कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सदावहार शक्ति

खेलाडी
केही अन्तरालपछि फेरि राष्ट्रिय टिममा फर्किएका शक्ति गौचनलाई सबैले गर्ने प्रश्न हो– अझै कति खेल्नुहुन्छ ?
विनोद पाण्डे

काठमाडौं — सदावहार शक्ति गौचनको ढल्कँदो उमेरसँग उनको खेल्ने क्षमतालाई दाँजेर शंका गर्ने धेरै छन् । उनीहरू आफ्नो प्रिय खेलाडीलाई प्रश्न गर्छन्— अझै कति खेल्नुहुन्छ ? शक्तिले नियमितजस्तो सामना गरिरहने प्रश्न हो यो, जसलाई उनी हाँसेरै टारिदिन्छन् । त्यही चम्किलो आभाले नै शक्ति अझै निरन्तर खेल्नेछन् भन्ने पुष्टि गरिरहेको हुन्छ ।

सदावहार शक्ति

शक्तिले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेकै १७ वर्ष भइसक्यो । हाल खेलिरहेका खेलाडीमा उनले र वसन्त रेग्मीले मात्र नेपालको जय ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको अनुभव बटुलेका छन् । यो २०५७ को प्रसङ्ग हो । त्यसयता घरेलु क्रिकेटमा वीरेन्द्र स्मृति, ट्वान्टी–२० राष्ट्रिय प्रतियोगिता, फ्रेन्चाइज प्रतियोगिताहरू आइसकेका छन् । 

शक्तिको यात्रा निरन्तर छ । पासपोर्टको जन्ममितिले नै उनलाई ३४ वर्षमा उभ्याउन लागिसकेको छ । यति बेला पनि सक्रिय शक्ति चाहन्छन्— कसैले शक्तिलाई यो त जबरजस्ती खेलिरहेको छ भनेर नभनोस् । आफूले खेल्दा टिमको सन्तुलन कायम रहोस् । राष्ट्रिय टोलीका नयाँ अनुहार सुशील कँडेल, सुशन भारी श्रेष्ठलगायतका खेलाडीले आफूलाई देखेर अझै कति खेलिरहेको भनेर नाक नखुम्चाउन् । सुशन त शक्तिले आफैंले सिकाएर बनेका खेलाडी हुन् । 

शक्तिलाई कहिलेकाहीं लाग्छ कतै उनले आफ्नै चेलोको बाटो त छेकिरहेका छैनन् ? यस्तै गन्थन मनमा खेलाएर शक्तिले मोटामोटी एउटा मिति निकालेका छन्, जुन दिन उनले अब म खेल्ने छैन भनेर घोषणा गर्नेछन् । आखिर त्यो दिन कुन होला जहिलेबाट शक्तिले खेलाडी जीवन टुंगाउनेछन् ? त्यो जहिले भए पनि अहिले यति भन्न सकिन्छ, उक्त दिन नेपाली क्रिकेटका एक महान् हस्तीको खेलाडी जीवनको अन्तिम दिन हुनेछ । 

नेपाली क्रिकेटको व्यस्त सत्र आएको छ । यूएईसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल मुखैमा छ । फेब्रुअरीमा विश्व क्रिकेट लिग डिभिजन २ खेल्नुपर्नेछ । त्यसमा शीर्ष दुईमा परेमा विश्वकप छनोटमा पुग्नेछन् । त्यसभन्दा माथि विश्वकप छ । विश्वकप हरेक खेलाडीको सपना हो । शक्तिको पनि यसमा फरक छैन । यथार्थमा नेपाललाई एकदिवसीय विश्वकप अहिलेका लागि एउटा सपना मात्र हो । यही सपनामा शक्तिको योजनाहरू घुमिरहेका छन् । 

‘अझै धेरै खेल्ने चाहना छ । भविष्यमा नेपाली टोली कसरी स्थापित हुन्छ त्यसमा मेरो खेल जीवन अगाडि बढ्छ । नयाँ खेलाडी तयार भइसकेका छन र अनुभवका हिसाबले मैदानभित्र र बाहिरको मैले सबै मूल्यांकन गरिरहेको छु । यसमा नेपालले आउँदो प्रतियोगिताहरू कसरी खेल्छ त्यसमा भरपर्छ मेरो खेल यात्रा,’ शक्ति आफ्नो योजनाहरू तेस्र्याउँछन्, ‘त्यसमा पनि विश्वकप छनोट नै ५० ओभरमा मेरो अन्तिम प्रतियोगिता हुनसक्छ । नेपाललाई विश्वकप पुर्‍याएर खेल जीवन टुंगाऊँ भन्ने मेरो त सपनै छ ।’ उनलाई थाहा छ, यो सपना उनको मात्र होइन, सारा नेपालीको हो । ‘तर विश्वकप पुग्नु सजिलो भने छैन । कम्तीमा विश्वकप छनोटसम्म खेल्नेछु । नेपाललाई विश्वकपमा पुर्‍याउन सके भने त्यसमा आफ्नो स्थान खोज्नु सामान्य भइहाल्यो,’ उनी थप्छन् । नेपाल डिभिजन २ माथि नउक्लिएमा शक्तिको एकदिवसीय यात्रा त्यहीं टुंगिनेछ । 

शक्ति बीचमा अस्वस्थ थिए, जसको कारण उनले हङकङ यात्रा गुमाएका थिए । आफ्नो अनवरत यात्रामा शक्तिले चोट र अस्वस्थ भएर विरलै नखेलेका छन् । ४ महिना उनले क्रिकेट नै खेलेनन् अस्वस्थताका कारण । अभ्यासमा फर्केको एक महिनाभन्दा बढीपछि उनी यूएई यात्रामा निस्किएका हुन् । यूएई जानुअघि अभ्यासमा उनले जुन मिहिनेत गर्नुपर्ने हो त्यो भरपूर गरेको थिए । नतिजाका हिसाबले यूएईसँगको खेल नेपाललाई त्यति महत्त्वको छैन । यूएईसँगको खेललाई नेपालले नामिबियामा हुने डिभिजन २ को तयारीको रूपमा हेरेको छ । शक्ति नेपालको त्यही लक्ष्यमा आफ्ना जोस देखाइरहेका छन् । 

धेरैका लागि पुनरागमन त्यत्ति सजिलो हुँदैन । तर शक्तिलाई त्यस्तो केही भएन । किनभने उनले यसअघि नै २ पटक यो स्थिति भोगिसकेका थिए । सन् २०१० को ग्वानझाउ एसियाली खेलकुद र २०११ को एसीसी ट्वान्टी–२० मा शक्तिलाई नेपाली टोलीमा छनोट गरिएको थिएन । शक्तिका ती निकै दु:खका दिन थिए । ‘त्यही पनि मलाई के लाग्छ भने मैले राम्रो मिहिनेत गरेको छु, मैले पद्धतिलाई पछ्याइरहेको छु, क्रिकेटप्रति इमानदारी देखाएको छु भने पुनरागमन गर्न खासै गाह्रो हुँदैन । आफैंमाथि विश्वासचाहिं गर्नुपर्छ,’ सहज पुनरागमन गर्नुको कारण दिन्छन् । 

यही चार महिना खेल्न नसक्दा शक्ति ‘संन्यास लिएको हो’ भनेर सोध्ने पाइला–पाइलामा भेट्थे । ‘क्रिकेटलाई नजिकबाट नबुझ्ने केही त ‘अब नखेलेर ठीकै गर्‍यौ’ पनि भनेका थिए । जसले क्रिकेट बुझेका थिए उनीहरूले भने शक्ति नहुँदाको पीडा बुझेका थिए । ‘म सक्थें भने म जसरी पनि खेल्थें । तर शतप्रतिशत दिन सक्दिनँ भने म खेल्न खोज्दिनँ । अर्को पाटोबाट हेर्ने हो भने त्यसले नयाँ खेलाडीको बाटो रोकिरहेको हुन्छ । कुनै राम्रो खेलाडीले म नभएकोमा मौका पाउँछ भने त्यो नै टिमलाई सबैभन्दा राम्रो हुन्छ,’ उनी टिममा आफ्नो उपस्थित राम्रोसँग मूल्यांकन गर्छन् । 

शक्ति नेपाली क्रिकेटका धरोहर हुन् । कुनै समय उनकै ब्याटिङमा नेपाल टिकेको थियो । त्यही भएर उनले नेपाली राष्ट्रिय टोलीबाट सबैभन्दा पहिला एक हजार रन पूरा गरे । 

सुरुआती दिनमा भारतीय क्रिकेट संस्कारमा हुर्किएका शक्ति टेस्ट क्रिकेटबाट प्रभावित छन् । उनको खेलमा त्यही प्रभाव देखिन्छ । उनी निकै ढिलो ब्याटिङ गर्थे । त्यसैले छिटो र छरितो ट्वान्टी २० संरचना आउनेबित्तिकै उनले आफ्नो दोस्रो हतियार बलिङ प्रयोग गरे । त्यसमा पनि उनी नेपालको एउटा सफल बलर भएर निस्किए । पुरुषतर्फ राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने उनी एक्लो हुन् । 

यिनै तथ्यहरू हुन् जसले गर्दा शक्तिलाई आफ्नो खेल जीवन टुंगाउने निर्णय लिन त के सोच्न पनि गाह्रो बनाएको छ । यतिका वर्षदेखि खेल्दै आएका छन् उनी । ‘जेको पनि एउटा अन्त्य हुन्छ । ठूलाठूला खेलाडीले पनि एउटा स्थानमा पुगेपछि संन्यास लिनुपर्छ । हाम्रो देशमा म आफ्नो स्थानमा छु । त्यही पनि सबैको पालो आउँछ । सही समयमा सही निर्णय लिन सक्यो भने मान्छेले त्यसलाई पछिसम्म सम्झन्छन्,’ उनी भन्छन्, ‘यो एउटा खेलाडी थियो, जसले नेपाललाई एउटा निश्चित स्थानमा पुर्‍याएको थियो । यसलाई हामीले जहिले पनि सम्मान गर्नुपर्छ । त्यही बुझेर एउटा संस्कार बसाएर म खेल जीवन टुंगाउन चाहन्छु ।’ 

अहिले नै त्यो समय उनी देख्दैनन् । उनमा नेपाल डिभिजन २ भन्दा धेरै माथि पुग्छ भन्ने विश्वास छ । ६ महिनाभित्र कस्तो हुन्छ नेपालको क्रिकेट भनेर अड्कल काट्ने स्थिति छैन । डिभिजन २ मा सोचेको नतिजा ल्याउन सकेन भने नेपालले आगामी २ वर्षसम्म अर्को ५० ओभरको खेलमा सहभागिता नै नजनाउन सक्छ । प्रतियोगिता नै नभएपछि कुरेर बस्ने पक्षमा शक्ति छैनन् । ‘मैले नखेल्दा जुनियर खेलाडीले सोच्छ कि अब मेरो पालो आयो भनेर, अनि उसले त्योअनुसार मानसिक रूपमा तयार भएर मिहिनेत गर्छ । शक्ति हुन्जेल टिममा परिन्न भन्ने मानसिकता नयाँ खेलाडीले बनायो भने त्यसले नेपाली क्रिकेटलाई नै हानि गर्छ । त्यस्तो खाले सोचाइ भएको खेलाडी पनि हुन्छन् । नयाँ खेलाडीमा पनि फाइटिङ स्प्रिट हुनुपर्छ,’ शक्ति नयाँ खेलाडीमा प्रतिबद्धता खोज्छन् । 

शक्तिले आफ्ना विकल्पहरू देखेका छन् । सन्दीप लामिछाने स्थापित भइसकेका छन् । सुशील र सुशन पनि छन् । बीचमा भुवन कार्की पनि राम्रो भएर आएका थिए । अहिले उनी देखिएका छैनन् । भुवनको मिहिनेत कम भयो कि उनलाई शारीरिक समस्याले माथि आउन दिएन, शक्तिले भेउ पाएनन् । त्यही पनि भुवनमा क्षमता देख्छन् उनी । शक्तिको नजरमा अरू धेरै स्पिनर छन् नेपाली टिममा आउन सक्ने । 

ट्वान्टी–२० मा भने शक्ति खेलिरहन् खोज्छन् । तालिकाअनुसार २०२० मा विश्व ट्वान्टी–२० हुनेछ । 

त्यसको छनोट अर्को वर्ष हुनेछ, जसमा नेपालले सहभागिता जनाउनेछ । आफ्नो खेललाई अगाडि बढाउन शक्तिले ध्यान यता पनि लगाएका छन् । २०१४ मा बंगलादेशमा खेलेको विश्व ट्वान्टी–२० नेपालको सबैभन्दा ठूलो सफलता थियो । विश्व क्रिकेटले शक्तिको शक्ति यसैबाट देखेको थियो । ट्वान्टी–२० भन्दा ५० ओभरको क्रिकेटमा नेपाल अगाडि बढ्न जरुरी छ । नेपाली क्रिकेट माथि बढ्न पनि यो जरुरी देख्छन् उनी । 

नेपाली क्रिकेटमा थपिएको ‘ट्रेनर’ को सुविधाले उनी निकै उत्साहित छन् । भारतीय ट्रेनर सुवास पात्रले सिकाउँदा उनमा थप ऊर्जा पलाएको छ । अझै धेरै खेलूँजस्तो भएको छ शक्तिलाई । नेपाली यू–१९ ले एसीसी यू–१९ एसिया कपमा भारतलाई पराजित गर्दै सेमिफाइनल पुगेको क्षणमा एक हिस्सा उनी ट्रेनर पात्रलाई पनि दिन्छन् । 

‘६ महिनाअगाडि यही नतिजाको छलफल गर्दा त्यो हामीलाई सपना लाग्थ्यो । यू–१९ ले यो प्रदर्शन देखाउला भन्ने कसैले सोचेको पनि थिइनँ,’ खेलाडी जीवन टुंगाउने क्रममा अझ धेरै सिक्ने मौका पाउँदा फुरुङ्ग उनी, भन्छन्, ‘एक महिनाभित्र ट्रेनरले टिम अर्कै बनाइदिन पनि सक्छन् । मैले आफ्नो खेल जीवनमा यस्तो ट्रेनर देखेको थिइनँ । पहिला पनि थिए नेपालका ट्रेनर । तर यस्तो देखेको थिइनँ । व्यावसायिक हिसाबमा एकदमै अनुशासित । कुन खेलाडीको काम के हो, कसरी गर्नुपर्छ भनेर उनले सिकाउने शैली मलाई निकै मन पर्‍यो । अनुशासित यस कारण यू–१९ का खेलाडीलाई मोबाइल पनि राख्न दिइएको थिएन । यो ट्रेनरले हामीलाई २५ प्रतिशत सफलताको बाटो देखाइसकेका छन् ।’ 

नेपालको कुनै अन्तर्राष्ट्रिय म्याच होस् कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा । शक्ति आफ्नो खेल जीवन त्यहीँ टुंगाउन चाहन्छन् । फिल ह्युजको सम्झनामा खेलिएको खेलमा राष्ट्रिय टोलीका कप्तान विनोद दासले दुई वर्षअगाडि संन्यासको घोषणा गरेर एउटा संस्कार बसाएका थिए । शक्ति भन्छन्, ‘विनोद दासको खेलाडी जीवनको बिदाइ एउटा क्रिकेटरका लागि उत्कृष्ट बिदाइ थियो । त्यो आफ्नो स्थानमा छ, खेल्दाखेल्दै लिएको बिदाई सबैभन्दा उत्कृष्ट हुन्छ ।’  

twitter: @dearbinod 

प्रकाशित : मंसिर १६, २०७४ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?