राष्ट्रिय टोलीमा अनिल र जगजितको पुनरागमन

फिलिपिन्सविरुद्ध मंगलबार हुने खेलका लागि अन्तिम टोलीको घोषणा
कान्तिपुर संवाददाता

काठमाडौं — एएफसी एसियन कप अन्तर्गत फिलिपिन्सविरुद्ध मंगलबार हुने खेलका लागि अन्तिम टोलीको घोषणा भएको छ । जापानी प्रशिक्षक ग्योतोकु कोजीले पछिल्लो खलको टोलीबाट तीन खेलाडी परिवर्तन गरेका छन् ।

चोटका कारण डिफेन्डर देवेन्द्र तामाङ र आदित्य चौधरी टोलीमा अटाएका छैनन् । एलन न्यौपाने पनि टोलीमा परेनन् । यसपटक टोलीमा गोलरक्षक विशाल श्रेष्ठ, मिडफिल्डर जगजित श्रेष्ठ र कप्तान अनिल गुरुङले पुनरागमन गरे ।

कप्तान अनिलले यस खेलमा ५० क्याप पुरा गरेर सन्न्यास लिंदैछन् । जगजित डेढ वर्षको अन्तरालपछि टोलीमा परेका हुन् ।

नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, विशाल श्रेष्ठ र विकेश कुथु छन् । यस्तै, डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, कमल श्रेष्ठ र राजेन्द्र रावल छन् । यसै गरी मिडफिल्डमा सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर, जगजित श्रेष्ठ र सुजल श्रेष्ठ छन् ।

फरवार्डमा कप्तान अनिल गुरुङसँगै नवयुग श्रेष्ठ, अन्जन विष्ट, भरत खवास, विमल घर्ति मगर र जर्ज प्रिन्स कार्की छन् ।
नेपालले मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा फिलिपिन्सको सामना गर्दैछ । नेपालको अन्तिम चरणमा छनोट हुने सम्भावना समाप्त भइसकेको छ ।

प्रकाशित : कार्तिक २७, २०७४ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्

विकासको अभियान अघि बढाउन गठबन्धन : ओली

अर्जुन राजवंशी

दमक — एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकासलाई अभियानका रुपमा अघि बढाउन वाम गठबन्धन गरेको बताएका छन् । उनले चुनावपछिको सरकारले मुलुकको विकास निर्माणलाई अभियानका रुपमा अघि बढाउने बताए ।

आफ्नो निर्वाचन क्षेत्र झापा ५ को गौरादहस्थित स्कुलचौनमा सोमबार बिहान चुनावी सभालाई सम्बोधन गर्दै ओलीले मुलुकलाई गरिबीको रेखामुनिबाट माथि उठाउन एउटा नयाँ अभियान जरुरी रहेको तर्क गरे । उनले विगतका चुनावमा कांग्रेसले पटकपटक बहुमत ल्याएपनि मुलुक नबनेको आरोप लगाए । ‘अबपनि देशलाई अविकसित रहिरहन दिन सकिदैन । यसैले यस पटकको चुनावमा एमाले र माओवादी एक भएको हो,’ उनले भने,‘चुनावपछिको सरकारले मुलुकको समग्र विकासका लागि अभियान सुरु गर्छ ।’ उनले अहिले शेयर बजारमा देखिएको उतारचढाव चुनावपछि हटेर जाने दाबी गरे ।

ओलीले ३३ प्रतिशत महिलासहित अन्य समुदायको आरक्षणको व्यवस्थालाई विस्तारै हटाउनुपर्नेमा जोड दिए । ‘हामीले महिलासहित सबै वर्ग, समुदायको विकासका लागि काम गर्नेछौं । सबैको स्तर माथि उठ्यो भने आरक्षण विस्तारै हट्दै जानेछ,’ उनले भने । आईटीयुक्त संसार खोजिरहेको युवाको सपना साकार पार्ने संकल्पसाथ आफू अघि बढिरहेको समेत उनले बताए । ओलीले गठबन्धनका कारण मतदातालाई मतदाता शिक्षाको जरुरी अधिक रहेको औंल्याए । उनले कार्यकर्तालाई मतदाता शिक्षातर्फ ध्यान दिन निर्देशन समेत दिए । शुक्रबार गृहजिल्ला ओर्लिएका ओली तीन दिनदेखि लगातार चुनावी कार्यक्रमहरुमा व्यस्त छन् ।

प्रकाशित : कार्तिक २७, २०७४ ११:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्