कप्तान गुरुङको अन्तर्राष्ट्रिय फुटबलमा लाग्यो पूर्णविराम [फोटोफिचर]

राष्ट्रिय टिमका १५ औं कप्तान । ५० क्याप । नौ गोल । सोलिडारिटी कप विजेता ।
राजु घिसिङ

काठमाडौं — नेपाली राष्ट्रिय टिमका १५ औं कप्तान अनिल गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट मंगलबार सन्यास घोषणा गरेका छन् । उनले एसियन कप २०१९ छनोटमा फिलिपिन्सविरुद्ध एन्फा कम्प्लेक्समा गोलरहित नतिजा निकालेपछि राष्ट्रिय टिमसँगको १० वर्षे करिअरमा पूर्णविराम लगाएका हुन् ।

कप्तान गुरुङको अन्तर्राष्ट्रिय फुटबलमा लाग्यो पूर्णविराम [फोटोफिचर]

‘यहाँसम्म आइपुग्ने कहिल्यै सोचेको थिइनँ,’ एन्फाद्वारा आयोजित बिदाईमा भावुक देखिएका ३१ वर्षीय अनिलले भने, ‘बुबाको चाहना भर्ती भएर लाहुरे होस् भन्ने थियो तर म फुटबल खेल्नतिर लागे र यहाँसम्म आइपुगे । फुटबलमा नाम पनि छ दाम पनि छ । परिवारलाई पनि साथ पनि दिए । अहिले म जुन स्थानमा छु, त्यहाँ हेर्दाखेरि बुबा खुसी नै हुनुहुन्छ होला ।’

८ अक्टोबर, २००७ मा मस्कटमा भएको विश्वकप छनोटमा ओमानसँग २–० ले पराजित भएको खेलमार्फत् उनले राष्ट्रिय टिममा डेब्यू गरेका थिए । त्यसमा उनलाई प्रशिक्षक श्याम थापाले पहिलो रोजाईमा खेलाएका थिए । मस्कटबाट सुरु भएको उनको अन्तर्राष्ट्रिय फुटबलको करिअर दस वर्ष चल्यो । फरवार्ड अनिलले ८१ औं मिनेटमा सुजल श्रेष्ठको स्थान लिँदै मंगलबार ५० क्यापको कोसेढुंगा पार गरेका थिए ।

अन्तिम खेलमा उनले आफ्नो प्रभाव भने देखाउन सकेनन् । उनी साफ च्याम्पियनसिप २०१५ मा कप्तान घोषित् भएका थिए र त्यसयता नै पहिलो रोजाईको टिमबाट खेल्न संघर्षरत् रहँदै आएका थिए । उनी केही खेलमा त टिममा पनि परेका थिएनन् । नौ गोल गरेका उनले गत वर्ष सोलिडारिटी कप जितेको नेपाली टिमको पनि नेतृत्व गरेका थिए । ‘सहारा एकेडेमीबाट मलाई यहाँसम्म पुर्‍याउन धेरैले सहयोग गर्नुभएको छ । पविरा, खेलाडी, साथी, कोचहरूलगायत सबैलाई धन्यवाद दिन चाहन्छु । एन्फालाई विशेष धन्यवाद,’उनले भने । ब्रिगेड ब्वाइज, थ्रीस्टार, एनआरटी, मनाङमर्स्याङ्दी र भारतको सिलोङ लाजोङ क्लबबाट खेलेका उनले क्लब फुटबललाई भने निरन्तरता दिने बताए । उनी एनआरटी र लाजोङमा छँदा नेपालकै सर्वाधिक महँगा फुटबलर थिए ।

‘सन्यासबारे पहिले पनि सोचेको थिए तर पछिल्लो समयमा खेल (लिग) नभएपछि घरेलु मैदानमा औपचारिक अन्तर्रास्ट्रिय खेल भइरहेको र यो नै सन्यास लिनलाई मेरो लागि सबभन्दा राम्रो हुन्छ भन्ने लाग्यो,’उनले भने, ‘उमेरअनुसार म योभन्दा बढी खेल्ने खेलाडी हो तर समयले गर्दा यति (५० खेल) नै भयो ।’

जापानमा ट्रेनिङ गरेर जेठमा फर्कंदा नै सन्यास लिने तयारी गरेको उल्लेख गर्दै उनले भने, ‘पहिलो प्रयासमा यू–१६ को क्याम्पसम्म पुगेको थिए । त्यसपछि यू–१९ र यू–२३ टिमबाट खेल्दै राष्ट्रिय टिममा पुगेको थिए । यसरी हेर्दा १२–१३ वर्ष अन्तर्राष्ट्रिय फुटबल खेलेछु । जब जापानमा ट्रेनिङका लागि गएका थियौं तब नै सन्यास लिनुपर्ने समय आयो भन्ने लागेको थियो । जुनियर खेलाडीहरू पनि राम्रा छन्, उनीहरूले पनि अवसर पाउनुपर्छ ।’

पोखराका अनिलले भने, ‘सबै खेलाडीले एक दिन सन्यास लिनैपर्छ । तर मलाई यो दिन पनि आयो भन्न अझै विश्वास लागिरहेको छैन ।’अनिललाई नेपाली फुटबलमा मैदानभित्र मिहिनेत र अनुशासनका पर्याय पनि मानिन्छन् । इंग्ल्यान्डको वोकिङ क्लबमा नौ वर्षअघि गरेको ट्रेनिङ नै करिअरले उचाई लिनुको मुख्य कारण भएको उनले बताए । दर्शकले भरिएको दशरथ रंगशालामा आठ वर्षअघि प्रधानमन्त्री कपको उपाधि जित्दाको क्षणलाई उनी अविस्मरणीय मान्छन् ।

 

प्रकाशित : कार्तिक २८, २०७४ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?