कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'ए' डिभिजन लिग फुटबल अब कहिले ?

सुबास हुमागाईं

काठमाडौं — आज मंसीर १४ । अखिल नेपाल फुटबल संघ (एन्फा) को साउन ३२ गते बसेको कार्यसमिति बैठकले आजैबाट ‘ए’ डिभिजन लिग गर्ने मिति तोकेको थियो । तर, उक्त निर्णय कागजमै सीमित भएको छ ।

 'ए' डिभिजन लिग फुटबल अब कहिले ?

लिग आयोजना हुने कुनै छाँटकाँट छैन । लिग स्थगनसम्बन्धी कुनै औपचारिक परिपत्रसम्म क्लबहरूले पाएका छैनन् । अहिलेसम्म एन्फाले मिति सार्ने विषयमा औपचारिक सम्पर्कसमेत गरेको छैन ।

साउन अन्तिम साता बसेको बैठकमा १२ टोलीको सहभागिता रहने ‘ए’ डिभिजन भनिए पनि त्यसको महिना दिन नबित्दै अर्को निर्णय आयो । भदौ २९ को बैठकले आयोजना मिति हेरफेर नगरी सहभागी टोलीसंख्या १६ पुर्‍यायो । राजधानीका १२ ‘ए’ डिभिजन क्लबसँगै राष्ट्रिय लिग खेलेका ४ मोफसल क्लबलाई पनि ‘ए’ डिभिजनमै सहभागी गराउने निर्णय गर्‍यो । त्यसअघि एन्फाले वैशाख दोस्रो साता गर्ने भनेको लिग भदौलाई सारेको थियो । एन्फाले लिगको मिति सारिरहँदा भूकम्पले प्रभावित दशरथ रंगशालाको पुनर्निर्माण कछुवा गतिमा बढिरहेको छ । एक समय लिग नहुनुको कारण दशरथ रंगशाला बताउँदै आएको एन्फा अहिले त्यसबारे मौन छ । एसियन कपका खेलहरू हल्चोकस्थित एपीएफ रंगशाला र एन्फाकै कृत्रिम मैदानमा गरेपछि रंगशालाबिनै लिग गर्ने सकिने अवस्था छ । त्यसो त भूकम्पपछि राष्ट्रिय लिगको आधाभन्दा बढी खेल एन्फाकै मैदानमा भएको थियो । त्रिभुवन आर्मीले केही साताअघि उद्घाटन गरेको भद्रकालीस्थित आर्मी मुख्यालयको मैदान पनि विकल्पका रूपमा अगाडि आएको छ ।
त्यसबीच लामो समयदेखि कायम रुस्लान थ्री स्टार क्लबको क्षतिपूर्ति विवाद कार्यसमितिको निर्णयसँगै एन्फाको विशेष साधारणसभाबाट पारित गरियो । एएफसी कप छनोटको प्लेअफ पार गरेको थ्री स्टारले एन्फाको गल्तीका कारण उक्त प्रतियोगिताको अघिल्लो चरणमा खेल्न नपाएपछि ठूलै समस्या निम्तिएको थियो । लगभग एक वर्षपछि पार लागेको उक्त समस्याका कारण थ्री स्टारले कुनै प्रतियोगिता खेलेन । १ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति निर्धारण भइसक्दा पनि थ्री स्टार मैदानमा उत्रिएको छैन ।
थ्री स्टारका कार्यवाहक अध्यक्ष अरुणमान जोशीका अनुसार क्लबले पहिलो किस्ताको रकम प्राप्त गरेपछि मात्र कुनै प्रतियोगितामा सहभागिता जनाउने छ । ‘एन्फाले निर्णय कार्यान्वयन गरेर क्षतिपूर्ति उपलब्ध गराएसँगै हामी मोफसलका प्रतियोगितामा भाग लिन्छौं । हामीले त्यसका लागि आन्तरिक तयारी गरिरहेका छौं । एन्फाले एक साताभित्र क्षतिपूर्तिको पहिलो किस्ता तिर्ने भनेको छ । त्यसपछि हामी मैदान उत्रन्छौं,’ उनले भने । एन्फाले बढीमा तीन किस्तामा क्षतिपूर्ति रकम मंसिर १० सम्म प्रदान गरिसक्ने पूर्वसम्झौता थियो । इतिहास पल्टाउने हो भने नेपालको शीर्ष डिभिजनको लिग पटक(पटक रोकिएको छ । विगत २८ वर्षयता जम्मा १३ पटक मात्र लिग भएको छ । यसले नेपाली फुटबलको अस्थिरता र अनिश्चितता लामो समयदेखि रहिआएको प्रमाणित गर्दछ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङी क्लबले २०७० सालको ‘ए’ डिभिजन लिग जितेपछि नेपालमा शीर्ष डिभिजनको लिग फुटबल भएको छैन ।
२०७२ सालमा एन्फाले प्रयोगात्मक रूपमा राष्ट्रिय लिग गर्‍यो । मोफसलका चार क्लबलाई प्रावधानबिना राष्ट्रिय लिग खेल्ने मान्यता दिएको एन्फाले त्यस बेला लिगको दसौं स्थानको आर्मीलाई राष्ट्रिय लिगमा छनोट गरेको थियो । आर्मीभन्दा माथि रहेका अन्य क्लबले भने उक्त लिगमा सहभागिता जनाउन पाएनन् । प्रयोगात्मक भनेर आयोजित उक्त लिगको अस्तित्व स्थापनादेखि शंकाको घेरामा थियो । ‘ए’ डिभिजन लिग नै आयोजना गर्न नसकेको अवस्थामा हाल राष्ट्रिय लिगबारे सोच्न पनि सकिन्न । राष्ट्रिय लिगले निरन्तरता नपाए पनि नयाँ चार क्लब थपिँदा फेरि नयाँ विवाद स्थापित भएको छ । 
एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठका अनुसार एन्फाले केही दिनमै सहभागी क्लबसँग बैठक राखेर लिगको मिति तय गर्दै छ । ‘हामीले विविध कारणले गर्दा लिग समयमा गर्न सकेनौं । तर अब छिट्टै मिति तोकेर आवश्यक प्रक्रिया अगाडि बढाउने छौं । क्लबहरूले लिग सुरु हुनुअघि दुई महिना समय माग्ने सम्भावना देखिएको छ । त्यसबीचमा जिल्लाको निर्वाचन पनि सकिन्छ,’ उनले भने । एन्फाको विशेष साधारणसभाको निर्णयअनुसार मंसिरसम्म जिल्ला निर्वाचन प्रक्रिया पूरा हुनुपर्ने थियो । तर प्रतिनिधिसभा र प्रादेशिक चुनावका कारण निर्वाचन आयोगले उक्त प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएसँगै जिल्ला र केन्द्रकै निर्वाचनमा असर परेको हो । अध्यक्ष श्रेष्ठका अनुसार अब छिट्टै सबै प्रक्रिया सुचारु हुनेछ । उनले एन्फा जिल्ला र केन्द्र निर्वाचनको मितिले लिग आयोजनामा कुनै असर नपर्ने जिकिर गरे ।
मारमा खेलाडी 
करिब ६ दशक लामो इतिहास बोकेको सहिद स्मारक ए डिभिजन लिग नभएको चार वर्ष लागिसक्यो । लिग नभएकै कारण राष्ट्रिय टोलीमा खेलाडीको खंडेरी परिरहेको छ । उमेर समूहको स्थिति झनै दर्दनाक छ । घरेलु फुटबलको संरचना सुदृढ नहुँदा नयाँ खेलाडीको उत्पादन शून्यप्राय: छ । भएका केही खेलाडीहरू पनि रोजगारीका लागि विदेसिने सिलसिला रोकिएको छैन ।
मोफसलका प्रतियोगितामा केही पुराना खेलाडी छन् भने बाँकी सबै उमेर समूहमा खेल्ने स्तर नपुगेका खेलाडीको बाहुल्य छ । मोफसलका प्रतियोगितामा खेलाडीको कमी भएकै कारण ती खेलाडीहरू एकै समयमा दुई–तीन प्रतियोगितामा फरक–फरक टोलीका लागि खेल्न बाध्य छन् । आर्थिक हिसाबले लाभदायी भए पनि दैनिकजसो नयाँ टोली र फरक परिस्थितिमा खेल्दा खेलाडीको स्तर भने सुध्रदैन ।
अहिलेको अवस्थामा लिग आयोजना गर्दा प्रत्येक टोलीमा कम्तीमा २५ खेलाडी हुन्छन् । १६ टोलीको सहभागिता हुँदा लिगलाई ४ सय खेलाडी आवश्यक पर्छ । वर्तमान परिपेक्ष्यमा १६ टोलीलाई ‘ए’ डिभिजन स्तरको टोली बनाउन लगभग असम्भव छ । लगातार चार वर्ष लिग नहुँदा नयाँ खेलाडी उत्पादन रोकिएको छ । पुराना केही खेलाडीले खेल्न छाडिसके, केही विदेश पुगेका छन् । खेलमा सक्रिय खेलाडी पनि आफ्नो करिअरको अन्त्यतिर पुगिसकेका छन् ।

समस्या क्लबलाई
एन्फाले लिग आयोजना गर्ने भनेसँगै ‘ए’ डिभिजन क्लबले खेलाडीको अन्तरिक अनुबन्धन गरेको धेरै समय भइसक्यो । लिग आयोजना नहुँदा क्लबले खेलाडीलाई लिगका लागि गरेको अनुबन्धन रकम नियमित रुपमा दिइरहेको छ । अनुबन्धन हुनेमा मुख्यत: ठूला खेलाडी छन् । त्यसो नगरे लिग हुँदा राम्रा खेलाडी नपाउने डर क्लबलाई उत्तिकै छ ।
डिफेन्डिङ लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले लिगलाई भनेर दर्जन बढी खेलाडी अनुबन्धन गरिसकेको छ । तर लिग नहुँदा क्लबलाई ठूलो आर्थिक भार परिरहेको क्लबका महासचिव मुखिया लामा बताउँछन् । ‘हामीले लिग हुन्छ भनेर मंसिरदेखि खेलाडीलाई अनुबन्धन गरिसक्यौं । राष्ट्रिय टोलीका खेलाडीलाई अनुबन्धन नगरे लिगको समयमा अन्य क्लबले लैजाने डर हुन्छ । यसै पनि नेपालमा खेलाडीको कमी छ । अहिले लिग नहुँदा पनि खेलाडीलाई नियमित तलब दिनैपर्छ,’ उनले थपे, ‘अब लिगका लागि भनेर विदेशी खेलाडी ल्याउने प्रक्रिया अगाडि बढाइसकेका छौं । राम्रा विदेशी खेलाडी ल्याउने प्रयासमा छौं तर लिगको मिति तय नहुँदा ठूलो समस्या छ ।’
अन्तत: नियमित लिग फुटबल नहुँदा देशको फुटबल विकास रोकिएको कुरा नौलो रहेन । एन्फाले अब कुनै बिलम्ब नगरी लिग आयोजना नगर्ने हो भने यसको नतिजा दुर्भाग्यपूर्ण हुन्छ । राष्ट्रिय टोलीको खस्कँदो प्रदर्शन, राष्ट्रिय टोली र उमेर समूहको टोली गठनमा खेलाडीको कमीलगायत यावत् समस्या अझै जटिल बन्दै जाने छन् । विस्तारै बामे सर्दै गरेको ग्रासरुट फुटबल नै निरुत्साहित हुने सम्भावना उत्तिकै छ । छिटोभन्दा छिटो लिग फुटबललाई राम्रो गति दिन नसके अल्पविराम लागिरहेको फुटबल विकासमा पूर्णविराम लाग्ने फुटबलकर्मीहरूकै ठम्याई छ ।


मोफसलले विकल्प दिँदैन
लिग नभएको अवस्थामा मोफसलमा भइरहेका प्रतियोगिताले केही हदसम्म फुटबल खेलाडीलाई जीविकोपार्जन गर्न सहयोग गरेको छ । तर कुनै टुंगो नभएका यस्ता प्रतियोगिताले खेलाडीको भविष्यमा भने ठूलो प्रश्नचिन्ह खडा गरेको छ । मोफसलको प्रतियोगितामा खेल्दा क्लबहरूले प्रतिखेल अनुसारको पैसा दिने प्रावधान छ । यसले गर्दा खेलाडीको आम्दानीको कुनै भर हुन्न । दुर्भाग्यवश कुनै चोटपटक लागेमा पनि खेलाडीलाई क्लबको साथ कमै मिल्छ ।
एन्फाका प्रवक्ता तथा सहायक महासचिव सन्जीव मिश्र मोफसलका यस्ता प्रतियोगिताले खेलाडीलाई फुटबलमा लागिरहन केही हदसम्म प्रोत्साहन गरिरहेको विचार राख्छन् । ‘मोफसलमा खेलेर खेलाडीले फुटबलमा लाग्ने बाटो पाएका छन् । यसले लिग नहुँदा फुटबलमा महत्त्वपूर्ण भूमिका खेलेको छ । तर क्लबसँग अनुबन्धन नहुँदा भने खेलाडीलाई बेफाइदा पक्कै छ । उनीहरूको स्तरोन्नतिका लागि पनि लिग आवश्यक छ,’ उनले भने ।
यता क्लबहरूको अवस्था पनि उस्तै छ । लिग नहुँदा नियमित प्रायोजक त परको कुरा, खेलाडीलाई दिने पैसा उठाउन पनि हम्मे–हम्मे पर्छ । यदि उपाधि नजित्ने हो भने ठूला क्लबले घाटा बेहोर्नुपर्ने स्थिति छ । पुलिसजस्तो विभागीय टोलीले नियमित मोफसलको प्रतियोगिता नखेल्नुले पनि अन्य क्लबलाई कति समस्या हुन्छ भन्ने आँकलन गर्न सकिन्छ ।
एन्फाको विकास निर्देशकसमेत रहेका मिश्र लिग नहुँदा क्लबलाई असर परेको स्विकार्छन् । ‘मोफसलको प्रतियोगिताले लिगको कमी थेग्न पक्कै सक्दैन । विभागीय टोलीलाई कम असर परे पनि अन्य क्लबलाई भने यसले समस्यामा पार्छ । आर्थिक र प्राविधिक रूपमा पनि अन्य क्लबले विभागीय क्लबसँग प्रतिस्पर्धा गर्न यस्तो अवस्थामा कठिन हुन्छ,’ उनले थपे । मोफसल खेलेर मात्र क्लबको आर्थिक अवस्था सम्हाल्न गाह्रो त छ नै, मोफसलका प्रतियोगिताहरू आयोजनामा पनि उत्तिकै कमजोरी हुन्छ । एन्फाले उचित ढंगले नियमन गर्न नसक्दा समय समयमा यस्ता प्रतियोगितामा ठूलै विवाद निम्तिने गर्दछ । यसले समग्र खेलको भावनामै प्रश्न उठिरहेको हुन्छ । खेलाडीले पनि दिनैपिच्छे क्लब परिवर्तन गर्दा सोचेअनुरुप प्रदर्शन गर्न सक्दैनन् । त्यसैले एकाधबाहेक मोफसलका अन्य प्रतियोगिताले फुटबललाई जीवन्त मात्र पारेका छन्, खेल र खेलाडीको विकासमा तिनले खासै भूमिका खेलेका छैनन् ।
मिश्रका अनुसार मोफसलको महत्त्व बढ्दै गएकाले एन्फाले पनि यसलाई उचित ढंगले नियमन गर्न थालिसकेको छ । उनले भने, ‘एन्फाले स्वीकृति दिएको प्रतियोगितामा हामीले उचित ढंगले 
संचालन गर्न भनिरहेका छौं । मैदानको अवस्थादेखि प्राविधिक जनशक्तिसम्म सबैमा हामीले राम्रो गर्न आफैं पनि सहयोग दिएका छौं । लिग नभएको अवस्थामा यस्तो प्रतियोगितालाई नियमन गरेर अगाडि बढाउनुपर्छ । पछि लिग हुँदा पनि अफ–सिजनमा यस्तो प्रतियोगिता निकै सहयोगी हुन् सक्छन् ।’

प्रकाशित : मंसिर १४, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?