१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

राम्रो सुरुआतको आस

सुबास हुमागार्इं

क्वालालम्पुर — नेपाल र बंगलादेश एसीसी यू–१९ एसिया कपमा शनिबार आफ्नो पहिलो खेल खेल्दै छन् । दुवै टोलीले राम्रोसँग बुझेका छन् यो ‘गर वा मर’ को खेल हो । किनभने जित्ने टोली सेमिफाइनलतर्फ अग्रसर हुन्छ र हार्ने बाहिरिन सक्छ ।

राम्रो सुरुआतको आस

यस समूहमा भारत र मलेसिया पनि छन् । शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् । अघिल्लो सातामात्र नेपालले बंगलादेशमा ३ खेलको शृंखला खेलेर आएको थियो । अन्तिम खेल जितेकाले नेपालको हौसला बढेको छ । बंगलादेशमाथि हारपछि दबाब बढेको छ । प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा नेपालको यात्रा सधैं समूह चरणसम्म मात्र रहँदै आएको छ । यस्तो अवस्थामा नेपालले अर्को चरणमा पुग्ने सम्भावना राख्न सुरुआत राम्रो गर्नुपर्ने हुन्छ ।

प्रशिक्षक विनोद दास राम्रो सुरुआत गर्ने लक्ष्यसाथ मैदान उत्रने बताउँछन् । ‘पहिलो खेल एकदम महत्त्वपूर्ण छ । हामीले आफ्नो क्षमता देखाउने राम्रो अवसरका रूपमा यो खेललाई लिएका छौं । राम्रो सुरुआत लिएको खण्डमा मात्र हामीले राम्रो नतिजा अपेक्षा राख्न सक्छौं,’ उनले शुक्रबार कान्तिपुरसँग भने । बंगलादेशसँग शृंखलामा अन्तिम खेलमा जित हात पारे पनि प्रशिक्षक दास त्यसले फरक नपर्ने बुझाइ राख्छन् । ‘हामीले पछिल्लो खेल जितेको आधारमा यहाँ पनि सजिलो हुन्छ भन्ने सोच गलत हो । हामीले आफ्नो योजना ठिक ढंगबाट कार्यान्वयन गर्न सफल भयौं भने हामी बलियो चुनौती पेस गर्ने स्थानमा हुनेछौं,’ उनले भने ।

मलेसियाको अहिलेको मौसम निकै अप्रत्यासित रहँदै आएको छ । गर्मी मौसम भए पनि पानी परिरहेका कारण टोलीमा केही अस्वस्थताका समस्या देखिएको छ । ‘हामी दुई दिनअघि यहाँ आए पनि मौसमसँग घुलमिल हुन निकै कठिन छ । हाम्रा केही खेलाडीलाई सामान्य रुघाखोकी लागेको छ । हामी यसबारे सचेत छौं र सम्बन्धित पक्षले सक्दो प्रयास गरेको छ । अहिलेको अवस्थामा केही कठिन छैन त्यसैले अब सुधारतर्फ लाग्ने आशा छ,’ प्रशिक्षक दासले भने ।

पहिलो दिनको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ५७ रनमा अलआउट गर्दै ७ विकेटको सहज जित हात पार्‍यो । प्रशिक्षक दास यसलाई लिएर अचम्मित थिएनन् । ‘हामीले यो खेलमा पाकिस्तानलाई कठिन हुने आँकलन गरेका थियौं तर यस्तो सहज जित होला जस्तो लागेको थिएन । अफगानिस्तानको जित उनीहरूले गरेको मिहिनेतको प्रतिफल हो,’ उनले भने, ‘हाम्रो घरेलु क्रिकेट लगातार ओरालो लाग्दा उनीहरूको स्तर उकासिँदै गएको छ । अबको हाम्रो प्रयास फेरि क्रिकेटलाई विकासको दिशामा अगाडि बढाउने हो । अफगानिस्तानबाट हामीले धेरै कुरा सिक्न सक्छौं ।’

भारतको सहज जित
प्रतियोगिताअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा भारतले मलेसियालाई २ सय २ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । टस जितेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय १० रन जोड्यो । ओपनर एवं कप्तान हिमांशु रानाले भारतका लागि १ सय ७ रनको योगदान दिए । जवाफमा मलेसिया ३७.१ ओभरमा १ सय ८ रनमै अलआउट भयो । कप्तान सर्वाधिक वीरनदीप सिंहले ५२ रन जोडे ।

यस्तै समूह ‘बी’ को खेलमा मुजिब उर रहमानको ६ विकेट मदतले अफगानिस्तानले पाकिस्तानमाथि ७ विकेटको जित दर्ता गर्‍यो । टस जितेर पहिलो फिल्डिङ रोजेको अफगानिस्तानले पाकिस्तानलाई २० ओभरमा ५७ रनको स्थितिमा अलआउट गर्‍यो । अफगानिस्तानले ९.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्‍यो । अर्को खेलमा श्रीलंकाले यूएईलाई ७ विकेटले नै हरायो । पहिलो ब्याटिङ गरेको यूएई २२ ओभर खेल्दै ६६ रनमा अलआउट भयो । श्रीलंकाका राश्मिका दिलशानले ४ विकेट लिए । श्रीलंकाले ३ विकेट गुमाई १६ ओभरमा लक्ष्य प्राप्त गर्‍यो ।

‘ब्याटिङमा क्रमिक सुधार’

नेपाल यू–१९ राष्ट्रिय क्रिकेट टोलीलाई ब्याटिङ कन्सल्टेन्टका रूपमा गत अगस्ट महिनाबाट भारतका मोन्टी देशाईको साथ छ । भारतका विभिन्न क्लब एवं क्षेत्रको क्रिकेटमा धेरै भूमिकामा देखिएका देशाईलाई एसीसीले कन्सल्टेन्टमा खटाएको हो । उनको आगमनसँगै नेपालले एसीसीको इस्टर्न रिजनको उपाधि जित्यो । त्यसै प्रतियोगिताको नतिजाले नेपाल हाल मलेसियामा जारी एसिया कप क्रिकेटलाई छनोट भएको हो ।

विश्वकप छनोटमा निकै खराब ब्याटिङ प्रदर्शन गरेसँगै देशाईले नेपाल आए यता खेलाडीको खेल्ने शैली नभएर खेलप्रतिको दृष्टिकोण परिवर्तन गर्न सफल रहेको बताए । ‘पहिले पनि नेपालको ब्याटिङ गर्ने शैलीमा समस्या थिएन । अगाडिको चुनौती कसरी हेरिन्छ त्यो भने अलि फरक थियो । आफूले चाहेजस्तो नतिजा नआएपछि ब्याटिङ गर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ, जुन पहिला थिएन । अहिले खेलाडीहरू त्यसमा सक्षम छन् र नतिजा विस्तारै आउँदैछ,’ उनले सुधारबारे सुनाए ।

पछिल्लो प्रतियोगिताको तुलनामा नेपालले एसिया कपमा बलिया प्रतिद्वन्द्वी सामना गर्दै छ । देशाई यसपालि टोलीले पछिल्लोपल्ट भन्दा राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्छन् । ‘पछिल्ला प्रतियोगितामा हाम्रो ब्याटिङमा केही कमजोरी थिए । त्यो समर्थक, मिडिया र प्रशिक्षकलाई थाहा छ, खेलाडीलाई झनै बढी । अबको दिनमा भने खेलाडीलाई उक्त गल्तीलाई दोहोर्‍याउने छैनन् जसले गर्दा ब्याटिङ झन् सुदृढ हुँदै जान्छ,’ उनले थपे, ‘बंगलादेशविरुद्ध दोस्रो र तेस्रो अभ्यास खेलको भिन्नताले नतिजा प्रस्ट पार्छ । ती दुई खेलमा खेलाडीले आफ्नो प्रदर्शनमा के कस्ता कमजोरी भेटे, त्यसलाई तेस्रो खेलमा सुधारे ।’

टोलीको बेन्च स्ट्रेन्थ पनि बढ्दै गएकाले टोलीलाई फाइदा पुग्ने उनको बुझाइ छ । ‘हामीले बेन्चमा रहेका खेलाडीको पनि स्तर उकास्ने प्रयास गरेका छौं । जसका कारण सुरुआती रोजाइमा खेल्ने खेलाडीले प्रदर्शन गर्नैपर्ने अवस्था हुन्छ । यसले टोलीको मनोबल उच्च राख्छ नै । नतिजा राम्रो आउने प्रबल सम्भावना हुन्छ । हामीसँग अहिले बेन्चमा राम्रा ब्याट्सम्यान छन् जसले गर्दा टोलीको छनोटमा चुनौती छ, जुन राम्रो हो,’ उनले थपे । देशाईले यस प्रतियोगितामा स्तरअनुसारको प्रदर्शन गरे सफल हुने आशा राखेका छन् ।

प्रशिक्षक दास पनि देशाईको आगमनसँगै टोलीको ब्याटिङमा परिवर्तन आएको स्वीकार्छन् । ‘उनले सिकाउने पद्दति र शैली निकै पृथक छ । खेलाडीले ब्याटिङ गर्ने शैलीसँगै खेलप्रतिको दृष्टिकोणमा पनि परिवर्तन छ । ब्याट्सम्यानहरू निर्धक्क खेल्न सकिरहेका छन्,’ उनले थपे, ‘खेलमा रन बन्ने नबन्ने लामो प्रक्रियाको कुरा हो । आजकै भोलि ब्याटिङमा सुधार ल्याउन सकिन्न । अहिले हामी राम्रो पथमा अगाडि बढेका छौं र सुधार पनि देखिएको छ । यसैलाई निरन्तरता दिएर नतिजा आत्मसात गर्ने लक्ष्य छ ।’

प्रकाशित : कार्तिक २५, २०७४ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?