कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरको सान

काँकडभिट्टा — मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलमा शुक्रबार झापा ११ सुदूरपश्चिम ११ सँग टाइब्रेकरमा ५–४ ले स्तव्ध भयो । झापाको यो सिजनकै तेस्रो पराजय हो ।

सुदूरको सान

काँकडभिट्टा माविको मैदानमा घरेलु दर्शकको समर्थन पाएर पनि डिफेन्डिङ च्याम्पियन झापा पहिलो खेलबाटै बाहिरियो । जितसँगै सुदूरपश्चिमले आइतबार नेपाल आर्मीसँगको भेट पक्का गरेको छ ।

यसअघि दुधे गोल्डकपमा हिमालयन शेर्पासँग टाइब्रेकरमा पराजित झापा भर्खरै सताक्षी गोल्डकपमा आर्मीसँगको सेमिफाइनल गुमाएको थियो ।

निर्धारित समयमा २–२ को बराबरी भएपछि टाइब्रेकरवाट निर्णय लिइएको थियो । सुदूरपश्चिमका नरेन्द्र चौधरी, राकेश हमाल, चेतन थारु, विनोद केसी र फिलिप तामाङले गोल गरे । झापाका योगेश गुरुङ, दिलेन लोक्तान, सुमिन मैनाली र छिरिङ गुरुङले गोल गरे । कप्तान नरेन्द्र लिम्बूको प्रहार गोलरक्षक अनन्त शेखले बचाए ।

सुरुदेखि आक्रामक देखिएको सुदूरपश्चिमले पहिलो हाफसम्म झापामाथि एकपछि अर्काे आक्रमण गरेको थियो । सुदूरका रामसिंह रानाले प्रहार गरेको बलमा झापाका सेगुन बाधक बने । १५ औं मिनेटमा चेतन थारुको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।
खेलको १९ औं मिनेटमा झापाका स्ट्राइकर कर्ण लिम्बूलाई लडाएपछि प्राप्त फ्रि–किक उनैले प्रहार गर्दा पोलभन्दा माथिबाट बाहिरियो । झापाका मार्टिन ३० औं मिनेटमा अर्काे अवसरमा गोल गर्न चुके । उनले हानेको दर्शनीय प्रहार गोलरक्षक अनन्तले बचाए । झापाका विशाल राईको पासमा सेगुनले ३८ औं मिनेटमा फेरि अवसर चुकाए ।

दुवै टिमबाट पाएको राम्रा अवसरमा स्कोर गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।

मध्यान्तरपछि ४५ औं मिनेटमा सुदूरपश्चिमका राकेश हमालको फ्रि–किकमा विसुन गुरुङले हेडरद्वारा सानदार गोल गर्दै टोलीलाई अग्रता दिलाए । झापाका सुमिन मैनालीले फाउल गरेपछि सुदूरपश्चिमले फ्रि–किक पाएको हो । एक गोलले पछि परेपछि झापा आक्रामक रूपमा प्रस्तुत भयो । ६४ औं मिनेटमा झापाका मार्टिनले एक्लै अघि बढाएको बलमा गोल गर्दा गोलकिपर अनन्त शेखले भेउ पाएनन् ।

अन्तिम समयतिर ८१ औं मिनेटमा सुदूरपश्चिमका चेतन थारुले फ्रि–किकबाट गोल गर्दै पुन: टोलीलाई २–१ को अग्रता दिलाए । झापाका सन्जोग राईले ह्यान्ड गरेपछि सुदूरले उक्त मौका पाएको हो । त्यही मौका चेतनले सदुपयोग गरे ।

चेतनले गोल गरेको तीन मिनेट बित्न नपाउँदै मार्टिनले दोस्रो गोल थप्दै खेलम बराबरी बनाए । झापाका विशाल राईले हानेको बलमा सुदूरपश्चिमका डिफेन्ससँग रिबाउन्ड भएको बलमा मार्टिनले गोल गरेका थिए ।

झापाका कर्ण लिम्बू, विशाल राई, योगेश गुरुङ, सन्जोग राई, अफ्रिकन मूलका सेगुन, पिटरले राम्रा अवसर गुमाए । झापाका प्रशिक्षक प्रवेश कटुवालले रेफ्रीको गलत निर्णयले पराजित हुनुपरेको आरोप लगाए । उनले भने, ‘हामीलाई भाग्यले पनि साथ दिएन ।’

सुदूरपश्चिमका प्रशिक्षक सुरेश हमालले झापाजस्तो बलियो प्रतिद्वन्द्वीलाई पराजित गर्न हम्मे परेको बताए । उनले टोलीको मिडफिल्ड बलियो नहुँदा स्कोर गर्न चुकेको प्रस्टीकरण दिए । म्यान अफ द म्याच सुदूरपश्चिमका गोलकिपर अनन्त शेख भए । उनले १० हजार पाए । शनिवार मनाङ मस्याङ्दी र रूपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : मंसिर ९, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?