अमेरिकासँग नेपालको कमजोर ब्याटिङ

काठमाडौं — यूएईसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलपूर्वको अभ्यास खेलमा नेपालले अमेरिकासँग ५ विकेटको हार भोगेको छ । यूएईको अबुधाबीमा टस हारेर ब्याटिङ गरेको नेपाल ३६.१ ओभरमा ८९ रनमै अलआउट भयो ।

अमेरिकासँग नेपालको कमजोर ब्याटिङ

नियमित कप्तान पारस खड्कासहित ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, विनोद भण्डारी, करण केसीबिना उत्रिएको नेपालविरुद्ध अमेरिकाले २२.३ ओभरमा लक्ष्य पूरा गर्‍यो । 
नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको अमेरिका गल्फ भ्रमणमा छ । अबुधाबीमा शनिबार केन्यासँग अर्को अभ्यास खेल खेलेपछि विश्व क्रिकेट लिग डिभिजन ३ मा रहेको अमेरिकाले ओमानमा गएर चार खेल खेल्नेछ । नेपालले आइतबार केन्यासँगै दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्नेछ । 
दिलीप नाथ र सागर पुनले २९ रन जोडेर राम्रो सुरुआत गरे । ११ औ ओभरमा रोय सिल्भाले सागरलाई ९ रनमा आउट गरेपछि नेपालको पतन सुरु भयो । जापिन पटेलले अर्को ओभरमा दिलीपलाई १६ र अनिल शाह (०) लाई २ बलअन्तरमा आउट गरे । पटेलले नै आरिफ शेखलाई ४ रनमै पेभेलियन पठाए । 
कप्तान शरद भेषावकर शून्यमा आउट भए । दीपेन्द्रसिंह ऐरीले १२ र कुशल भुर्तेलले १० रन बनाए । वसन्त रेग्मीले सर्वाधिक २१ रन बनाए । उनले ३१ बल खेल्दा २ चौका प्रहार गरे । सोमपाल कामी ६ र ललितसिंह भण्डारी १ रनमा आउट भए । सन्दीप लामिछाने १ रनमा नटआउट रहे । पटेलले ४.३ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए । 
ओपनर सैयद अब्दुल्लाहले ४४ रन बनाएपछि अमेरिकाले २२.३ ओभरमा ९४ रन बनाई लक्ष्य पूरा गर्‍यो । उनले ४० बलमा ३ चौका र ३ छक्का प्रहार गर्दा दुई छक्का सागरको बलमा थियो । सिल्भा २८ बलमा ३ छक्का प्रहार गरी २५ रनमा नटआउट रहे । नेपालबाट सोमपाल र सागरले २–२ विकेट लिए । नेपालले बुधबार र शुक्रबार यूएईसँग च्याम्पियनसिपको खेल खेल्दै छ ।

 

प्रकाशित : मंसिर १६, २०७४ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?