महेशलाई ‘नेपालगन्ज स्पोर्ट्स’ सम्मान

काठमाडौं — राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर/ब्याट्सम्यान महेश क्षेत्रीलाई शुक्रबार ‘नेपालगन्ज स्पोर्ट्स’ बाट सम्मानित गरिएको छ । उनलाई सम्मानस्वरुप शुक्रबार राजधानीमा सुजुकी स्विस स्कुटर प्रदान गरियो ।

महेशलाई ‘नेपालगन्ज स्पोर्ट्स’ सम्मान

क्रियटिभ ह्यान्डसले नेपालगन्जमा जन्मिएर नेपाली क्रिकेटको विकासमा योगदान दिएको भन्दै सम्मान गरेको हो । ६ वर्षअघि यस संस्थाले नेपालगन्जकै अर्का क्रिकेटर नेरी थापामगरलाई स्कुटरसहित सम्मान गरेको थियो ।

यूएईमा सन् २००२ मा भएको एसीसी यू–१५ देखि महेशले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दै आएका छन् । नेपालमा २००५ मा भएको एसीसी यू–१९ खेलेका उनले त्यसपछि २००६ र २००८ मा गरी दुईपल्ट आईसीसी यू–१९ विश्वकप खेले । २००६ मा मलेसियामा भएको एसीसी ट्रफीबाट ‘डेब्यू’ गरेका महेश हाल भने नेपाली टोलीमा छैनन् । सन् २०१५ मा स्कटल्यान्डमा उनले स्कटल्यान्डविरूद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पछिल्लोपल्ट नेपाली टोलीबाट खेलेका थिए ।

महेशले आफूले खेलजीवनको सबैभन्दा ठूलो सम्मान पाएको बताए । उनले भने, ‘खेलजीवनमा मैले ठूलो संघर्ष गरेको छु । निकै दु:ख पाएँ तर आज सम्मानित हुँदा निकै उर्जा प्राप्त भएको छ । देशका लागि अझै मिहिनेत गर्नेछु ।’

राष्ट्रिय खेलकुद परिषदा सदस्यसचिव केशवकुमार विष्ट, सशस्त्र प्रहरी बलका पुर्व महानिरिक्षक शैलेन्द्र श्रेष्ठ, नेपाली सेनाका महासेनानी तथा पुर्व राष्ट्रिय भलिबल खेलाडी मीनध्वज खडा, क्रियटिभ ह्यान्डसका अध्यक्ष टीएस ठकुरी, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिती कोषाध्यक्ष मेनुका पछाईलगायतले सम्मान गरे ।

नेपालगन्जबाट क्रिकेट करिअर सुरु गरेका महेशले बाँके, मध्यपश्चिमको कप्तान भएर घरेलु प्रतियोगितामा खेलेका थिए । हाल उनी त्रिभुवन आर्मी क्लबबाट खेल्छन् । मध्य तथा सुदूरपश्चिम क्षेत्रबाट खेल करिअर सुरु गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महत्त्वपूर्ण सफलता पाएका खेलाडीलाई क्रियटिभ ह्यान्डसले सम्मान दिँदै आएको छ ।

क्रियटिभ हयान्डसले नेपालगन्जमा म्याराथन, अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल गर्दै आएको छ । संस्थाले प्रधानमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा मुख्य प्रायोजकको रूपमा सहयोगसमेत गर्दै आएको छ ।

प्रकाशित : मंसिर १५, २०७४ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?