अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिँदै अनिल गुरुङ

राजु घिसिङ

काठमाडौं — ओमानी गोलकिपर अली अल–हब्सीले जर्मन महारथी बायर्न म्युनिखविरुद्ध यूईएफए कप (सन् २००७–०८) मा उत्कृष्ट प्रदर्शन गरेपछि खेल बराबरीमा टुंग्याएका थिए । त्यसबेला इंग्लिस प्रिमियर लिग क्लब बोल्टन वन्डर्समा रहेका सम्हालेका अल–हब्सी ओमानका पनि मुख्य गोलकिपर थिए । नेपाली फरवार्ड अनिल गुरुङले १० वर्षअघि यिनै गोलकिपरविरुद्ध पहिलो रोजाइमा खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए ।

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिँदै अनिल गुरुङ

नेपाली राष्ट्रिय टिम र ओमानको खेल थियो, २०१० विश्वकप छनोट । एसियाली छनोटको पहिलो चरणको पहिलो लेग मस्कटमा थियो र त्यसमा अल–हब्सीको टिम ओमानले २–० को जित निकाल्यो । नेपालको तुलनामा निकै माथिल्लो स्तरको टिमविरुद्ध अनिलले तहल्का त मच्चाउन सकेनन् तर त्यहींबाट सुरु अन्तर्राष्ट्रिय फुटबलको करिअरमा भने उनी ‘बिट’ मार्ने स्थितिमा आइपुगेका छन् ।

एसियन कप २०१९ को छनोटमा मंगलबार नेपाल र फिलिपिन्स सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्दै छन् । र, यसैलाई उनले बुट थन्क्याउने उपयुक्त अवसरका रूपमा लिएका छन् । ‘संयासबारे पहिले पनि सोचेको थिएँ तर पछिल्लो समयमा खेल (लिग) नभएपछि घरेलु मैदानमा औपचारिक अन्तर्राष्ट्रिय खेल भइरहेको छैन । यो नै संन्यास लिनलाई मेरो लागि सबभन्दा राम्रो हुन्छ भन्ने लाग्यो,’ अनिलले भने ।

उनी गत वर्ष त्रिवेन्द्रममा भएको साफ च्याम्पियनसिपमा राष्ट्रिय टिमका कप्तान बनेका थिए । पहिलो रोजाइमा निरन्तर नरहे पनि उनले नै त्यसयताका अधिकांश प्रतियोगितामा नेपाली टिमको नेतृत्व गरिरहेका छन् । प्रशिक्षक ग्योतोकु कोजीले मंगलबार एन्फा कम्प्लेक्समा मैदानमा उतारेमा उनको ५० क्यापको कोसेढुंगा पनि पूरा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी र परिवारसँग सल्लाह गरेरै आफूले संन्यास लिने निर्णय गरेको उनले बताए । 

‘एन्फा नेतृत्वसँग पनि कुरा भइसक्यो । त्यसैले फिलिपिन्सविरुद्ध अन्त्यतिर मैदानमा प्रवेश गरेर भए पनि ५० क्याप पूरा गर्न पाउने सोचेको छु । म योभन्दा बढी खेल्ने खेलाडी हो तर समयले गर्दा यति नै हुने भयो,’ यमनसँगको खेलअघि जापानमा ट्रेनिङ गरेर फर्कंदा नै संन्यास लिने तयारी गरेको उल्लेख गर्दै उनले भने, ‘पहिलो प्रयासमा यू–१६ को क्याम्पसम्म पुगेको थिएँ । त्यसपछि यू–१९ र यू–२३ टिमबाट खेल्दै राष्ट्रिय टिममा पुगेको थिएँ । यसरी हेर्दा १२–१३ वर्ष अन्तर्राष्ट्रिय फुटबल खेलेछु । जब जापानमा ट्रेनिङका लागि गयौं तब नै संन्यास लिनुपर्ने समय आयो भन्ने लागेको थियो ।’

चोटका कारण ताजिकिस्तानसँगको दुवै खेलमा टिम बाहिर रहेकाले उनले ५० क्यापसँगै संन्यासका लागि थप ६ महिना प्रतीक्षा गरेको हुनसक्छ । ‘यो निर्णय लिन एकदमै गाह्रो भयो । धेरै सोचें । संन्यास लिने/नलिने मनमा धेरै कुरा खेलें । केही समयअघि नै लिने पनि सोचेको थिएँ तर फेरि खेल्नसक्छु, अझै टिममा पर्न सक्छु भन्ने लागेको थियो,’ पोखराका ३१ वर्षीय उनले भने, ‘यो उमेर अझै पनि खेल्ने समय हो । अझै १–२ वर्ष खेल्न सक्छु । सबै कुरा मिहिनेत नै हो । तर पछिल्लो समय फुटबलको गतिविधि देखेर यस्तो निर्णय लिइएको हो ।’

राजधानीमा चार वर्षअघि भएको साफ च्याम्पियनसिपमा नेपालको सेमिफाइनल यात्रामा उनले बंगलादेश र भारतविरुद्ध गोल गरेका थिए । त्यसयता उनले गोल गरेका छैनन् र क्रमश: टिममा पनि उनको स्थान अनिश्चित भइरहेको छ । उनी भन्छन्, ‘नेपाली खेलाडी सधंै फर्ममा नहुने रहेछ किनभने यहाँ निरन्तर लिग नै भइरहेको छैन । विभागीय टिमको जस्तो अरु क्लबमा ट्रेनिङ हुन्न । मैले पनि आफै ट्रेनिङ गरेर नियमित खेल्न सकेको हो । तैपनि राष्ट्रिय टिममा मौका पाउन गाह्रो भयो । सिनियर खेलाडीको लागि सधैं यस्तो राम्रो हुन्नजस्तो लाग्छ, त्यसैले पनि संन्यासको योजना बनाएको हुँ ।’

पाँच वर्षयता उनी नियमित मनाङ मस्र्याङ्दी क्लबबाट खेलिरहेका छन् । तर लिग नहुँदा तीन वर्षयता तलबविहीन भएको उनले सुनाए । ‘मेरो खेल खस्किनुको मुख्य कारण लिग नहुनु होजस्तो लाग्छ । मेरो मात्र होइन, अरु धेरै खेलाडीको प्रदर्शन खस्किएको छ । क्लबबाट र लिग नखेली राष्ट्रिय टिमबाट खेल्नुपर्दा यस्तो भएजस्तो लाग्छ । क्लबले दिने तलब नै खेलाडीको मुख्य आम्दानी हो । त्यसैले लिग राम्रो भयो भने नै खेलाडीको आर्थिक अवस्था पनि राम्रो हुनसक्छ र यसैले नेपाली फुबटल बलियो बनाउँछ । लिग नभएकाले नै खेलाडीको स्तर खस्किने र विदेसिने समस्या आएको हो ।’

राष्ट्रिय टिमबाट संन्यास लिए पनि अझै २–३ वर्ष क्लब फुटबल खेल्ने उनको योजना छ । ‘तर त्यसका लागि पनि लिग हुनुपर्छ । लिग भएन भने सोच्नुपर्ने अवस्था आउँछ,’ उनले भने, ‘मेरो आफ्नै बिजनेस पनि छ । यतिका वर्ष फुटबलमै लागें । जानेको पनि फुटबलमै हो । त्यसैले फुटबलबाट भने टाढिने छैन । कुनै न कुनै रूपमा फुटबलमा रहिरहने छु ।’

महँगा खेलाडी
आठौं साफ खेलकुदमा वसन्त गौचन उत्कृष्ट खेल र चकलेटी अनुहारले निकै लोकप्रिय बनेका थिए । उत्कृष्ट फुटबल खेल्नुपर्ने उमेरमा उनी जापानतिर लागे । त्यसको केही वर्षपछि नै उनकै सहर पोखराबाट अर्को स्टारका रूपमा अनिल उदाए ।

सहारा क्लबमा फुटबल कौशल सिक्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्न काठमाडौं उपत्यका प्रवेश गर्दा उनी १६ वर्षको मात्रै थिए । मानभवनको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) मा छँदा बेलायती प्रशिक्षकले लिगमा उनलाई ‘ब्रेक’ दिए । सुरुमा उनी राइट विंगर थिए, स्पिड राम्रो भएकाले उनलाई फरवार्ड बनाइएको थियो ।

‘म व्यावसायिक खेलाडी थिइनँ । अनुभव थिएन । फुटबल कसरी खेल्ने भन्ने पनि थाह थिएन,’ २०६१ सालमा बीबीसीबाट ए डिभिजन लिग खेल्दाका दिन सम्झिए, ‘इंग्ल्यान्डका कोचले ट्रेनिङ गराउँथे । त्यसैले राम्रो भएँ । पैसा कमाउन थालें । थ्रीस्टारले अलि राम्रो तलब दिने प्रस्ताव गर्‍यो । अनि मिहिनेत गरेर राम्रो खेलेमा पैसा पनि आउँदो रहेछ भन्ने भयो ।’
बेन्चबाट लिग सुरु गरेका उनी पछि पहिलो रोजाइबाटै खेल्न थाले । उनलाई बीबीसीले प्रतिखेल ५ सय रुपैयाँ दिएको थियो । अर्को वर्ष थ्रीस्टार पुगे । सुरेन्द्र तामाङ र सन्तोष साहुखलको सब्स्टिच्युटका रूपमामात्र खेल्ने अवसर पाए पनि उनले त्यहाँ मासिक ६ हजार पाएका थिए । २०६३ सालमा मासिक १२ हजार लिएर मनाङबाट खेल्दा उनले ए डिभिजन लिगमा सर्वाधिक ३२ गोल गरेका थिए । त्यसैले उनको मूल्य आकासियो र नेपालकै सबभन्दा महँगा फुटबलरका रूपमा उनलाई मासिक २६ हजारमा न्युरोड टिम (एनआरटी) ले अनुबन्ध गर्‍यो । तर एन्फा विवादको कारण लिग नै बन्द भयो ।

नेपाली फुटबलमा मनाङ र थ्रीस्टारबीच शीर्षताको होड भइरहेको बेला एनआरटीले ‘ड्रिम टिम’ बनाएको थियो । लिग नभए पनि एनआरटीले बुढासुब्बा गोल्डकपलगायत केही प्रतियोगिता जितेको थियो । सिक्किममा भएको गभर्नर्स गोल्डकपको फाइनलमा थ्रीस्टारलाई हराएर एनआरटीले ट्रफी चुमेको थियो । त्यसमा अनिलले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनीमाथि भारतीय क्लब पनि आकर्षित भए । अनुबन्धको प्रस्ताव आयो । यसैबेला उनी सहारा युकेको सहयोगमा इंग्ल्यान्डको छैटौं डिभिजन क्लब ‘वोकिङ’ मा ट्रायल दिन बेलायत पुगे । अनुबन्धको प्रस्ताव पनि आयो तर वर्क परमिट नपाउँदा उनी स्वदेश फर्किए ।

बेलायतबाट फर्केलगत्तै भारतको आई लिगको क्लब सिलोङ लाजोङले अनिललाई मेघालय बोलायो । उनलाई २०६६ कात्तिकमा ६३ लाख रुपैयाँ पारिश्रमिक तोक्दै सिलोङ लाजोङले तीन वर्षको लागि अनुबन्ध गर्‍यो । त्यस रकम पनि नेपाली फुटबलको अर्को कीर्तिमान थियो । उनले आई लिगलगायत केही प्रतियोगिता खेले । गोल पनि गरे । तर उनको सिलोङसँगको सम्बन्ध दुई वर्षमै टुट्यो । अनिल सिलोङ लाजोङबाट फर्केर पुन: मनाङमा आबद्ध भएका थिए । मनाङको कप्तानी पनि गरेका उनले क्लब फुटबलमा दुई दर्जन बढी नकआउट प्रतियोगिताको उपाधि जितेका छन् । २०७० सालको ए डिभिजन लिग जित्नु नै उनको करिअरको मुख्य उपाधि हो ।

ती हेडलाइन
‘मैले करिअरमा जति गोल गर्थें, अखबारहरूमा हेडलाइनमा मेरै नाम छापिन्थ्यो । एकदमै खुसी लाग्थ्यो । हाई–स्कोरर । बेस्ट प्लेयर । नेपालको सबभन्दा महँगा खेलाडी । यस्तै–यस्तै शीर्षक । अहिले आएर ती कुरा एकदमै मिस हुन्छ,’ हेडरमा अब्बल मानिएका उनले भने, ‘यहाँसम्म आइपुग्ने कहिल्यै सोचेको थिइनँ । अहिले रिटायर्ड हुन लागेको पनि होइनजस्तो लाग्छ । सबै खेलाडीले एक दिन संन्यास लिनैपर्छ । तर मलाई यो दिन पनि आयो भन्ने विश्वासै लागिरहेको छैन ।’

उनले नेपालका लागि ९ गोल गरेका छन्, जुन हरि खड्का र निराजन रायमाझीको कीर्तिमान (१३) भन्दा ४ गोल कम हो । नेपाली फुटबलको इतिहासमा आफूलाई कहाँ राख्ने ? उनी भन्छन्, ‘दक्षिण एसियामा अनिल गुरुङ भनेर चिन्छन्, एकदमै खुसी लाग्छ । मनाङ, थ्रीस्टारबाट गरेको गोल र राष्ट्रिय टिमको करिअरको आफैले मूल्यांकन गर्दा म उच्च तहकै खेलाडी होजस्तो लाग्छ ।’

अनिल नेपाली फुटबलमा मैदानभित्र मिहिनेत र अनुशासनका पर्याय पनि मानिन्छन् । उनी आफूलाई पनि एकदमै मिहिनेत ठान्छन् । ‘भाग्यमानी पनि छुजस्तो लाग्छ,’ उनले भने, ‘सहारा क्लब, सहारा हङकङ, सहारा युके र दिदी (सुमित्रा) ले ठूलो सहयोग गरेका छन् । डम्बरसिंह गुरुङदेखि स्वदेशी–विदेशी धेरै प्रशिक्षकले मेरो करिअरमा साथ दिएका छन् ।’ इंग्ल्यान्ड यात्राबारे उनी भन्छन्, ‘वोकिङको ट्रेनिङ मेरो करिअरको टर्निङ प्वाइन्ट हो । त्यहींबाट खेल सुधार गर्न मिहिनेत गर्नुपर्ने सोच आयो । ट्रेनिङ र व्यावसायिक फुटबल कस्तो हुँदोरहेछ भन्ने मैले बुझें ।’

दर्शकले भरिएको दशरथ रंगशालामा ८ वर्षअघि प्रधानमन्त्री कपको उपाधि जित्दाको क्षणलाई उनी अविस्मरणीय मान्छन् । ‘औपचारिक प्रतियोगिता थिएन तर सहभागी टिम बलिया थिए । हामीले उपाधि जितेर धेरै खुसी भएका थियौं,’ उनले भने, ‘गत वर्ष मेरै नेतृत्वमा सोलिडारिटी कप जित्दा पनि खुसी लागेको थियो ।’ गत वर्ष नेपाली टिमले तीन उपाधि जिते पनि लिग नहँुदा स्तर भने खस्किरहेको उनको अनुभव छ ।

नेपाली फुटबलमा दुई दशक बढी राज गरेका गणेश थापालाई भ्रष्टाचार अभियोगमा फिफाले प्रतिबन्ध लगायो । अनिलका समकालीन पाँच खेलाडी पनि ‘म्याच फिक्सिङ’ काण्डमा एएफसीले आजीवन प्रतिबन्ध सुनायो । ‘यो (फिक्सिङ) संसारभरकै समस्या हो । नेपाली टिममा पनि एक समय भएको थियो होला तर त्यसै कारण नेपाली फुटबल खस्किएको भन्ने चाहिँ होइन । व्यवस्थित लिग नहुनु नै मुख्य समस्या हो ।’

प्रकाशित : कार्तिक २५, २०७४ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?