दा कम उमेरका वरिष्ठ उपाध्यक्ष बनाइएका थिए । त्यसको ४ वर्षपछि उनले त्यो आकर्षक नोकरी छाडेर अमेजोन डट कम खोले । एउटा वास्तविक बुक स्टोरका रूपमा यसलाई विकसित गरे । यो अनलाइन बुक स्टोर इन्टरनेट बजारमा सफल रहयो । 

सानैदेखि उनी बढी जिज्ञासु स्वभावका थिए । किशोर अवस्थामा पुग्दा आफ्ना परिवारका सदस्यहरूका साथ अमेरिकाको मियामी पुग्दा त्यहाँ उनले ‘लभ फर कम्प्युटर’ विकास गरेका थिए । हाई स्कुलमा पढदै गर्दा चार, पाँच र छ कक्षाका विद्यार्थीहरूका लागि ‘द ड्रिम इन्स्टिच्युट’ मार्फत शैक्षिक ग्रीष्मकालीन शिविर सुरु गरेका थिए । यो नै उनको पहिलो व्यापार थियो । स्नातक सकेलगत्तै वाल स्ट्रिट, फिटेल, ब्याङर्स ट्रस्ट र लगानी गर्ने बोर्ड ‘डीई सा’ लगायतका कम्पनीबाट उनलाई काम गर्ने प्रस्ताव आएको थियो । तर, उनले कामका लागि वालस्ट्रिट रोजेका थिए । पछि अन्य कम्पनीमा पनि काम गरे । त्यहाँ कमाएको रकमले उनी आफ्नै कम्पनी खोलेका हुन् । सुरुमा किताबहरूको व्यापार गर्न खोलेको अनलाइन कम्पनीले पछि विभिन्न सेवा र उत्पादनहरू सुरु गर्‍यो । पछि नयाँ भिडियोहरूको व्यापारसमेत सुरु गरे । अमेजोन डट कम ‘वल्र्डवाइड वेब’ मा संसारको सबैभन्दा ठूलो फुटकर व्यापार गर्ने र इन्टरनेट बिक्री गर्ने हाल एउटा मोडल नै बनेको छ । 

बेजोसका अन्य व्यापारहरूमा एयरोस्पेस र समाचारपत्रहरू पनि हो । उनले निजी लगानीमा एयरोस्पेस विकास गर्ने कम्पनी खोले । सन् २०१३ मा उनले २५० मिलियनमा ‘द वासिङगटन पोस्ट’ खरिद गरेका थिए । वाल स्ट्रिट जर्नलसँगको एक साक्षात्कारमा उनले सुत्नुको महत्त्वबारे बेलीविस्तार लगाउँदै भनेका थिए, ‘अधिकांश सीईओहरू राति करिब चार घण्टा मात्रै सुत्ने गरेको मैले सुनेको छु । म भने ८ घण्टासम्म सुत्छु । किनभने निद्राले तनाव र बढी काम गराइलाई काउन्टर दिन्छ ।’ जेफ बेजोस आफ्नो कार्यालय जाँदा स्लिपिङ ब्याग लिएरै जाने गर्छन् । निद्राबाट ब्युँझिनका लागि उनी कहिल्यै पनि अलार्म प्रयोग गर्दैनन् । 
(एजेन्सीहरू) 

प्रकाशित : कार्तिक १३, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?