यू–१९ एसिया कप पहिलोपल्ट सेमिफाइनलमा

सुबास हुमागाईं

क्वालालम्पुर (मलेसिया) — नेपाली क्रिकेट टोली पहिलोपल्ट एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार मलेसियालाई सजिलै ८ विकेटले पराजित गर्‍यो ।

यू–१९ एसिया कप पहिलोपल्ट सेमिफाइनलमा

मलेसियामा भइरहेको प्रतियोगितामा अन्तिम चरणका खेलमा आफूअनुकूल नतिजा आएपछि नेपाल उपविजेता बन्दै दोस्रो चरणमा पुगेको हो । समूहको अर्को खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि नेपालको भाग्य खुलेको थियो । बंगलादेश सबै ३ खेल जितेर समूह विजेता बनी सेमिफाइनल पुग्यो । नेपालले २ जित र १ हारको नतिजा निकाल्यो । प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा यसअघिका तीनै प्रतियोगिता जितेको भारतले समूह ‘ए’ मा १ खेलमात्र जित्न सक्यो । मलेसियाले सबै खेल हारेको छ ।

प्रशिक्षक विनोद दासले माथिल्लो स्तरको प्रतियोगितामा लगातार राम्रो प्रदर्शनले उत्साहित बनाएको जनाए । ‘हामीले टेस्ट राष्ट्रहरूलाई टक्कर दिइरहेका छौं । मलेसियाविरुद्ध जसरी हावी भयौं, त्यसले टोली कत्तिको बलियो छ भन्ने देखाउँछ । बितेको एक वर्षमा यो टिमले गरेको मिहिनेत अहिले सार्थक भइरहेको छ,’ दासले भने । वर्षाका कारण २४ ओभरमा छोट्याइएको खेलमा टस जितेको नेपालले मलेसियालाई १५.३ ओभरमा ४५ रनमै अलआउट गर्‍यो । नेपालले ५.२ ओभरमा लक्ष्य पूरा गर्‍यो । मंगलबार नै भएको अर्को खेलमा बंगलादेशले भारतलाई पराजित गरेको खण्डमा मात्र नेपाल सेमिफाइनलमा पुग्थ्यो । पहिला ब्याटिङ गरेको भारतले ३२ ओभरमा छोट्याइएको खेलमा ८ विकेट गुमाई १ सय ८७ रन बनायो । डकवर्थ लुइस पद्धतिमा १ सय ९० रनको लक्ष्य पाएको बंगलादेशले त्यसलाई २८ ओभरमा नै पूरा गर्‍यो ।

नेपाल यसअघिका तीनै संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो । नेपालको छनोटसँगै प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन भारत समूह चरणबाट बाहिरिएको छ ।

नेपालले सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ । समूह ‘बी’ को अन्तिम खेलमा यूएईलाई पराजित गरेको अफगानिस्तान समूह विजेताका रूपमा दोस्रो चरणमा प्रवेश गर्‍यो । उक्त समूहबाट पछिल्लो संस्करणको उपविजेता श्रीलंका समूह चरणबाटै बाहिरियो । सेमिफाइनलको यात्रा तय गर्न महत्त्वपूर्ण भूमिका खेलेका कप्तान दीपेन्द्रसिंह ऐरी प्रशिक्षण टोलीको विश्वास र खेलाडीको प्रदर्शनले टोली यहाँसम्म आइपुगेको बताउँछन् । ‘हाम्रो प्रशिक्षण टोलीले खेलाडीमा खुलेर खेल्ने साहस दिनुभएको छ । पहिलाको तुलनामा टोलीमा ठूलो परिवर्तन आएको महसुस भएको छ । बलिङ र फिल्डिङ मात्र हैन ब्याटिङमा पनि अहिले हामी आत्मविश्वासी भएका छौं,’ उनले भने । एसिया कपको सेमिफाइनलमा पुग्ने पहिलो कप्तान बन्नुको श्रेय उनले पूरै टोलीलाई दिए । ‘हाम्रो टोली एकीकृत भएर नै यो सफलता प्राप्त भएको हो । सबैले आफ्नो ठाउँबाट सक्दो मिहिनेत गरेका छौं । एकअर्कालाई भरोसा गरेर अगाडि बढदा टोलीले राम्रो नतिजा ल्याइरहेको छ । सेमिफाइनलमा पनि त्यसैलाई निरन्तरता दिने प्रयास गर्नेछौं,’ उनले थपे ।

‘अहिले टोलीले राम्रो क्रिकेट खेलिरहेको छ । प्रत्येक बलमा सबै खेलाडीले उत्तिकै मिहिनेत गरेका छन् । दिनप्रतिदिन प्रदर्शनमा निखार आएको छ । अफगानिस्तानसँग पछिल्ला प्रतियोगितामा प्रदर्शन नराम्रो भए पनि हामीले सधैं डटेर खेलेका छौं । उनीहरूलाई पनि थाहा छ, नेपालसँगको खेल सहज हुने छैन,’ दासले भने ।

प्रकाशित : कार्तिक २९, २०७४ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?