२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेपाली क्रिकेटका ‘पञ्चकन्या’

पर्वत पोर्तेल

काँकडभिट्टा — नेपाली क्रिकेटका लागि काँकडभिट्टा ज्यादै उर्वर छ । एक दर्जनजति अन्र्तराष्ट्रिय क्रिकेटर जन्माएको यो सीमा सहरमा पाँच जना त राष्ट्रिय महिला क्रिकेटर नै छन् । नेपाली क्रिकेटका ‘पञ्चकन्या’ हरूले सोमबार थाइल्यान्डमा सुरु ट्वान्टी–२० विश्वकपको एसिया छनोट प्रतियोगितामा सँगै खेलेका छन् ।

नेपाली क्रिकेटका ‘पञ्चकन्या’

स्थानीय काँकडभिट्टाको मैदानमा सँगै अभ्यास गर्ने यिनीहरूले अन्तर्राष्ट्रिय मैदानमा देशका लागि खेल्ने छन् ।

राष्ट्रिय टोलीमा परेका कप्तान रुबिना क्षेत्रीसहित काजोल श्रेष्ठ, सवनम राई, संगीता राई र यसपल्ट छानिएकी रोमा थापा मेचीनगर नगरपालिका ६ निवासी हुन् । ‘एउटै वडाबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच खेलाडी सहभागी बन्नु सिंगो झापाका लागि गर्वको पक्ष हो,’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा भन्छन्, ‘नेपाली महिला क्रिकेटका पञ्चकन्या हुन् उनीहरू ।’ 

कुनै बेला क्रिकेटरद्वय मनोज कटुवाल र लाक्पा लामा सिंगो झापाका सान थिए । यी दुई खेलाडीको प्रेरणावाटै जन्मिएका हुन् रुबिनाहरू । केही वर्षअघि झापामा रुबिनामात्रै एक्ली महिला क्रिकेटर थिइन् । छोटो समयमा यिनले क्रिकेटमा अप्रत्यासित छलाङ मारिन् ।
नेपाली महिला क्रिकेटकी कमान्डर रुबिना अहिले एक्ली छैनन् । उनीपछि काजोल, सवनम, संगीता र रोमाहरू जन्मिइसकेका छन् । महिला क्रिकेटकी कप्तान बन्नुअघि रुबिनाले सन् २००९ मा मलेसियामा भएको टान्टी–२०महिला क्रिकेटमा सिंगापुरविरुद्ध खेलेर डेब्यू गरेकी हुन् । डेब्यूमै उनले ५ विकेट लिँदै विश्व कीर्तिमान गरेकी थिइन् । 

महिला क्रिकेटको भविष्यप्रति बेला बेला ज्यादै निरास हुन्छिन् यी अलराउन्डर । खास गरी महिला क्रिकेटलाई राज्यले गरेको चरम उपेक्षाबाट आफू आजित बनेको रुबिना गुनासो पोख्छिन् । काजोलले पनि अन्तर्राष्ट्रिय क्रिकेटमा पहिचान बनाउँदै छिन् । उनले आधा दर्जन बढी मुलुकमा आफ्नो खेलकौशल देखाइसकेकी छन् । 

गत वर्ष हङकङमा भएको आईसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितामा रुबिनासहित काजोल र सवनम एकैपल्ट मैदान ओर्लिएका थिए । यसपल्ट पाँच जना ‘गाउँले खेलाडी’ ले थाइल्यान्डमा आफ्नो कौशल देखाउने छन् । सवनमले रुबिनाको सहयोगका कारण आफू क्रिकेटमा छिरेको बताउँछिन् । काजोलको भनाइ पनि सवनमको जस्तै छ । भन्छिन्, ‘रुबिना दिदीकै प्रेरणा र हौसलाले क्रिकेटमा हाम्रो क्रेज बढेको हो ।’ 

कक्षा ८ मा पढै गर्दा सवनमले पहिलो पटक क्रिकेटको ब्याट र बल समातेकी थिइन् । स्थानीय मैदानमा अन्तरमावि क्रिकेट आयोजना भएको थियो । उनले नर्थ प्वाइन्ट स्कुलबाट खेलेकी थिइन् । सवनम सामान्य परिवारकी सदस्य हुन् । सुरुमा उनलाई क्रिकेटको ब्याट वल किन्न पनि गाह्रो थियो यिनलाई । तर, जहाँ इच्छा त्यहाँ उपाय भनेझैं उनको इच्छासामु सबै अभावहरू परास्त भए । परिवारको भरपूर सहयोगले खेल्न थप हौसला थप्यो । 

काजोलले सन् २००९ बाट क्रिकेट खेल्न थालिन् । सन् २०१३ मा थाइल्यान्डमा भएको प्रतियोगितामा डेब्यू गरिन् । त्यसपछि दक्षिण कोरियामा एसियन गेम्स र भर्खरै हङकङमा विश्वकप छनोट खेलिन् । त्यसयता यिनले पछाडि फर्केर हेर्नुपरेको छैन । सधंै टिममा स्थान सुरक्षित गरिरहेकी छन् । उनी नेपाली टोलीकी उत्कृष्ट ब्याट्सवुमन हुन् । त्यस अलवा राम्रो विकेटकिपिङ गर्छिन् । 

संगीताले पनि गत वर्ष थाइल्यान्डको बैंककमा आयोजित एसिया कप क्रिकेटवाट अन्र्तराष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी हुन् । यसअघि पटक–पटक क्याम्पमा पर्दै अन्तिममा छनोटबाट वन्चित उनी गत वर्ष पहिलोपल्ट टोलीमा परेकी हुन् । रोमाले यसपालि पहिलो अन्तर्राष्ट्रिय अनुभव बटुल्दै छिन् । गत वर्ष उनी पनि क्याम्पमा त परिन् तर टोलीमा पर्न सकेकी थिइन् । अघिल्लो पटक टोलीमा पर्न नसके पनि निरास थिइनन् उनी । ‘अघिल्लो पटक राम्रो प्रदर्शन गर्न चुकेकी थिएँ,’ भन्छिन् ‘अर्को वर्ष पर्नेगरी खेल्छु भन्ने प्रण गरेकी थिएँ ।’ सबै खेलाडी स्थानीय मिलन क्रिकेट क्लबका उत्पादन हुन् । 

‘राष्ट्रिय टोलीमा एउटै वडावाट पाँच खेलाडी पर्नु हाम्रो क्षेत्रकै गौरव हो,’ पूर्व राष्ट्रिय क्रिकेटर मनोज कटुवाल भन्छन्, ‘सबै अब्बल छन्, उनीहरूले राम्रो प्रदर्शनमा ढुक्क छु ।’

 

प्रकाशित : मंसिर ५, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?