२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

एपीएफद्वारा उपाधिमा ह्याट्रिक

सुबास हुमागाईं

काठमाडौं — आयोजक त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले लगातार तेस्रोपल्ट प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ । यसअघि तेस्रो र चौथो संस्करण जितेको एपीएफले बिहीबार सम्पन्न पाँचौ संस्करणको फाइनलमा आयोजकमाथि ३–२ को जित निकाल्यो ।

एपीएफद्वारा उपाधिमा ह्याट्रिक

भद्रकालीस्थित आर्मी मुख्यालयको मैदानमा फाइनलको दोस्रो मिनेटमै सावित्रा भण्डारीले जारी प्रतियोगितामा व्यक्तिगत १२ औं गोल गर्दै एपीएफलाई अग्रता दिलाइन् । पेनाल्टी क्षेत्रभित्र डिफेन्सको खुट्टाबाट बल चोर्दै सावित्राले सहजै गोल गरिन् । खेलको ३२ औं मिनेटमा सपना लामाको गोलमा आर्मी खेल बराबरी गर्न सफल भयो । उनले पेनाल्टी क्षेत्रको दायाँ भागबाट पोस्टतर्फ गरेको प्रहार विपक्षी गोलरक्षक एन्जिलाले ठम्याउन सकिनन् ।

विजेतालाई ट्रफी प्रदान गरिँदै । तस्बिर : इलिट जोशी/कान्तिपुर

 

पहिलो हाफको तीन मिनेट बाँकी हुँदा एपीएफले फेरि अग्रता लियो । रेनुका नगरकोटेले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डरको टाउकोमा लागेपछि गोलरक्षक अन्जना रानामगर बिट हुँदै गोल भएको थियो । इन्ज्युरी समयको अन्तिम मिनेटमा अन्जनाले एपीएफकी अनिता बस्नेतको प्रहारलाई विफल पार्दै अग्रता बढ्न दिइनन् ।
 

दोस्रो हाफको सुरुमै आर्मीले खेल बराबरी गर्ने सुनौलो मौका गुमायो । शर्मिला थापामगरले वान भर्सेस वानको स्थितिमा गरेको प्रहार एन्जिला सुब्बाले विफल पारिन् । लगत्तै अर्कोतर्फ अनिताको प्रहार अन्जनाले बचाइन् । त्यसै बचाउले निम्त्याएको कर्नरमा एपीएफले अग्रता दोब्बर पार्‍यो । मन्जली योन्जनले प्रहार गरेको कर्नरमा कप्तान सजना रानामगरले हेड गर्दै एपीएफको अग्रता दोब्बर पारिन् । कर्नरमा आर्मीको डिफेन्स मूकदर्शक बन्दा होचो कदकी सजनाले सहजै गोल गरिन् । खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा कृष्णा खत्रीले गोल गर्दै गोलअन्तर घटाए पनि उक्त गोल नतिजा फेर्न पर्याप्त रहेन ।
 

एपीएफलाई लगातार दोस्रोपल्ट आफूले उपाधि जिताएपछि प्रशिक्षक जनक सिंहले लामो समयदेखिको टोलीको मिहिनेत सार्थक भएको बताए । एपीएफले तेस्रो संस्करणको उपाधि जित्दा भने रत्नकाजी महर्जन प्रशिक्षक थिए । टोलीकी कप्तान सजना रानाले चोटका कारण लामो समय बाहिर रहे पनि सुखद पुनरागमन गर्न पाउँदा खुसी व्यक्त गरिन् । उनी फाइनलको प्लेयर अफ द म्याच पनि घोषित भइन् । पराजित टोलीका प्रशिक्षक आदर्श मल्लले सुरुमै गोल खाएपछि टोलीले दबाबमा रहेर खेल्नुपरेकाले जित हात पार्न नसकेको बताए ।
 

उपाधि विजेता एपीएफले ३ लाख र उपविजेता आर्मीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए । सेमिफाइनल पुगेका मध्यमाञ्चल र नेपाल पुलिस क्लबले समान ५० हजार प्राप्त गरे । प्रतियोगिताको पहिलो खेलमै पराजित सिक्किमेली क्लबले फेयर प्लेको उपाधि हात पार्‍यो ।

 

 

व्यक्तिगत उपाधि

विधा नाम/टिम पुरस्कार

सर्वोत्कृष्ट खेलाडी   सपना लामा (आर्मी) स्कुटर

सर्वाधिक गोलकर्ता   सावित्रा भण्डारी (एपीएफ) २५ हजार

उत्कृष्ट प्रशिक्षक   जनक सिंह (एपीएफ) १० हजार

उत्कृष्ट गोलरक्षक   एन्जिला सुब्बा (एपीएफ) १० हजार

उत्कृष्ट डिफेन्डर   मनमाया लिम्बू (एपीएफ) १० हजार

उत्कृष्ट मिडफिल्डर दिपा राई (आर्मी) १० हजार

उत्कृष्ट फरवार्ड कृष्णा खत्री (आर्मी) १० हजार

प्रकाशित : मंसिर ८, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?