३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सुखद बिदाइको प्रतीक्षा

राजु घिसिङ

काठमाडौं — नेपाली राष्ट्रिय फुटबल टोलीका १५ औं कप्तान हुन् अनिल गुरुङ । दुई वर्षअघि त्रिवेन्द्रम (भारत) मा भएको साफ च्याम्पियनसिपमा उनी कप्तान बनेका थिए । उनीसहित केही खेलाडीलाई आराम दिएर ढाका पुगेको नेपाली टिम बंगबन्धु गोल्डकपमा च्याम्पियन भयो ।

सुखद बिदाइको प्रतीक्षा

गत वर्ष मलेसियामा सोलिडारिटी कप जित्दाका कप्तान पनि अनिल नै थिए तर उनी पहिलो रोजाइमा नपरेपछि विराज महर्जनले ‘आर्मब्यान्ड’ बाँध्ने सौभाग्य पाएका थिए ।

अनिलले विश्वकप २०१० को छनोटअन्तर्गत् सन् २००७ अक्टोबर ८ मा मस्कटमा ओमानसँग २–० ले हारेको खेलमार्फत् राष्ट्रिय टिममा ‘डेब्यू’ गरेका थिए । त्यसपछि उनी निरन्तर पहिलो रोजाइमा खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा ९ गोल गरेका थिए । कप्तान भएपछि भने उनको करिअरको ग्राफ उक्लिएन । विस्तारै पहिलो रोजाइमा पर्न छाडे । टिममा छनोट हुन पनि संघर्ष गर्नुपर्ने अवस्था आयो । यस्तै अन्तर्राष्ट्रिय फुटबलको उतारचढापूर्ण करिअरलाई उनले फिलिपन्सविरुद्धको खेलसँगै मंगलबार पूर्णविराम लगाउँदै छन् ।

एसियन कप २०१९ छनोटको खेलअघि सोमबार उनले भने, ‘अझै १–२ वर्ष खेल्न सक्थें तर घरेलु मैदानमा औपचारिक प्रतियोगिताको अवसरमा संन्यास लिनु नै सबभन्दा राम्रो हुन्छ जस्तो लाग्यो ।’ आफ्नो निर्णयबारे उनले प्रस्ट्याए, ‘युवा खेलाडीहरू पनि आइरहेका छन् र उनीहरूले पनि अवसर पाउनुपर्छ ।’ मुख्य प्रशिक्षक ग्योतोकु कोजीले खेलको अन्त्यतिर भए पनि मैदान ओर्लने अवसर दिने अनिलले आशा गरेका छन्, जसले उनको ५० क्याप पनि पूरा गर्न सक्छ ।

 

‘जित्नका लागि खेल्ने’

फेरि टिमको नेतृत्व गर्ने अवसर पाएका अनिलले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलबारे भने, ‘फिलिपिन्स बलियो छ किनभने हामीभन्दा उच्चस्तरको टिम हो । हामी जित्नकै लागि खेल्नेछौं तर त्यसका लागि धेरै मिहिनेत गर्नुपर्छ ।’ गत वर्ष मनिलामा भएको एकपक्षीय खेलमा नेपालले फिलिपिन्ससँग ४–१ ले घुँडा टेकेको थियो । खेलको सुरुमै मिडफिल्डर विक्रम लामाले बेहोरेको रातो कार्डको असर पनि त्यसमा परेको थियो ।

फिलिपिन्स फिफा वरीयताको १ सय १७ औं स्थानमा छ भने नेपाल १ सय ७६ औंमा रहेको छ । छनोटको समूह ‘एफ’ मा फिलिपिन्स (८ अंक) र यमन (६) अपराजित छन् । यी दुईसँगै ताजिकिस्तान (६) शीर्ष दुईमा रहँदै एसियन कपमा छनोट हुने होडमा छन् । तीन हार र एक बराबरी खेलेको नेपाल (१) भने महादेशीय प्रतियोगिताको फाइनल चरण पुग्ने प्रतिस्पर्धाबाट बाहिरिइसकेको छ ।

‘जे–जस्तो (समीकरण) भए पनि हाम्रा लागि महत्त्वपूर्ण खेल हो । त्यसैले जितकै लागि खेल्नेछौं,’ कप्तान अनिलले भने । उनले चोटका कारण ताजिकिस्तानसँग डुसान्बे र सातदोबाटोमा भएको खेल गुमाएका थिए । अहिले चोटका कारण डिफेन्डद्वय देवेन्द्र तामाङ र आदित्य चौधरी टिम बाहिर छन् । दुवैलाई ट्रेनिङ गर्ने क्रममा घुँडामा चोट लागेको थियो । त्यसैले नेपाललाई रक्षापंक्तिमा फिलिपिन्सले दु:ख दिनसक्छ ।

देवेन्द्र र आदित्यको घाइते भएकाले नै टिमको संरचना पनि परिवर्तन गरिएको प्रशिक्षक कोजीले बताए । ‘डिफेन्स घाइते छन् । त्यसैले अब ४–४–२ को संरचनामा खेल्दै छौं,’ पछिल्लो खेलमा ३–४–३ को शैलीमा टिम उतारेका उनले भने, ‘पहिला देखिएका कमजोरी हटाएर खेल्न केन्द्रित हुनेछौं ।’ उनले थपे, ‘डिफेन्समा कमजोरी देखिएको छ र आक्रमणमा पनि सुधार गर्नुपर्छ । अहिले शारीरिक क्षमतामा भने सुधार आइसकेको छ ।’

‘नेपाललाई कमजोर नमान्ने’
फिलिपन्सका प्रशिाक्षक थोमस डुलीले नेपाली टिमलाई सजिलो प्रतिद्वन्द्वीका रूपमा नलिएको बताएका छन् ।

‘यो महत्त्वपूर्ण खेल हो, जित्यौं भने हामी एसियन कपमा पहिलोपल्ट छनोट हुने छौं,’ प्रशिक्षक डुलीले भने, ‘खेल सजिलो हुँदैन । नेपाललाई कमजोर आँक्नु हुदैन । तर पनि उसले गल्ती गर्छन् ।’ मनिलामा प्राप्त ४–१ को जितबारे उनले भने, ‘त्यसले केही अर्थ राख्दैन, यो नै सबभन्दा ठूलो खेल हो । कसैलाई कमजोर मान्नु हुँदैन किनभने नेपालले यमनसँग बराबरी गरेको थियो र ताजिकिस्तानसँग १–२ ले हारेको थियो । हरेक खेल फरक हुन्छ ।’

फिलिपिन्सका कप्तान फिलिप जेम्स योङहजब्यान्डले भने, ‘यो हाम्रा लागि फाइनल हो । एकदमै ठूलो खेल हो । यसबाट हामीलाई एसियन कपमा पुग्ने ठूलो मौका छ ।’ उनले पाहुना टिमलाई युरोपमा खेलेका खेलाडीको उपस्थितिले पनि फाइदा हुने बताए ।

 

 

जगजित फर्किए

विंगर जगजित श्रेष्ठले १८ महिनापछि राष्ट्रिय टोलीमा फर्किएका छन् । २९ मे, २०१६ मा भियन्तिनेमा लाओसविरुद्ध १–१ मा टुंगिएको मैत्रीपूर्ण खेलमा सहभागी भएपछि उनी अस्ट्रेलिया गएका थिए । त्यहाँ स्थानीय क्लबबाट एनपीएल भिक्टोरिया २ खेलेका उनले १० दिन सँगै ट्रेनिङ गरेपछि कोजीको टिममा स्थान पाएका हुन् ।

 

पछिल्लो सिजन नुनावादिङ सिटीबाट खेलेका २५ वर्षीय जगजितलाई यसअघि ‘बेवास्ता’ गरिएकोबारे प्रशिक्षक कोजीले भने, ‘उनलाई एन्फाले बोलाएको हो । विस्तृत कुरा एन्फालाई सोध्नुहोला ।’ जगजित १२ औं साग (यू–२३) र बंगबन्धु गोल्डकपको स्वर्ण पदक विजेता टिमका पनि सदस्य हुन् । तर उनलाई पछिल्ला समय मैदानमा ओर्लने अवसर बिरलै मिलेको थियो ।

 

जगजितसँगै कप्तान अनिल र गोलकिपर विशाल श्रेष्ठ पनि राष्ट्रिय टिममा फर्किएका हुन् । एक महिनाको तयारीपछि सोमबार घोषित २३ सदस्यीय टिममा डेब्यू गर्न बाँकी खेलाडी विशालमात्र हुन् । ताजिकिस्तानसँगको टिमबाट आदित्य, देवेन्द्र र गोलकिपर एलन नेउपाने बाहिरिए । त्यस्तै, मानबहादुर तामाङ र विमल बस्नेतले पनि टिममा स्थान पक्का गर्न सकेनन् ।

 

 

एसियन कप २०१९ छनोट, समूह ‘एफ’

टिम खेल जित ड्र हार गोल अंक

फिलिपिन्स ११–४

यमन ५–४

ताजिकिस्तान ९–७

नेपाल २–९

 

आजको खेल

नेपालविरुद्ध फिलिपिन्स

१४:०० बजे

एन्फा कम्प्लेक्स

प्रकाशित : कार्तिक २८, २०७४ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?