कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अल्ट्राको नशा

मीरा राई र समीर तामाङ तीन वर्षअघि एसियन च्याम्पियन भएसँगै नेपालमा अल्ट्रा दौडको लहर नै चलेको छ ।
राजु घिसिङ

काठमाडौं — भोजपुरका तीर्थबहादुर तामाङ एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि धनकुटा पुगेका थिए । उनी धनकुटा बहुमुखी क्याम्पसमा २०६२ सालतिर अध्ययन गरिरहेका थिए । त्यसैबेला धनकुटामा क्षेत्रीय खेलकुद भइरहेको थियो । उनले पहिलोपल्ट एथलेटिक्सको प्रतिस्पर्धा हेर्ने मौका पाएका थिए । ‘कुद्ने पनि खेल हुन्छ र भन्ने लाग्यो,’ उनले सुनाए, ‘कलेज पढ्दासम्म मलाई दौड्ने पनि खेल हो भन्ने थाहै थिएन ।’

अल्ट्राको नशा

कलेज छाडेको एक दशक पनि भएको थिएन, उनी ६ घण्टा १४ मिनेट ५३ सेकेन्डको कोर्स रेकर्ड बनाउँदै चीनमा भएको डाली अल्ट्रा स्काइम्याराथनमा पहिलो नै भए । यसबीच नेपाली सेनामा भर्ती भइसकेका उनको उपाधि यात्रा पनि रोचक छ । उनले १०० किमिको दौडमा ८० किमि पूरा गरिसकेका थिए । सन् २०१४ को घटनाबारे उनले भने, ‘दौड्दादौड्दै बस्तीमा पुगे । बाटो देखाउने संकेतलाई बच्चाहरूले घुमाइदिएछन् र म त्यतैतिर लागें । अलि पर पुगेपछि केही संकेत देखिनँ त्यसैले व्यवस्थापकलाई सम्पर्क गरें । अनि गलत बाटोतिर दौडिएको थाहा पाए । फेरि कोर्समा फर्कंदा ५ मिनेट खेर गइसकेको थियो । मैले दौड नै त्याग्ने कुरा गरे तर व्यवस्थापकले मानेनन् । त्यसैले दौडिएको त म नै पहिलो भएछु ।’

यसरी बाटो बिराएर पनि प्रतिस्पर्धामा जितिन्छ भने नेपाली धावकको गति कति तीव्र छ भनी अनुमान गर्न सकिन्छ । ३० वर्षीय तीर्थले त्यही साल भाइब्राम हङकङ (१०० किमि) पनि जितेका थिए । इटाली र स्विट्जरल्यान्डमा भएको यूटीएमआर (११८ किमि) को उपाधि गत वर्ष जितेका उनले आर्मीको टिमसँग अक्सफाम ट्रेलवाकर (१०० किमि) मा पनि दुईपल्ट स्वर्णपदक जितेका छन् । हङकङमा दुई साताअघि सम्पन्न अक्सफाम ट्रेलवाकरमा तीर्थ, समीर तामाङ, पूर्ण तामाङ र वेदबहादुर सुनुवारले नेपाली सेनालाई सफलता दिलाएका थिए ।

रामेछापका ३३ वर्षीय समीर उनै धावक हुन्, जसले हङकङमा सन् २०१४ मा भएको एसियन स्काइरनिङ च्याम्पियनसिपमा मीरा राईसँगै स्वर्ण जितेका थिए । सेनाका समीर र पूर्वछापामार मीरा त्यसबेला प्रायोजकविहीन नै हङकङ पुगेका थिए । एसियन च्याम्पियन भएपछि दुवैले प्रायोजक पाएका थिए । तर समीर शान्ति सेनाको रूपमा मिसनको ड्युटीमा खटिए । मीरा भने साहसिक दौडमै निरन्तर लागिन् र सकाइरनरन वल्र्ड सिरिजको मोन्ट ब्लान्क (फ्रन्स) मा कीर्तिमानसहित स्वर्ण हात पारेपछि खुबै चर्चित बनिन् । अहिले उनी नेपाली साहसिक दौडकी अघोषित दूत नै बनेकी छन् ।

५० किमिको अल्ट्रा–ट्रेल अस्ट्रेलिया २०१७ मा पहिलो भएका समीरले चार वर्षअघि नै हङकङमा लान्ताउ १०० किमिमा पनि सफलता हात पारेका थिए । यसपल्ट अक्सफाम जितेपछि उनले भने, ‘उकालोओरालोमा दौडन गाउँमै सिकियो । सेनामा भर्ती भएपछि त्यसले निखार पायो र प्रतिस्पर्धा जित्न सजिलो भयो । सेनाभित्र निरन्तर ट्रेनिङ हुने भएकाले हामी भाग्यमानी पनि रह्यौं । बाहिर हामीभन्दा पनि उत्कृष्ट धावकहरू छन् तर नियमित ट्रेनिङ गर्ने अवसर नपाउँदा उनीहरू पछाडि परिरहेका छन् ।’

मीराकै सफलता पछ्याउँदै गत वर्ष एसियन च्याम्पियनसिपको पहिलो सहभागितामै सुनमाया बुढा पहिलो र पूर्णलक्ष्मी न्यौपाने दोस्रो भएका थिए । जुम्लाकी किशोरी रोजिना भण्डारीले यसैपालि स्विटजरल्यान्डमा माउन्टेमेन (५४ किमि) र कान्र्स माउन्टेन (६० किमि) मा स्वर्ण हात पारिन् । विदेशी भूमिमा भइरहेका अल्ट्रा दौडमा सबभन्दा चर्चित नेपाली मीरा नै हुन् । उनी नेसनल जोग्राफीको एड्भन्चर्स अफ दी इयर २०१७ पनि घोषित् भइन् । सबभन्दा ठूला स्टार भने भीम गुरुङ हुन् । गोरखाका उनले वल्र्ड सिरिजका तीन उपाधि जितेका छन् । चीनमा भएको २९ किमिको येदिङ स्काइरन २०१६ र २०१७ मा जितेका उनी इटालीमा गत वर्ष सम्पन्न ट्रोफियो किमा (५२ किमि) पनि पहिलो भएका थिए । हाल सेनाको मिसनमा लेबनानमा रहेका उनी अक्सफामका पनि तीनपल्टका विजेता हुन् ।


अक्सफाम ट्रेलवाकरमा नेपाली सेनाको टिम पहिलोपल्ट सन् २००३ मा सहभागी भएको थियो । त्यसैबेला यमबहादुर पुडासैनी, आनन्दमान श्रेष्ठ । अर्जुन बस्नेत र जय अधिकारीको टिमले स्वर्ण जितेका थिए । अन्तर्राष्ट्रिय अल्ट्रा दौडमा यसैलाई नेपाली सफलताको सुरुआत मानिन्छ । अक्सफाममा लगातार चार वर्ष नेपाली सेनाको टिमले सफलता हात पार्‍यो । माओवादी द्वन्द्व चर्किएपछि सेनाले धावक पठाउन छाड्यो । सेनाको टिम सन् २०१२ मा फेरि अक्सफाम फर्किंदा दोस्रो भयो । त्यसयता निरन्तर सहभागी सेनाको टिम हालसम्म तीनपल्ट मात्र स्वर्णविमुख भएको छ ।

सन् १९८६ देखि निरन्तर आयोजना भइरहेको अक्सफाम ट्रेलवाकर खासगरी ‘च्यारिटी रेस’ हो । यसमा मुख्य स्पर्धामा सहभागी हुनेबाहेक पनि दसौं हजार दौड्ने गर्छन् र उनीहरूले आर्थिक सहयोग दिन्छन्, जुन विकासको लागि विश्वका थुप्रै स्थानमा अक्सफामले खर्च गर्छ । उसले अहिलेसम्म ५० करोड बढी हङकङ डलर सहयोग गरेको छ । ओलम्पिक स्पर्धामा जस्तै अल्ट्रा दौडलाई ठूलो प्रतियोगिता मानिदैन तर यसको आफ्नो बेग्लै महत्त्व छ । त्यसैले ओलम्पिकमा पदक जित्नेको तुलनामा अल्ट्रा विजेताले साह्रै कम पुरस्कार पाउने गर्छन् । ‘अल्ट्रा दौडबाटै बाँच्न भने गाह्रो छ,’ तीर्थले भने, ‘भूकम्पपछि अक्सफामले भक्तपुर, काठमाडौं र ललितपुरमा सीपमूलक कामको लागि सहयोग गरिरहेको छ । हामी दौडिएको जित भनेकै यही हो जस्तो लाग्छ । देशको झन्डा फहराउन पाउनुको खुसी पनि आफ्नै ठाउँमा छ ।’

मीरा र समीरकै बाटो पछ्याउँदै तीन वर्षयता नेपाली धावकले थुप्रै साहसिक दौडमा सफलता हात पारिरहेका छन् । यसमा नेपाली किन अब्बल हुन्छन् त ? व्यक्तिगत तीन र टिमसँग दुई स्वर्ण जितेका वेदबहादुर सुनुवार भन्छन्, ‘हाम्रो देशमा पहाडी भूभाग बढी छ । सानैबाट घाँस–दाउरा गर्नुपर्छ । स्कुल टाढै हुन्छ । हतारको बेला उबडखाबडमा दगुर्ने चलन छ । यसरी नै थोरै समयमा धेरै काम गर्दागर्दै नजानिँदो रूपमा दौडमा अभ्यस्त भइसकेको हुन्छ । त्यसैले लगभग सबै नेपाली अल्ट्रा दौडमा सहभागी हुन योग्य हुन्छन् । अनि सफलता त मिल्छ नै ।’

रामेछापका वेद र भीम तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनका विजेता पनि हुन् । तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन, अन्नपूर्ण १०० लगायत नेपालमा पनि थुप्रै साहसिक दौड सञ्चालन हुन्छ । मीराको चर्चासँगै अल्ट्रा दौड आयोजना गर्ने र यसमा सहभागी हुनेको लहर नै चलेको छ । यसको सुरुआत भने सन् असीकै दशक भइसकेको थियो । नेपालमा हुने दौडमा लगभग शतप्रतिशत विजेता स्वदेशी नै भइरहेका छन् ।

गण, बटालियन, बाहिनी, पृतना र प्रधानसेनापति गरी बेग्लाबेग्लै तहमा बर्सेनि प्रतिस्पर्धा हुने भएकाले नेपालको दौडमा आर्मीकै धावकको वर्चस्व छ । त्रिभुवन आर्मी क्लबमा रहेका आर्मीका धावकहरू तालिका बनाएरै अभ्यास गर्छन् । ‘चन्दागिरि, भिवपुरी, हात्तीवनमा अभ्यास गर्छौं,’ तीन स्वर्णधारी ३४ वर्षीय पूर्णले भने, ‘औसतमा सातामा २ सय किमि दौड्ने गर्छौं ।’ उनीहरूले पोषणको लागि भने आफैं पनि लगानी गर्नुपर्छ ।

पूर्णले सडकमा दौडिइने ओलम्पिक स्पर्धा (४२.१९५ किमि) को पनि प्रधानसेनापति म्याराथनमा पनि दुई वर्षअघि स्वर्ण जितेका थिए । तीर्थ र वेदले पनि सडकमा प्रतिस्पर्धा गरेका छन् । ‘सडकको म्याराथन र अकोलोओरालो बाटोको अल्ट्रा दुवै दौडमा मौका मिलेसम्म प्रतिस्पर्धा गर्नेछु,’ पूर्णले भने । समीर भने अहिलेसम्म ओलम्पिक स्पर्धामा सहभागी नै भएका छैनन् र उनलाई त्यसप्रति इच्छा पनि छैन । ‘अल्ट्राले स्वास्थ्य पनि ठीक राख्छ, अहिलेसम्म अस्पतालमा जँचाउनु परेको छैन । त्यसैले पनि बाँचुन्जेल दौडिरहनेछु,’ उनले भने ।

वास्तवमा साहसिक दौड नशाजस्तै हो । त्यसैले त ३६ वर्षको उमेरमा पनि उत्तम खत्री फेरि अल्ट्रा दौडमा सहभागी हुने योजनामा छन् । पस्लाङ चौतारादेखि गोरखकाली मन्दिरसम्म दौडिँदा पहिलो हुनेलाई एक दिनका लागि राजा बन्ने गोरखाली चलनप्रति आकर्षित भई दौडमा लागेका उत्तम भन्छन्, ‘केही समय जागिरको सिलसिलामा बाहिर थिए । दौडबाटै म चिनिए, यहाँसम्म आइपुगे । त्यसैले पनि अल्ट्रा रेस छाड्न सक्दिनँ ।’ उनी ६ पल्ट म्याराथनका स्वर्णविजेता पनि हुन् ।
Twitter: @rghising

प्रकाशित : मंसिर १६, २०७४ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?