ड्रिम २०२०

हिमेश

काठमाडौं — धेरै अर्थमा यो कथा खेलाडीको होइन, खेलाडीका आमाबुवाको हो । पक्कै पनि पटकथा टेनिस खेलाडी संरक्षणभूषण बज्राचार्यको वरीपरी घुम्ने छ । धेरैअघि सूर्यभूषण र रेणु भारतको पटियालामा एनआईएस कोर्स गर्न गएका थिए, जति बेला उनीहरू आफैं टेनिसका खेलाडी थिए ।

ड्रिम २०२०

खेलाडी त उनीहरू औसत नै थिए, सायद त्यसैले उनीहरूको ध्यान प्रशिक्षणमा बढी थियो । खेलाडी छँदा उम्दा प्रशिक्षक नपाएको गुनासो थियो, उनीहरूको । 

त्यसैले निर्णय गरे, आफैं राम्रो प्रशिक्षक बने । पटियालाबाट फर्केयता उनीहरू टेनिसका प्रशिक्षक मात्र बनेनन्, जीवनसाथी नै बने । अनि एउटा सपना देखेका रहेछन्, आफ्ना सन्तानलाई अब्बल दर्जाको टेनिस खेलाडी बनाउने । त्यो सपना नेपालमै मात्र जित्ने टेनिस खेलाडीका लागि थिएन । बरु थियो त, एटीपी खेल्ने खेलाडी, अझ सके कुनै ग्रान्ड स्लाम खेल्ने खेलाडीको । विवाहयता उनीहरूबाट दुई छोरा भए, जेठो संरक्षण र कान्छो सम्यकभूषण । 
दुवै टेनिस खेल्छन् । अहिले तत्कालका लागि संरक्षणमाथि टिकेको छ, वज्राचार्य परिवारको सपना । संरक्षण पक्कापक्की टेनिसकै खेलाडी जस्ता छन्, उनले यो खेललाई सुहाउँदो शरीर पनि पाएको छ । खेल त राम्रो भयो नै, त्यसैले त उनी नेपालका नम्बर एक खेलाडी हुन् । उनीसँग जोडिएको त्यो भन्दा ठूलो तथ्य हो, उनले नेपालका घरेलु प्रतियोगितामा अहिलेसम्म हारको मुख हेर्नुपरेको छैन । अर्थात संरक्षणले नेपालका घरेलु प्रतियोगितामा खेले, सबै जिते । 
पाँच वर्षको उमेरदेखि खेल्न सुरु गरेका संरक्षणले एक दशकभन्दा बढी समय त टेनिसमै बिताइसके । एउटा अनुमान उनका लागि सूर्य र रेणुले कति धेरै त्याग गरे होलान् ? उनीहरू अगाडि हेरेनन्, पछाडि हेरेनन् । जति हेरे संरक्षणको खेलमात्र हेरे । उनीहरूले आफ्नो पछिल्लो जीवन नै यसका लागि समर्पित गरेभन्दा पनि फरक पर्दैन् । यसमा धेरै हाँसो र उत्तिकै संघर्ष पनि लुकेको छ । यसलाई बज्राचार्य परिवारका अरु सदस्यले पनि सहयोग गरेका छन् । 


आफ्ना सन्तानको भविष्यप्रति बाबुआमाले यसरी धेरै समर्पण गरेको कथा धेरै सुन्न पाइन्छ । संरक्षणको प्रसङ्गमा यो खेलकुदको कथा हो । अहिले बुवा सूर्यभूषणलाई लागेको छ, सायद ती दिन आए, जति बेला उनीहरूले देखेको सपना पूरा हुनसक्छ । उत्तिकै रमाइलो प्रसङ्ग के भने बज्राचार्य परिवार जति पनि प्रविधिसँग जोडिएका छन्, ती सबैमा ‘पासवर्ड’ टान्टी–टान्टी हुने गर्छ । अर्थात् सन् २०२० । यो समय सीमा किनभन्दा उनीहरूलाई लागेको छ, सन् २०२० सम्म उनीहरूको सपना पूरा हुनसक्छ । 
अबका तीन वर्ष वज्राचार्य परिवारका लागि परीक्षाजस्तै हुनेछ । उनीहरूले आस गर्नेछन्, संरक्षणले त्यो सपना पूरा गरोस् । ‘हामीलाई लागेको छ, त्यो दिन अब आउँदै छ,’ भावुक सूर्यभूषण दोहोर्‍याउँदै भन्ने गर्छन् । यसको आधार के हो त ? यससँग जोडिएको अर्को प्रसङ्ग यसरी जोडिन्छ र यो धेरैका लागि नयाँ हुनसक्छ । नेपाली टेनिससँगै जोडिएका धेरैका लागि पनि नयाँ । संरक्षण केही समयमै अस्ट्ेरलिया जाँदै छन् । किनभने उनले त्यहाँ टेनिस खेल्न ‘स्कलरसिप’ पाएका छन् । 


त्यो पनि अस्ट्ेरलियाकै अब्बल दर्जाको कलेजमा । यो त्यो कलेज हो, जहाँ अस्ट्ेरलियाकै अभिवावकलाई पनि आफ्ना सन्तानले प्रवेश पाओस् भन्ने सपना हुन्छ । सपना मात्र बुनेर कहाँ पाइन्छ र ? पालो आउन समेत ४–५ वर्ष कुर्नुपर्छ । यो हो, ब्रिसवेनको ब्वाइज कलेज । यो क्विन्सल्यान्डमा पर्छ । यही कलेजबाट अस्ट्ेरलियाका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक जित्ने खेलाडी उत्पादन भएका छन् । विशेषत: यो कलेजलाई टेनिसमा दखलता प्राप्त छ । 
धेरै अस्ट्ेरलियालीले पनि मौका नपाउने यसै कलेजमा अब संरक्षण विद्यार्थी हुनेछन्, त्यहाँ खेल्नेछन् । केही दिनअगाडि संरक्षणका बुवा सूर्यभूषणसँग अस्ट्ेरलिया पुगेका थिए । कलेजका प्रशिक्षकहरू संरक्षणको खेल हेरेर प्रभावित नभएर बस्न सकेनन् । संरक्षणका लागि यी सबै भ्रमणको व्यवस्था मिलाएका थिए, त्यहाँ रहँदै आएका नेपाली चिकित्सक उमेश्वरलाल सिन्या । पाटनका रैथाने बज्राचार्य परिवारसँग सिन्याको लामो सम्बन्ध रहेछ । 
त्यही कलेजमा खेल्ने क्रममा एकपल्ट संरक्षणले त्यहाँको आफ्नो उमेर समूहका नम्बर ४ खेलाडीलाई पनि हराएका रहेछन् । जुन बेला निश्चित भयो, संरक्षणले त्यस कलेजमा अवसर पाउने तय भएको छ, बुवा सूर्यभूषणले आँसु रोक्न सकेनन् । त्यस क्षणयता उनीहरूले लामै रेलयात्रा गरे र त्यस अवधिमा एकअर्कासँग कमै बोले । बोल्ने शब्द नै थिएन । तर ती शब्दहरू आँसुका रूपमा झरे । ‘ओ हो, त्यो कति खुसीको अवसर थियो,’ अहिले सूर्यभूषण सम्झने गर्छन् । 
अस्ट्ेरलिया जानुअघि संरक्षणको एक महिना भारतको अहमदाबादमा हाइपर्फोमेन्स ट्रेनिङमा बित्यो । उनले आफ्नै खर्चमा त्यहाँको इन्टरनेसनल स्पोर्टस एकेडेमीमा प्रशिक्षण लिए, जहाँ भारतका शीर्ष खेलाडी खेल्छन् । पछिल्लो दुई वर्ष संरक्षकका लागि उत्कृष्ट रह्यो । सन् २०१५ मा सिंगापुरमा आईटीएफ यू–१८ जुनियर विश्व वरीयता खेले र यससँगै विश्व वरीयतामा छिरे । उनी अहिले अन्तर्राष्ट्रिय टेनिस वरीयतामा रहेका केही खेलाडीमा पर्छन् । 
सन् २०१४ मा संरक्षक अभ्यास गर्न बैंकक गए । उनले च्याङ थाइ ओपन टेनिस प्रतियोगिताको यू–१४ मा स्वर्ण पदक नै जिते । सेमिफाइनलमा उनले थाई नम्बर एक खेलाडीलाई हराएका थिए । संरक्षणसँग जोडिएका यस्ता प्रसङ्ग धेरै छन् । 
अब त्यो दिन पनि चाँडै आउने छ, जति बेला उनी साँच्चै अस्ट्ेरलिया जाने छन् । यहाँनिर पूरा पटकथाले मध्यान्तरमात्र लिएको छ । किनभने अब जति गर्ने हो संरक्षणले गर्नुपर्नेछ । प्रश्न हो, के संरक्षणले बुवा सूर्यभूषण र परिवारको सपना पूरा गर्नेछन् त ? र, यो हो, ड्रिम २०२० । 

प्रकाशित : मंसिर १६, २०७४ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?