थ्री स्टारले अझै पाएन क्षतिपूर्ति

राजु घिसिङ

काठमाडौं — एएफसी कप प्ले–अफबाट वञ्चित गरिएकामा थ्री स्टार क्लबलाई एक करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति दिन तोकिएको समय नाघे पनि उसलाई शुक्रबारसम्म अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुनै रकम दिएको छैन ।

थ्री स्टारले अझै पाएन क्षतिपूर्ति


राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टको रोहबरमा असोज १८ गते एन्फाले क्षतिपूर्तिस्वरुप थ्री स्टारलाई बढीमा तीन किस्तामा १ करोड ५० लाख रुपैयाँ मंसिर १० सम्म दिने सम्झौता भएको थियो । ‘मंसिर १० गते गइसक्यो,’ थ्री स्टारका कार्यवाहक अध्यक्ष अरुणमान जोशीले भने, ‘एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले शुक्रबार (१५ गते) दिन्छु भनेका थिए तर आज आएर सार्वजनिक बिदा परेको भन्दै दिन नसकिने बताए ।’
‘दिन्छु भनेको छ तर अहिलेसम्म दिएको छैन,’ जोशीले भने, ‘क्लबलाई मात्र होइन, यसले नेपाली फुटबललाई नै अप्ठ्यारो बनाएको छ । निकासका लागि अब के गर्ने भन्ने हामी क्लबमा छलफल गरी अगाडि बढ्ने छौं ।’ एन्फाले क्षतिपूर्ति दिएन भने थ्री स्टारले के गर्ने भन्ने कुनै कुरा सम्झौतामा लेखिएको छैन । एन्फासँग क्षतिपूर्ति शीर्षक बजेटमा पनि व्यवस्था गरिएको छैन । त्यसैले पनि एन्फाले थ्री स्टारसँग गरेको सम्झौता नेपालको कानुन र प्रचलित ऐनअनुसार नभएको भन्दै कानुनविदहरूले त्यसलाई ‘हचुवामा गरिएको सम्झौता’ भनेका थिए ।
आर्थिक समस्याकै कारण एन्फाले थ्री स्टारलाई क्षतिपूर्ति दिन नसकेको एन्फा स्रोतको दाबी छ । उसले टेलिभिजन प्रसारण र प्रायोजन अधिकार बिक्री र कोकाकोला कप आयोजनाको रकम पनि पाइसकको छैन । ‘आउनुपर्ने रकम एन्फामा आइसकेको छैन । त्यसैले समय गइसके पनि सहमति गरेर दुई–चार दिनमै थ्री स्टारलाई क्षतिपूर्ति दिन्छौं,’ एन्फाका महासचिव धिरेन्द्र प्रधानले भने ।
थ्री स्टारलाई क्षतिपूर्ति दिने निर्णयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज २२ मा ‘के–कसो भएको हो जानकारी गराउनू’ भनी एन्फालाई निर्देशन दिएको थियो । नियमानुसार उक्त निर्णय गरिएको दाबी गर्दै एन्फाले अख्तियारलाई जवाफ दिइसकेको छ । त्यसबारे अख्तियारले अनुसन्धान जारी राखेको छ ।
एसियाली क्लब फुटबलको दोस्रो महत्त्वपूर्ण प्रतियोगिताको गत वर्ष मंगोलियामा भएको प्रारम्भिक छनोटको शीर्षस्थानमा रहेर थ्री स्टार प्ले–अफ छनोट पुगेको थियो । तर एसियाली फुटबल महासंघ (एएफसी) ले चारपल्ट पत्राचार गरे पनि एन्फाले प्रतियोगितालाई टिम दर्ता नगरेपछि थ्री स्टारले प्ले–अफ खेल्ने अवसर गुमाएको थियो । यसबारे अध्ययन गर्न एन्फामा दुई समिति नै बने तर दुवैले दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै एन्फाको कार्यसमिति बैठकमा चर्को आलोचना भएको थियो ।
वरिष्ठ उपाध्यक्ष मणि कुँवर संयोजकत्वको समितिको प्रतिवेदनलाई पारित गर्दै कार्यसमिति बैठकले विशेष साधारणसभाबाट अनुमोदन गरी क्षतिपूर्तिस्वरुप १ करोड ५० लाख थ्री स्टारलाई दिने निर्णय गर्दै दोषी पाइएका महासचिव धिरेन्द्र प्रधान, कर्मचारी गोकुल थापा र वसन्त रिजाललाई दसैं विदा पारेर १५ दिन पदीय जिम्मेवारीमुक्त गरिएको थियो । असोज २३ मा भएको एन्फाको विशेष साधारणसभाले थ्री स्टारलाई क्षतिपूर्ति दिने निर्णय अनुमोदन गरेको थियो ।

 

प्रकाशित : मंसिर १६, २०७४ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?