कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

एसियन कप २०१९ छनोट : नेपाल र फिलिपिन्स भिड्दै

राजु घिसिङ

काठमाडौं — समूह ‘एफ’मा जित हात पार्न बाँकी रहेको एक्लो टिम नेपालले फाइनल चरण पुग्ने सभ्भावना समाप्त भइसके पनि शीर्षस्थानको फिलिपिन्सविरुद्ध मंगलबार जित हात पार्नको लागि खेल्ने योजना बनाएको छ ।

एसियन कप २०१९ छनोट : नेपाल र फिलिपिन्स भिड्दै

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलबारे कप्तान अनिल गुरुङले भने, ‘फिलिपिन्स बलियो छ किनभने हामीभन्दा उच्चस्तरको टिम हो । हामी जित्नकै लागि खेल्नेछौं तर त्यसका लागि धेरै मिहिनेत गर्नुपर्छ ।’ गत वर्ष मनिलामा भएको भेटमा फिलिपिन्सले नेपाललाई ४–१ ले हराएको थियो । त्यसमा मिडफिल्डर विक्रम लामाले बेहोरेको रातो कार्डले पनि असर गरेको थियो ।

‘जे–जस्तो (समीकरण) भएपनि हाम्रो लागि महत्वपूर्ण खेल हो । त्यसैले जितकै लागि खेल्नेछौं,’ अनिलले भने । नेपालले फिफा वरियतामा ५९ स्थानमाथिको टिम फिलिपिन्ससँगको खेलबाटै कप्तान अनिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरिसकेका छन् । उनी अन्तिम खेलमा पनि पहिलो रोजाईमा भने खेल्ने छैनन् ।

ट्रेनिङ गर्ने क्रममा घुँडामा चोट लागेकाले डिफेन्डसद्वय देवेन्द्र तामाङ र आदित्य चौधरी टिमबाहिर छन् । त्यसैले प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टिमको संरचना नै परिवर्तन गरेका छन् । ‘अब ४–४–२ को संरचनामा खेल्दैछौं,’ पछिल्लो खेलमा ३–४–३ को शैलीमा टिम उतारेका उनले भने, ‘पहिला देखिएका कमजोरी हटाएर खेल्न केन्द्रित हुनेछौं ।’

गोलकिपरमा किरण चेम्जोङ यथावत् छन् भने रोहित चन्दलाई मिडफिल्डबाट डिफेन्सको जिम्मेवारी दिइएको छ । उनलाई डिफेन्समा अनन्त तामाङ, विराज महर्जन र कमल श्रेष्ठले साथ दिनेछन् । उनीहरूलाई चेल्सीको एकेडेमीमा प्रशिक्षण गरेका फिलिप जेम्स योङहजब्यान्डको नेतृत्वमा रहेको फिलिपिन्सको अग्रपंक्तिले व्यस्त राख्न सक्छ ।

फिलिपिन्स (८ अंक) भने नेपाललाई हराएर एसियन कपमा पहिलोपल्ट छनोट हुने योजनामा रहेको छ । फिलिपिन्ससँगै यमन (६) र ताजिकिस्तान (६) महादेसीय प्रतियोगितामा छनोट हुने दौडमा छन् । समूहका शीर्ष दुईले एसियन कप खेल्ने अवसर पाउनेछन् । तीन हार र एक बराबरी खेलेको नेपाल (१) को लागि भने फाइनल चरण पुग्ने ढोका बन्द भइसकेको छ ।

फिलिपन्सका प्रशिक्षक थोमस डुलीले नेपाली टिमलाई सजिलो प्रतिद्वन्द्वीको रुपमा नलिएको बताएका छन् । ‘यो महत्वपूर्ण खेल हो, जित्यौं भने हामी एसियन कपमा पहिलोपल्ट छनोट हुनेछौं,’ प्रशिक्षक डुलीले भने, ‘खेल सजिलो हुँदैन । नेपाललाई कमजोर आँक्नु हुँदैन ।’ मनिलामा प्राप्त ४–१ को जितबारे उनले भने, ‘त्यसले केही अर्थ राख्दैन, यो नै सबभन्दा ठूलो खेल हो । कसैलाई कमजोर मान्नु हुँदैन किनभने नेपालले यमनसँग बराबरी गरेको थियो र ताजिकिस्तानसँग १–२ ले हारेको थियो । हरेक खेल फरक हुन्छ ।’

नेपाल र फिलिपिन्स यसअघि आपसमा ५ पल्ट भिडेका थिए । सुरुको भेटमा नेपाल विजयी भएपनि पछिल्ला चारै खेल फिलिपिन्सले सजिलै जितेको छ । त्यसैले पनि नेपाललाई आजको खेल कठिन हुनसक्छ ।

नेपाली टिम
गोलपिकर : किरण चेम्जोङ
डिफेन्स : विराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ
मिडफिल्ड : सुजल श्रेष्ठ, विक्रम लामा, विशाल राई, भरत खवास
फरवार्ड : विमल घर्तीमगर, अन्जन विष्ट

प्रकाशित : कार्तिक २८, २०७४ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?