नेपाली स्पिनमा घुम्यो मलेसिया

सुबास हुमागाईं

क्वालालम्पुर — नेपाली स्पिनरहरूले १३ रन खर्चेर १० विकेट लिएपछि एसीसी यू(१९ एसिया कपमा नेपालले मलेसियामाथि ८ विकेटको सानदार जित दर्ता गर्‍यो । जितसँगै नेपाल पहिलोपल्ट प्रतियोगिताको सेमिफाइनल पुगेको छ । भारतले बंगलादेशलाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह उपविजेता हुँदै अगाडि बढ्यो ।

नेपाली स्पिनमा घुम्यो मलेसिया

लगातार वर्षाका कारण तोकिएको समयभन्दा खेल करिब ५ घण्टा ढिला सुरु भयो । २४ ओभरमा घटाइएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । दोस्रो चरण पुग्ने सम्भावना बलियो पार्न नेपाललाई ठूलो जित चाहिन्थ्यो । मलेसियाका ओपनरहरू सुरुको ५ ओभरमा पेस बलरमाथि हाबी हुँदा नेपाललाई लक्ष्य पाउन कठिन हुने देखिएको थियो । बिनाविकेट ३२ रन जोडेको मलेसियाली टोली स्पिन बलर आएसँगै ४६ रनमा अलआउट भयो । अनिल साहले छैटौं ओभरको चौथो बलमा कप्तान वीरनदीप सिंहलाई १० पेभेलियन फर्काएपछि मलेसियाको पतन सुरु भयो ।

नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ बलमा २ विकेट लिने क्रममा सर्वाधिक २० रन जोडेका सैयद अजिजलाई पेभेलियन पठाए । लगत्तै सन्दीप लामिछाने बलिङमा आएसँगै ब्याट्सम्यानहरू लगातार पेभेलियन फर्किए । उनले ८ रन खर्चेर ५ विकेट हात पारे । सन्दीपको स्पिन बुझ्न मलेसियाका ब्याट्सम्यानलाई हम्मे(हम्मे पारेको थियो । उनले तीन विकेटमा एलबीडब्लू, एक बोल्ड र अन्तिम विकेट स्टम्पिङमा हात पारेका थिए । यसबीचमा शाहब आलमले पनि २ विकेट आफ्नो नाममा लेखाए । मलेसियाले १० ओभर अन्तरमा १२ रन जोड्दै १० विकेट गुमाएको हो ।

नेपालले जितेन्द्र सिंहको स्थानमा अनिल साहलाई इनिङ्सको सुरुआत गर्न पठायो । पहिलो बलदेखि आक्रामक ब्याटिङ गरेका जितेन्द्र १५ बल खेल्दै २६ रनमा अविजित रहे । उनले १ चौका र ३ छक्का प्रहार गरे । अर्कोतर्फ लगातर लामो सटमा चुकेका आसिफ आक्रामक सट खेल्ने सुरमा क्याचआउट भए । त्यसपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले पहिलो दुई बलमा स्ट्रेट बाउन्ड्रीमा छक्का प्रहार गरे । तेस्रो बलमा सोही स्थानमा उनी मुहमद हफिजको हातबाट समातिए । छैटौं ओभरको दोस्रो बलमा अनिलले छक्का प्रहार गरेपछि नेपालले ४८ रन बनायो ।

टोलीको बलिङ प्रदर्शन अपेक्षाकृत रहेको सहायक प्रशिक्षक कलाम अलीले बताए । ‘हामीलाई स्पिनर लगाएपछि विकेट आउँछ भन्ने थाहा थियो । यहाँको पिचमा स्पिनरले राम्रो टर्न पाइरहेको छ । आज सबै १० विकेट स्पिनरकै बलमा आएको छ, यसले पनि साबित गर्छ,’ उनले भने । विगतको तुलनामा टोलीको प्रदर्शनमा निकै सुधार भएको उनको ठम्याइ छ । ‘विगत एक वर्ष टोलीले निकै मिहिनेत गरेको छ । अहिले खेलाडीको दृष्टिकोण पहिलाभन्दा फरक छ । पहिला साना टोलीसँग ब्याटिङ नचल्ने अवस्था थियो । अहिले टेस्ट खेल्ने राष्ट्रसँग सहजै ५० ओभर खेल्न सकिरहेका छौं,’ उनले थपे, ‘बलिङमा पनि धेरै सुधार आएको छ । हामीले निरन्तर खेलिरहेकाले खेलाडीमा राम्रो अनुभव विकास भएको छ । खेलाडीहरू अझै बढी आत्मविश्वासी भएका छन् । जसको नतिजा जारी प्रतियोगितामा देखिएको छ ।’ उनले अफगानिस्तानविरुद्ध हुने सेमिफाइनल विगत तुलनामा फरक रहने प्रतिक्रिया दिए ।

अर्को खेलमा भारतले छाडेको १ सय ९० रनको लक्ष्य २ विकेट गुमाउँदै प्राप्त गरेपछि बंगलादेश समूह विजेता बन्यो । पछिल्लो संस्करण विजेता भारतले ३२ ओभरमा ८ विकेट गुमाउँदै १ सय ८७ रन जोडेको थियो । खेलको छैटौं ओभर चल्दा वर्षा भएपछि खेल ३२ ओभरमा छोट्याइयो । उसका लागि मध्यक्रमका ब्याट्सम्यान सलमान खानले सर्वाधिक ३९ रन जोडे । बंगलादेशले २८ ओभरमा लक्ष्य प्राप्त गर्दा ओपनर पिनाक घोष ८१ रनमा अविजित रहे । अर्का ओपनर नैइम शेखले ३८ रन जोडे ।

समूह ‘बी’ को अन्तिम खेलमा यूएईलाई १ सय ३५ रनले हराउँदै अफगानिस्तान समूह विजेता भएर दोस्रो चरणमा पुगेको हो । वर्षाका कारण २० ओभरमा घटाइएको खेलमा अफगानिस्तानले ब्याटिङको निम्तो पायो । दार्विस अब्दुल रसुलले ३८ बलमा अविजित १ सय ५ रन जोड्दै आक्रामक ब्याटिङ गरेपछि अफगानिस्तानले ३ विकेट गुमाई २ सय २४ रन जोड्यो । जवाफी ब्याटिङमा यूएईले २० ओभरमा ९ विकेट गुमाएर ९० रनमात्र जोड्न सक्यो ।

पहिलो सेमिफाइनलमा बिहीबार बंगलादेशले पाकिस्तानसँग खेल्नेछ । दोस्रो सेमिफाइनल नेपाल र अफगानिस्तानबीच शुक्रबार हुनेछ । फाइनल आइतबार खेलिनेछ । सबै खेल किन्नारा ओभलमा हुनेछ ।


मलेसियालाई सन्दीप बाधक
सन्दीप लामिछानेले ५ विकेट लिएसँगै मलेसिया पहिलो इनिङमा ४६ रनमा समेटिएको हो । उनले मलेसियाविरुद्ध ५ विकेट लिएको यो तेस्रोपल्ट हो । यसअघि जुलाईमा सम्पन्न यू(१९ विश्वकपमा सन्दीपले मलेसियाविरुद्ध दुवै खेलमा ५ विकेट लिएका थिए । उनले त्यति बेला पहिलो खेलमा ८.५(१(१७(५ र दोस्रो खेलमा ९.१(१(१३(७ को प्रदर्शन गरेका थिए ।
उनले मलेसियाविरुद्ध प्रदर्शनसँगै नेपाललाई सेमिफाइनल पुर्‍याउन मदत गर्न पाउँदा निकै खुसी लागेको बताए । ‘आजको जितले नेपाल सेमिफाइनल पुगेको छ । आफ्नो प्रदर्शनबाट पनि खुसी छु । मलेसियाविरुद्ध यसअघि पनि ५ विकेट लिएको थिएँ । राम्रो प्रदर्शन गर्छु भन्नेमा विश्वस्त थिएँ,’ उनले भने । टोलीको प्रदर्शन दिन प्रतिदिन राम्रो हुँदै गएकामा पनि उनी हर्षित थिएँ । ‘सबै खेलाडीमा सकारात्मक सोच विकास भएको छ । सबैले आफ्नो स्थानबाट सक्दो प्रयास गरिरहेका छन् । ठूला टोलीसाग टक्कर दिँदा आत्मबल बढेको छ । यहाँबाट अगाडि अझै राम्रो गर्ने विश्वास राखेका छौं,’ उनले थपे ।

प्रकाशित : कार्तिक २९, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?