घरमा झापाको जित

अर्जुन राजवंशी

झापा — झापा एघारले दोस्रो सताक्षी गोल्डकप फुटबलको मंगलबार उद्घाटन खेलमा पोखरा ११ लाई ५–० ले पराजित गर्दै सेमिफाइनल तय गरेको छ ।

घरमा झापाको जित

घरेलु भूमिमा झापा हाबी हुँदा स्ट्राइकर कर्ण लिम्बूले २, गिल्सन कन्दङ्वा, विशाल राई ‘ए’ र विदेशी खेलाडी अजय मार्टिन्सले १–१ गोल गरेका थिए । झापाले पहिलो हाफमै ३ गोल गरेको थियो । मार्टिन्सले १२ औं मिनेटमा टोलीलाई अग्रता दिलाए । विशालको पासमा उनले सेकेन्ड बार च्याप्दै गोल गरेका थिए । १७ औं मिनेटमा कर्णले वान टचमै गोल गरे । कप्तान योगेश गुरुङले दिएको क्रसमा कर्ण पोखरेली गोलकिपर दीप कार्की अगाडि बढेको अवस्थामा गोल गर्न सफल भए ।

त्यसको दुई मिनेटमै विशालले टोलीका लागि तेस्रो गोल गरेका थिए । उनले पेनाल्टी एरिया नजिकबाट प्रहार गरेको बल गोलमा परिणत भयो । ५१ औं मिनेटमा मिडफिल्डर गिल्सन कन्दङ्वाले गोलकिपर दीप बिट हुँदा मैदानको मध्यभागबाट प्रहार गरेको बल गोल हुन पुग्यो । कर्णले ७१ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गरेका थिए ।

पोखराका खेलाडीले पाएका सबै अवसर खेर फाले । पहिलो हाफमा हानेको दर्शनीय प्रहार पोस्ट माथिबाट बाहिरियो । पोखराका किरण थापामगरले ५५ औं मिनेटमा पेनाल्टी एरिया नजिकैबाट गरेको सशक्त प्रहार झापाका गोलरक्षक किशोर गिरी पन्च गरेर बचाए । पोखराले ५८ औं मिनेटमा पाएको पेनाल्टीसमेत खेर फालेको थियो । कप्तान बिष्णु गुरुङको पेनाल्टी प्रहार बाहिरियो । त्यसपछि पोखरा खेलमा फर्कन सकेन ।

झापाका कप्तान योगेश म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । मंसिर ७ सम्म चल्ने प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । गोल्डकपमा ‘ए’ डिभिजनका ६, एक विदेशी र आयोजकसहित १० टिमले भाग लिएको आयोजक सताक्षी स्पोर्टिङ क्लबका अध्यक्ष रमेश लावतीले बताए ।

बुधबार एपीएफ र भारत मध्यप्रदेशको डायमन्ड अफ फुटबल एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : कार्तिक २८, २०७४ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?